नेपाल सेवा लघुवित्तले ३१ लाख ५७ हजार रुपैयाँ नगद लाभांश दिने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ३१ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्षको नाफा ४१ लाख ०९ हजार रुपैयाँबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै, बैठकले उक्त प्रस्तावित नगद लाभांशमा लाग्ने कर १ लाख ५७ हजार ८९५ रुपैयाँ गरी सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४९० रुपैयाँ रहेको छ ।

४२ लाख कित्ता शेयर कारबार, सनराइज र प्रभु बैंकका लगानी कर्ताले बढी कमाए

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको हो । सोमबारको बिदा पछि खुलेको बजारमा रु एक अर्ब सात करोड ४२ लाख २८ हजार ३४ मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर कारोबार भएको हो । कारोवार रकम समेत अर्बमाथि पुगेपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.२५ बिन्दुले बढेर २७२.१६ बिन्दुमा पुगेको छ । स्टककाअनुसार बैंकिङ २९.३२, व्यापार २.७९, होटल २२.७८, विकास बैंक ३७.८२, जलविद्युत् ७.३४, वित्त ५.५९, निर्जीवन बीमा ६३.३८, उत्पादन १०.९४, माइक्रोफाइनान्स १०.४४, जीवन बीमा ३७.३६ बिन्दुले बढ्दा अन्य समूह भने १.४६ बिन्दुले घटेको छ । भार्गव विकास बैंक, सनराइज बैंक, प्रभु बैंकका लगानीकर्ताले आज बढी कमाएका छन् भने गुराँस फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।रासस

हिमालय उर्जाले पायाे ३० प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले ३० प्रतिशत आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणको लागि ९ लाख ९० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । कम्पनीले सो मात्राको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत ९ हजार ९०० कित्ता आईपीओ निष्कासन गर्ने छ ।