एक्सेल डेभलपमेन्टले १७ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य घट्यो

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले कर सहित आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको सो मात्रा अर्थात ११ करोड ७७ लाख रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंककाे चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेकाे छ । बैंकले नगद लाभांश घोषणा गरेपछि यसको सेयर मूल्य घटेको छ । बिहीबार प्रतिकित्ता ३१५ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर आइतबार झरेर ३०३ रूपैयाँमा कारोबार भएको छ । बोनस सेयर नपाउने भएपछि लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको छ ।

तामाकोशी जलविद्युतकाे सेयरमा तीन गुणा बढीको आवेदन, दशैँपछि मात्रै बाँडफाँट

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको सेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको सेयर भदौ २१ गतेमात्र सकिएको थियो । सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए । प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो । करीब तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । रासस प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रासस

नेप्सेसँगै कारोबार रकम बढ्यो, बिहीबार मात्रै ७२ करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबारको बजारमा ७२ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २९ करोड ६९ लाख रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को दिनभरको बजारमा ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार कुल १७३ कम्पनीको २७ लाख ११ कित्ता सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एनएमबी बैंकको ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशियाको पनि ५ करोड ४९ लाखको सेयर किनबेच भएको छ । पछिल्लो केही दिनदेखि लगातारका कारोबार बढेको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४१३ रुपैयाँ रहेको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक १४.१३ अंकले उकालो लागेर १२४४.८४ अंकमा पुगेको छ । सो दिनको नेप्से बुधबारको तुलनामा १.१५ प्रतिशतले उकालो लागेको हो । दोेहोरो अंकले बढेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो दिन यस कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशत कमाएका छन् । बिहीबार संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४७२ रुपैयाँ पुगेको छ । (याे पनि पढ्नुहाेस्)