‘इभी माइक्रो’ दुर्घटनामा १६ जना घाइते
बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको मप्र०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसी दुर्घटना हुँदा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका हुन् । घाइतेलाई उद्वार गरी उपचारको लागि स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।
बालेनले कात्तिक ३० भित्र नयाँ पार्टी खोल्न सम्भव छ ?
काठमाडौं । अहिले नेपाली राजनीतिमा सबैभन्दा बढी चासोका रुपमा हेरिएका पात्र हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । स्वतन्त्र उम्मेद्वार बनेर महानगरको मेयरमा विजयी बनेका बालेन नेपाली राजनीतिमा थप बलियो र प्रभावशाली बन्दै गएका छन् । सञ्चार माध्यम र सार्वजनिक मञ्चमा देखिन खासै नरुचाउने उनी सामाजिक सञ्जाललाई प्रमुख हतियार बनाएर सर्वसाधारण सामु आफ्ना मत र धारणाहरु राख्दै आएका छन् । विशेषगरि भदौ २३ र २४ को जेनजी आन्दोलन हुनुमा बालेनको प्रमुख हात रहेको भन्नेहरू पनि प्रशस्त छन् । उनले जेनजीहरुलाई खुलेरै अगाडि बढ्न समेत सामाजिक सञ्जालमार्फत ढाडस दिएका थिए । जेनजीहरुले भदौ २४ गते विध्वंश मच्चाएपछि अब नगर, सार्वजनिक संरचना नजलाउ भनेर सामाजिक सञ्जालमा पोष्ट राखेर फर्काउने पनि उनै बालेन थिए । जेनजी आन्दोलनपछि उनै बालेनको थप चर्चा हुन थालेको छ । धेरैले उनले अब नयाँ पार्टी खोलेर अगाडि बढ्न सक्ने विश्लेषण गरिरहेका छन् भने कतिपयले उनी आफ्नो कार्यकालभर महानगरकै मेयर भएर बस्न सक्ने अनुमान पनि गरिरहेका छन् । जेनजीहरुले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दा उनले फोन स्विच अफ गरेर बसे । धेरैले ६ महिनापछि हुने संघीय चुनावमा उनी पार्टी खोलेर अगाडि बढ्ने तयारी गरिरहेकोले अहिले ६ महिनाका लागि प्रधानमन्त्री नबेको टिप्पणी पनि गरिरहेका छन् । तर, यसबारे बालेनले भने मुख खोलेका छैनन् । बालेनको नजिक रहेर काम गर्नेहरु भने उनले पार्टी खोलेर अगाडि बढ्न सक्ने सम्भावना रहेको सुनाउँछन् । अहिले जेनजीहरुबाट पनि उनलाई नयाँ पार्टी खोलेर अगाडि बढ्न दबाब आइरहेको बुझिएको छ । अहिले बालेनकै समर्थनमा सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । उनकै कानूनी सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । त्यसैले पनि वर्तमान अन्तरिम सरकार रहेको बेला हुने चुनावमा उनले पार्टी खोलेर अगाडि बढेमा आफूलाई सरकारबाट सहयोग मिल्न सक्ने आशामा बालेन देखिन्छन् । त्यसैले पनि उनलाई पार्टी खोल्ने यो सुनौलो अवसर हो । तर, समय धेरै छैन । अन्तरिम सरकारले आगामी पाmगुन २१ गते निर्वाचन हुने घोषणा गरिसकेको छ । निर्वाचन आयोगले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । यदि अब बालेनले पार्टी खोलेमा पनि फागुन २१ को चुनावमा भाग लिन कात्तिक ३० गते अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्नेछ । त्यसका लागि धेरै समय छैन । किनकी नयाँ दलका लागि गर्नुपर्ने तयारी धेरै नै हुन्छ । आयोगको कार्यतालिकाले बालेनलाई दबाब परेको छ । अब उनले नयाँ पार्टी खोल्छन् वा खोल्दैनन् भन्ने विषय ठूलो चासोका रुपमा हेरिएको छ । बालेनको सचिवालयमा रहेर काम गरिरहेका एक सदस्यले पार्टी खोल्ने विषयमा चर्चा भए पनि आफूसँग पूर्ण सूचना नभएको जानकारी दिए । ‘उहाँले अहिलेसम्म पार्टी खोल्नेबारे कुनै कुरा भन्नु भएको छैन, जेनजीहरुबाटै दबाब भने आइरहेको छ, जनताले पाँच वर्षका लागि मेयरमा निर्वाचित गरेको हुनाले बिचमै छोड्नु होला जस्तो मनसाय म देख्दिनँ,’ उनले भने ।
कोशी प्रदेश सरकार राहत तथा उद्धार कार्यमा सक्रिय
मोरङ । कोशी प्रदेश सरकारले हालको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधनलाई भ्याएसम्म स्रोतको परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममा रही राहत तथा उद्धारमा खटिएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैगरी प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार तथा राहत कार्यमा सहभागी भएको कार्यालयले जनाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै मन्त्री स्थलगत रुपमा रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिए । उनले भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटो खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाई प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पारे । यसैगरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सहकार्य गरिरहेको तथा सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी फिल्डमा नै रही जनताको सुरक्षाका लागि काम गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले केही दिनअघि प्रदेशका सुरक्षा निकायलाई लाइफ ज्याकेट, बोटलगायतका रु दुई करोड मूल्य बराबरका विपद्–उद्धार सामग्री वितरण गरेका कारण उद्धार कार्य सहज भएको जनाइएको छ ।