भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि मंगलबारदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ । जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए ।
राजनीतिक निष्क्रियता र बेथिति विरुद्ध २८ जनाको सामूहिक अपिल, वैकल्पिक शक्ति निर्माणको आह्वान
काठमाडौं । वर्तमान राजनीतिक अन्योल, भ्रष्टाचार, गैरजिम्मेवारी र सत्ताको भागबण्डाले निराश नेपाली नागरिक समाजका विभिन्न क्षेत्रमा सक्रिय २८ जना व्यक्तिहरूले संयुक्त अपिल जारी गरेका छन् । ‘हाम्रो आह्वान’ शीर्षकको अपिलमार्फत उनीहरूले पुराना दलहरूप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक विकल्प निर्माणको आह्वान गरेका हुन् । उनीहरूले नेपालको राजनीतिक नेतृत्वले जनताको भावना अनुसार देशको दिगो भविष्यको दिशा तय गर्न नसकेको बताएका छन् । अपिलमा दलहरूबीचको सत्ताको हानथाप, भ्रष्टाचार र अनैतिक अभ्यासहरूको आलोचना गर्दै अब नयाँ सोच, नेतृत्व र संरचनाको खाँचो रहेको उल्लेख गरिएको छ । अपिलमा कलाकार, लेखक, पत्रकार, अधिवक्ता, अधिकारकर्मी, अभियन्ता, प्राध्यापकलगायत विभिन्न पेशाका व्यक्तिहरूको हस्ताक्षर रहेको छ । अपिलको अन्त्यमा उनीहरूले भनेका छन्, 'हामी समयले तेस्र्याएका प्रश्नहरूलाई टारेर होइन, जुझेर भविष्यको बाटो बनाउने प्रयत्नमा छौँ ।'
विशेष महाधिवेशनका लागि २४ असोजभित्र हस्ताक्षर गरिसक्न विश्वप्रकाश शर्माको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेभित्र हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, 'हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुस् ।' आगामी असोज २६ गते नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ । सो बैठकपछि हस्ताक्षर गर्ने सोच बनाएका केही प्रतिनिधिहरूलाई सन्देश दिँदै शर्माले भनेका छन्, 'लगनपछिको पोते के काम !' महामन्त्री शर्माले विशेष महाधिवेशन सम्पन्न हुँदा पार्टी अझ बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।