असार २८ गते स्वरोजगार लघुवित्तको बुक क्लोज, हकप्रद सेयर जारी गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आगामी असार २८ गते बुक क्लोज हुने भएको छ । संस्थाले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको कारोबारको दर्ता किताब बन्द गर्न लागेको हो । संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत(१ः१को अनुपातमा) हकप्रद जारी पश्चात संस्थाको पुँजी २४ करोड ४९ लाख रुपैयाँ पुग्ने छ ।

सेयर बजारमा १४ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिनको बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबार कारोबार खुलेदेखि नै ओरालो लाग्न शुरु भएको बजार बन्द हुँदासम्म निरन्तर रुपमा ओरालो लागेको छ । समग्रमा नेप्से परिसूचक १४.०१ अंकले घटेर ११८४ अंकमा झरेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट भएको छ । कुल १५८ कम्पनीको ६ लाख १९ हजार कित्ता सेयर १९ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार ९ समूहहरु कारोबारमा आएका छन् । कारोबारमा आएका सबै समूहको परिसूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८९ अंकले झरेको छ । त्यस्तै, माइक्रोफाइनान्स, विकास बैंक, होटल र बैंकिङ्समूह दोहोरो अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले घटेका छन् । सो दिन आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा बढी ५.८८ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । उता तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ ।

शुक्रबार मात्रै एक करोड १४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । शुक्रबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड १४ लाख २३ हजार कित्ता सेयर सूचिकृत भएका छन् । सो दिन विभिन्न ६ कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएका हुन् । सो मध्ये तीन कम्पनीको बोनस र बाँकी तीन कम्पनीको हकप्रद सेयर रहेका छन् । कर्णाली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३७ लाख ८१ हजार ०७३ कित्ता र आरएमडीसी वित्तीय संस्थाको ३ लाख ४६ हजार ६० कित्ता बोनस थपिएको छ । त्यसैगरी, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ८० हजार कित्ता, देव विकास बैंकको ६५ लाख ३३ हजार १०८ र मञ्जुश्री फाइनान्सको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।