रसुवागढी र साञ्जेनको आईपीओ भर्ने म्याद थपियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको आईपीओ भर्ने म्याद थपिएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार उक्त आईपीओ निष्काशन गर्ने बिक्री प्रबन्धकहरुलाई एक पत्रचारमार्फत सेयर भर्ने म्याद थप्न निर्देशन दिएको हो । ‘मेरो सेयरबाट सेयर भर्दा सीडीएससीको सफ्टवेरमा समस्या आएपछि लगानीकर्ताहरुले बोर्डमा बारम्बार गुनासो व्यक्त गरेकाले थप दुई दिन समय थप्न बोर्डले हामीलाई निर्देशन दिएको छ ।’ रसुवागढीकाे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले विकासन्युजसँग भने । सोही अनुसार अब आगामी दुई दिन अर्थात वैशाख १२ गतेसम्म इच्छुक लगानीकर्ताले सेयरमा आवेदन दिन पाउने कार्कीले बताए । वैशाख ६ गतेदेखि बिक्री खुला भएको यी दुबै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । मंगलबारसम्म रसुवागढीकोमा आईपीओमा करिब एक अर्ब ५४ करोड रुपैयाँबराबरको आवेदन परेको छ । सो दिन साँझ ५ बजेसम्म २ लाख ५४ हजार आवेदकले सो मात्राको सेयरको लागि आवेदन दिएका सिद्धार्थ क्यापिटलले जनाएको छ ।

नेप्से सामान्य अंकले बढेर १२६० बिन्दुमा, छिमेक लघुवित्तको मात्रै ७ करोडको कारोबार

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य ३.७४ अंकले उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबारको नेप्से परिसूचक ०.३० प्रतिशतले बढेर १२६०.६८ अंकमा पुगेको छ । परिसूचकमा सामान्य सुधार देखिएतामा पनि कारोबार रकममा भने गिरावट भएको छ । मंगलबारको बजारमा कुल ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४२ करोड घटी हो । सोमबारको बजारमा कुल एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । मंगलबार सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको सेयर कारोबार भएको छ । लघुवित्तको एकैदिन साधारण र संस्थापक सेयर गरी कुल ७ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी साधारण सेयर ४ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बाँकी २ करोड ५३ लाख ८० हजार कित्ता संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, संस्थाको साधारण सेयरको मूल्य प्रतिकित्ता १०२१ रुपैयाँ रहेको छ भने संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५६४ रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक समूह हरिया देखिएका छन् । बाँकी ट्रेडिङ्, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूह राताम्मे देखिएका छन् । सो दिन सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले मंगलबार मात्रै ९.८९ प्रतिशत कमाएका हुन् । सोमबारको तुलनामा मंगलबार इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेर ३८९ रुपैयाँ पुगेको छ ।

युनियन हाईड्रोको आईपीओ भर्नुभयो ? छिटो गर्नुस् अब मात्र तीन दिन बाँकी

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको साधारण सेयर(आईपीओ) भर्ने समय अब मात्र तीन दिन बाँकी रहेको छ । कम्पनीले २०७५ साल चैत १३ गतेदेखि निष्काशन गरेको आईपीओको बिक्री आगामी २०७६ वैशाख १२ गते बन्द हुँदै छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३५ लाख ३४ हजार ३४० कित्ता साधारण सेयरहरु बिक्री गरेको थियो । सो मध्ये कर्मचारीहरुलाई २ प्रतिशत अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरेको थियो भने बाँकी रहेको ३४ लाख ६३ हजार ६५४ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो । चैत १३ गतेदेखि बिक्री खुला भएको उक्त आइपीओमा छिटोमा चैत १७ गते बन्द हुनुपर्ने थियो । तर माग अनुसारको आवेदन नपरेपछि कम्पनीले बिक्रीको म्याद थपेर ढिलोमा बैशाख १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था लागू गरेको हो । आईपीओ भर्न इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ । जसले कम्पनीको अवस्था कमजोर छ भन्ने बुझाउँछ ।