बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायाङ्कन सुरु भएको हो । बन्दीपुरमा उक्त चलचित्रको छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायाङ्कन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायाङ्कन सुरु गरिएको हो । बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब ३०० स्थानीयलाई दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायाङ्कन हुने जनाइएको छ । बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायाङ्कनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए । चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उनको भनाइ छ । चलचित्र छायाङ्कनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । उनले भने, 'विदेशी चलचित्रको छायाङ्कनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।' सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पलले यो चलचित्रको निर्माण गर्न लागेको हो । रासस
सार्वजनिक सवारी ठप्प हुँदा दुई रुटमा प्रहरीको निःशुल्क बस, यात्रुलाई राहत
काठमाडौं । यातायात व्यवसायीले देशभर सोमबार सार्वजनिक यातायात ठप्प पार्दा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन ल्याएको छ । प्रहरीले यात्रुको सहजका लागि उक्त बस सञ्चालनमा ल्याएको जनाएको छ । प्रहरीका अनुसार उपत्यकाको दुई रुटमा दुईवटा गाडी सञ्चालनमा ल्याएको हो । रुट नम्बर १ मा नयाँबसपार्क, बालाजु, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, जय नेपाल हल, पुतलीसडक,माइतीघर, थापाथली, जाउलाखेल, लगनखेल, सातदोबाटो, बल्खु, कंलकी, स्वयम्भुको रुटमा चल्नेछ । रुट नम्बर २ मा एयरपार्ट, कोटेश्वर, ठिमी, सल्लघारी, सुर्यविनायक, चाविल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, रातोपल र गौशाला रुटमा चल्नेछ । यात्रुहरूको आवातजावत सहज बनाउनका लागि प्रहरी नि:शुल्क बस सेवा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार बस सेवा आजदेखि सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘हामीले अलपत्र परेका यात्रुहरूको सहजताका लागि उपत्यकामा दुईवटा बसहरू सञ्चालनमा ल्याएका छौं । यी दुबै बस उपत्यकाको विभिन्न ठाउँमा सञ्चालन हुनेछन् ।' बढी भाडा नलिन निर्देशन प्रहरीले यात्रुहरूसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ । सार्वजनिक यातायात ठप्प, चर्को गर्मीमा यात्रुलाई सास्ती
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा
किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । भोटखोला- ३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला- ३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँनै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पुर्याउँदा गाउँ अन्धकार भएको विजुलीबिहीन भएको हो । बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौं रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गहृ बनाउन र पुनः विजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताए । त्यस्तैगरी, बाढीले कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला–३ हटिया र हुङहुङ सडक बगाएको छ । बाढी खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । बाढीले खाँदबारी–किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ ।