नेपाल हाइड्रो डेभलपर्सको असार १३ गतेदेखि १६ दिन बुक क्लोज

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको आगामी असार १३ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि असार २९ गतेसम्म संस्थाको बुक क्लोज गर्न लागेको हो । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि १६ दिन सेयर कारोबार बन्द गर्दै छ । यस संस्था आगामी असार २९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभामा जाँदै छ ।

बजार झिनो अंकले उकालो, नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । लगातार ओरालो लागेको बजार सोमबार झिनो अंकले उकालो लागेको छ । कारोबार खुल्नासाथ ओरालोतर्फ लागेको बजार करिब ३ घण्टा पछि उकालो लागेको हो । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक १.९२ अंकले बढेर १२३५ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा १५४ कम्पनीको १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । कम्पनीको १ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन यस कम्पनीको सेयर मूलय प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ । नेपाल बैंकले एफपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएपछि लगानीकर्ताहरु यस बैंकको सेयरप्रति आकर्षित भएका हुन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्कासन गर्दैछ । बैंकले एक करोड ७६ लाख रुपैयाा बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । सोमबार समाता माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य क्रमशः प्रतिकित्ता ९.९७ र ९.५९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ९.७१ प्रतिशत गुमाएका छन् । सो दिन कारोबारमा आएका मध्ये बीमा, माइक्रोफाइनान्स, अन्य, हाइड्रोपावर र होटल समूह उकालो लागेका छन् । बाँकी बैंकिङ्, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूहको सूचक ओरालो लागेका छन् ।

बजार १४ अंकले घट्दा दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । आइतबारको सेयर बजार निरन्तर ओरालो लागेको छ । सो दिनको बजार खुलेदेखि दिनभर ओरालो लागेर बजार बन्द हुँदा १२३३ अंकमा झरेको छ । सम्रगमा बजार १४ अंकले घटेको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशत बढी कमाएका छन् । त्यस्तै, समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता क्रमशः ३१९ र १७८५ रुपैयाँ रहेको छ । समता माइक्रोफाइनान्सले हकप्रद सेयर जारी गर्दै छ, त्यसैले कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हो । कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्नको लागि असार १२ गते बुक क्लोजको मिति घोषणा गरिसकेको छ । आइतबारको बजारमा १५८ कम्पनीको २४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ करोड रुपैया बराबरको सेयर कारोबार भएको छ । बजारमा होटल बाहेक सबैसमूहको सूचक ओरालो लागेको छ । सबैभन्दा बढी बीमा समूह ७२ अंकले झरेको छ ।