मध्य भोटेकोसी जलविद्युतले १ अर्ब ४४ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, प्रवद्र्धक कम्पनीका कर्मचारी र ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ९४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएपनि पहिलो चरणमा संचय कोषका संचयकर्ता, प्रवद्र्धक कम्पनीका कर्मचारी र ऋण लगानीकर्ता संस्थाका कर्मचारीलाई बिक्री गर्न लागेको हो । १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र १५ प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने छ । प्रथम चरणमा संचय कोषका संचयकर्ताका लागि १९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता सेयर निष्कासन गर्ने छ । यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि साढे ३ प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । यस्तै दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाका लागि १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर तथा तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नको लागि सम्झौता भएको भोटेकोसीले जनाएको छ । भोटेकोसीले आईपीओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापीटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, एस क्यापिटल लिमिटेड, सिबिआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड. र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग संयुक्त निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ । छैठौ वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको बाटो खुला भएको हो । कुल पुँजीको ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ । ५१ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजना आउँदो ३ वर्षमा सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर लिमिटेड र सर्वसाधारणको लगानीमा निर्माण शुरु भएको आयोजना आँउदो सन् २०१९ को जुन ३० मा सम्पन्न हुने गरी ९ अर्ब रुपैयाँ अनुमानित लागतमा शुरु भएको आयोजनाको काम जुरेपहिरो, भूकम्प र सीमा नाकावन्दीले गर्दा ढिलाइ भएपछि लागत बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । ३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको कुल हेड २३५ मिटर छ ।

बजार १७ अंकले घट्दा एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजार नीति ल्याउने दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजीबजारलाई लगानीको विश्वसनीय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिए पनि सेयर बजार बढ्न सकेन । सोमबारको बजारमा १७ दशमलब ९६ अंकको गिरावट आएको छ । सो दिनको नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर १२०६ अंकमा झरेको छ । परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । कुल १६७ कारोबार भएको बजारमा ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लाे  दिनकाे तुलनामा ७ कराेड रूपैयाँ घटी हाे । अघिल्लाे दिनकाे बजारमा कूल ४८ कराेड रूपैयाँ बराबरकाे सेयर  काराेबार भएकाे थियाे । परिसूचक दोहोरो अंकले ओरालो लागेको दिन पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सोमबार बीमा समूह उच्च अंक १३० ले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र ट्रडिङ समूह बाहेक कारोबारमा आएका सबै समूहको सूचकहरु राताम्मे छन् ।

प्रोग्रेशिभ फाइनान्सको बुक क्लोज साउन २३ गते, २८१ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको आगामी साउन २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । असार २२ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले गत आवमा सम्पन्न विशेष साधारणसभाबाट पारित भए बमोजिमको सेयर निष्काशन गर्न लागेको बताएको छ । हाल संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ ।