नयाँ आर्थिक वर्षलाई नेप्सेले देखायो रातो झण्डा, निर्जिवन बीमा समूह दाेहाेराे अंकले ओरालो

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७५/२०७६ साल शुरु भएको दिन नेप्से परिसूचक ८.०५ अंकले घटेर १२०४.३१ अंकमा आइपुगेको छ । कारोबारको शुरुवाती समयमा उकालो लागेको नेप्से बिचमा केही बढ्ने प्रयास गरे पनि अन्तत एकल अंकले ओरालो लागेको छ । मंगलबार १५२ कम्पनीका ५ लाख १४ हजार कित्ता सेयर २० करोड ६० लाख रुपैंयाँमा कारोबार भएको छ । नबिल बैंकको सबैभन्दा बढि ५ करोड ८१ लाख रुपैंयाँको कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ । उपसूचकहरुमा फाइनान्स, अन्य र ट्रेडिङ समूह सामान्य अंकले बढेका छन् भने बाँकी सबै राताम्मे भएका छन् । मंगलबार(आज)बाटै बीमा समूह छुट्टेर जिवन र निर्जिवन बीमा दुई समूहको नामबाट कारोबार गरेका छन् । दुबै समूह दोहोरो अंकले घटेका छन् । सबैभन्दा बढी निर्जिवन बीमा समूह ८७ अंकले ओरालो लागेको छ । त्यस्तै, जिवन बीमा समूह ७४ अंकले घटेको छ । मंगलबार सबैभन्दा बढी रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ६.७६ प्रतिशत कमाएका छन् भने बोटलर्स नेपाल(तराई)का लगानीकर्ताले ५.८२, नेपाल इन्स्योरेन्स कम्पनी ५.७७ र गण्डकी विकास बैंकका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाएका छन् ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबैभन्दा बढी दुई कम्पनीको प्रमोटर सेयर बिक्री

काठमाडौं । आर्थिक वर्ष २०७४/२०७५ को अन्त्य सँगै सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखिनै बढ्दो ट्रेण्डमा रहेको सो दिनको बजार अन्तत १२.२७ अंकले बढेर १२१२ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिनको बजारमा कूल ३१ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १२ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार)को बजारमा १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार १५९ कम्पनीको ११ लाख ७६ हजार ५९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार दुई कम्पनीको सबैभन्दा बढी प्रमोटर सेयर बिक्री भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड र नबिल बैंक लिमिटेडको २ करोड रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएका छन् । त्यस्तै, अन्य ५ कम्पनीको १ करोड रुपैयाँ बढीको सेयर कारोबार भएका छन् । त्यस्तै, सबैभन्दा बढी बीमा समूह १४७ अंकले उकालो लागेको छ । अन्य समूह २.६७ अंकले ओरालो लागेको छ भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् । फाइनान्स र ट्रेडिङ सामान्य अंकले बढेको छ भने बाँकी दोहोरो अंकले बढेका छन् ।

नेप्सेको सीईओ नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आइतबार साउदलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन सरकारलाई आदेश दिएको हो । गैरकानूनी तरिकाले आफूलाई हटाइएको दाबी गर्दै साउदले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।