बजार झिनो अंकले बढ्दा दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबार सामान्य अंकले घटेको बजार बुधबार सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव आएको बुधबारको बजारमा कारोबार बन्द हुँदा परिसूचक २.८१ अंकले बढेर १२४२ अंकमा पुगेको छ । परिसूचकमा वृद्धि भएपनि सेयर कारोबारमा भने गिरावट कायमै छ । दिनभरको बजारमा १६१ कम्पनीको जम्मा २० करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एक करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सामान्य अंकले बढेको बजारमा पनि २ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । अघिल्लो दिनको तुलनामा राधी विद्युत कम्पनी र नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले क्रमशः ९.९६ र ९.५० प्रतिशत कमाएका छन् । ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ७.१२ प्रतिशतले बढेको छ । उता कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.२६ प्रतिशतले घटेको छ । बजारमा अन्य बाहेक सबै समूहको सूचक हरियाली भएका छन् । बीमा, होटल र उत्पादनमूलकको सूचक दोहोरो अंकले उकालो लागेका छन् भने बाँकी एकल अंकले बढेका छन् । अन्य समूह भने ३.१७ प्रतिशतले घटेको छ ।
रैराङ हाइड्रोपावरको ५६ लाख कित्ता साधारण सेयर सूचिकृत
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५६ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको सेयर सूचिकृत भएको हो । अब अर्को साताबाट कम्पनीको उक्त सेयरको कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।
७ अर्ब ५४ करोडको हकप्रद सेयर आउँदै
काठमाडौं । विभिन्न ११ कम्पनीको ७ अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । सो उद्योगले एक कित्ता बराबर तीन कित्ता सेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यस्तै एनसीसी बैंकले दुई बराबर एक कित्ता सेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले दुई अर्ब ३३ करोडको दुई करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । बोर्डमा दिएको आवेदनअनुसार उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेश गरेका चार वित्तीय संस्थाको पनि हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । एक बराबर एक कित्ता सेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । त्यसको कूल मूल्य ११ करोड ५० लाख रुपैयाँ रहेको छ । एनआइसी एसिया क्यापिटल लिमटिडको सो संस्थाको हकप्रद सेयरको बिक्री प्रबन्ध गर्ने छ । यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद सेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ । तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागिएको छ । सनराइज क्यापिटलले सो संस्थाको हकप्रद सेयर बिक्रीको प्रबन्ध गर्नेछ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले रु छ करोड बराबरको ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ । त्यसैगरी २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद सेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद सेयर बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट रहेको छ । बीमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ । ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद सेयरको बिक्री प्रबन्ध गर्नेछ । प्रोग्रेशिसभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख कित्ता सेयर बिक्रीको तयारी गरिएको छ । सनराइज क्यापिटल सो कम्पनीको सेयर बिक्री प्रबन्धक रहेको छ । त्यस्तै बोर्डमा आवेदन दिएकामा अपी पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि रहेको छ । अपी पावरले एक बराबर दुई कित्ता सेयर दिने तयारी गरेको छ । दुई अर्ब १० करोड रुपैयाँ बराबरको २१ करोड कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद सेयर दिने गरी तयारी गरेको छ । ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी छ । अपी पावरको सिद्धार्थ क्यापिटल बिक्री प्रबन्ध गर्नेछ भने एभरेष्टको पनि सोही कम्पनी नै बिक्री प्रबन्धक रहेको छ । रासस