माथिल्लो तामकोसीको आईपीओमा ३ गुणा बढी आवेदन
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) मा माग भन्दा ३ गुणा बढी आवेदन परेको छ । बुधबारसम्म १ लाख ९७ हजार आवेदकबाट २ अर्ब ९२ करोड रुपैयाँको आईपीओ भरेको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । बिहीबारको विवरण आउन बाँकी रहेकाले थप हुने कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले जानकारी दिए । माग भन्दा ३ गुणा आवेदन पर्ने उनको भनाई छ । अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाका स्थानीयबासिन्दालाई साउन १६ गतेदेखि भदौ १६ गतेसम्मका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।आईपीओ भर्न धेरै बाँकी भएपछि कम्पनीले सयम बढाएर भदौ २१ गते पुर्याएको हो ।
गणपति माइक्रोफाइनान्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ३ करोडको आईपीओ जारी गर्दै
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त भएकाे छ । बिक्री प्रबन्धकमा नियुक्त भएसँगै एनआईबिएल एस क्यापिटलले संस्थाकाे सम्पूर्ण सेयरको काम गर्ने भएको छ । यससँगै संस्थाले एनआईबिएल एस क्यापिटलमार्फत प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ३ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । सो सेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा गणपति माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साथै, सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ हुनेछ ।
एशियन लाइफ इन्स्योरेन्स लगायत तीन कम्पनीको ६८ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । बिहीबार एशियन लाइफ इन्स्योरेन्स कम्पनी लगायत तीन कम्पनी सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएका छन् । विभिन्न तीन कम्पनीको बोनस र हकप्रद गरी ६८ लाख ९ हजार ६३३ कित्ता सेयर सूचिकृत भएका हुन् । नेप्सेमा एसियन लाइफ इन्स्योरेन्स, प्रभु बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर थपिएका हुन् । यी मध्ये एसियन लाइफको ४ लाख ८३ हजार ३५५ कित्ता हकप्रद सुचिकृत भएको छ । साथै, बाँकी दुई कम्पनीको ६३ लाख २६ हजार २७८ कित्ता बोनस सेयर थपिएका छन् । प्रभु बैंकको २३ लाख २६ हजार २७८ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ४० लाख कित्ता गरी सो मात्राको बोनस नेप्सेमा थपिएको हो ।