सेयर बजार झिनो अंकले घट्दा ५१ करोडको कारोबार, सबैभन्दा बढी युनिलिभर नेपालको
काठमाडौं । मंगलबार ३९ अंकले उकालो लागेको बजार बुधबार पुन ओरालो लागेको छ । बुधबार कारोबार खुल्ने वित्तीकै दोहोरो अंकले उकालो लागेको बजार त्यसकाे केहीबेरमै ओरालो लागेको थियो । त्यसपछि दिनभरको कारोबारमा उतारचढाव आएको थियो अन्ततः बजार २.९० अंकले घटेर १२०४ अंकमा पुगेर बन्द भएको छ । झिनो अंकले ओरालो लागेको बजारमा ५१ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १६२ कम्पनीको १३ लाख ५२ हजार कित्ता सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी युनिलिभर नेपाल लिमिटेडको सेयर कारोबार भएको छ । यस कम्पनीको दिनभर २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ हजार १४५ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक दोहोरो अंक अर्थात ९१अंकले राताम्मे भएको छ । त्यस्तै, उत्पादनमूलक, बैंकिङ, अन्य र विकास बैंक समूह बाहेक बाँकी समूह राताम्मे छन् । उत्पादनमूलक १४ अंकले उकालो लागेको छ । सो दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य करिब १० प्रतिशत अर्थात ९.६० प्रतिशतले बढेको छ । बजारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४२ प्रतिशत गुमाएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १६९९ रुपैयाँ रहेको थियो ।
माथिल्लो तामाकोशी आयोजनाको स्थानीयलाई दिने १० प्रतिशत शेयरमा विवाद
काठमाडौं– माथिल्लो तामाकोशीले स्थानीयवासीलाई दिइने भनिएको १० प्रतिशत शेयरमा विवाद देखिएको छ । आयोजनाले स्थानीयको पक्षमा निर्णय लिन नसकेको भन्दै आन्दोलनमा जान लागेको हो । जिल्ला समन्वय समितिले गत भदौ ६ गते स्थानीयले पाउने १० प्रतिशत सेयर वितरणका लागि आयोजनाको मुहान र संरचना रहेको साविकका लामावगर र गौरीशंकर गाउँ विकास समितिलाई वर्गिकरण गरेको थियो । जस अनुसार अतिप्रभावित (‘क’ वर्ग), प्रसारण लाईन र सडकको प्रवेश मार्गले छोएको ठाउँलाई (‘ख’ वर्ग )र अन्यलाई (‘ग’ वर्ग)मा राख्ने निर्णय भएको थियो । यस वर्गिकरणबाट आयोजना रहेको गाउँपालिकाकै अधिकांश वडावासीहरू ‘ग’ वर्गमा खुम्चिएको भन्दै आन्दोलनमा जान लागेका हुन् । यस निर्णयलाई पुनविचार गरी अर्को वर्गिकरण गर्न स्गानीयले माग गरेका छन् ।