मनसुन सक्रियताका कारण मधेश, कोशी र बागमती प्रदेशमा भीषण वर्षा, नदीहरूमा जलस्तर घट्दै
काठमाडौं । बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा मनसुन सक्रिय हुँदा मधेस, बागमती र कोशी प्रदेशमा तीव्र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २४ घण्टाको अवधिमा असोज १८ गते बिहान ४:३० देखि असोज १९ गते बिहान ४:३० सम्म सबैभन्दा धेरै ३५८ मिमी वर्षा रौतहटको महेशपुरमा मापन गरिएको छ । त्यस्तै २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ केन्द्रमा वर्षा मापन भएको विभागले जनाएको छ । विभागका अनुसार १०५ केन्द्रमा ५० मिमीभन्दा बढी वर्षा भएको छ । यस्तै ६८ केन्द्रमा १०० मिमीभन्दा बढी वर्षा भएको छ भने २१ केन्द्रमा २०० मिमीभन्दा बढी पानी परेको छ । जम्मा ५ केन्द्रमा मात्रै ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ। इलामको वहमाली, कन्याम, पर्साको मुडली, रौतहटको महेशपुर र गौरमा ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको विभागले जनाएको छ । नदीमा उच्च सतर्कता अपनाउन आग्रह लगातारको वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, लालबकैया, कमला लगायतका नदीमा जलस्तरले सतर्कता तह पार गरिसकेको थियो । हाल ती नदीमा जलस्तर क्रमशः घटिरहेको महाशाखाले जनाएको छ । यद्यपि, असोज १९ गते बिहान कोशी नदीले खतराको तह पार गरिसकेको थियो भने यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा पनि खतराको तह पार भएको जनाइएको छ । त्यस्तै, कन्काई, बुढीखोला, लोहना, खेसरैया, विरिङ जस्ता चुरे तथा महाभारत क्षेत्रबाट उत्पत्ति भएका साना नदीमा पनि खतराको तह पार भएको छ। तर अहिले ती नदीमा पनि जलस्तर घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । मनसुन अझै विदा भइसकेको छैन महाशाखाका अनुसार वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएर मौसममा सुधार आउन थालेको भए पनि मनसुनको औपचारिक विदाइ भइसकेको छैन । त्यसैले अझै सतर्कता आवश्यक छ । सरोकारवालाहरूलाई विशेष गरी नदी तटीय क्षेत्र तथा डुबान प्रभावित क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
दुई दिनको वर्षाले हिलाम्मे काठमाडौंका सडक
काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा हुन रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आइतबारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् । अविरल वर्षाले उपत्यकाका विभिन्न सडकहरुमा हिलो र धुलो प्रशस्त देख्न सकिन्छ । हिलाम्मे सडकमा सवारी गुडिरहेका छन् ।
विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता
काठमाडौं । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौंमा एक जनाको मृत्यु भएको छ । खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।