बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको ३५ हजारसम्म खर्च भएको थियो’, उनले भने । केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुन् उमेश माझी । ‘घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौंको लगानी डुब्यो’, उनले भने । कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दशैं लगत्तै धान काट्ने सोचमा थिए । तर, यही असोज १२ गते आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ । ‘चार बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ’, उनले भने, ‘हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।’ त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ । यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कबिरले बताए । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उनले बताए । किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गको उतरपट्टी हनमाननर कङ्कालिनी नगरपालिका(१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय बुदुर राम र फुदुर रामको दुईरदुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् । धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, विभिन्न झारपातले भरिएको छ । पूर्वी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण विभिन्न नदी हुँदै सप्तकोशी नदीमा आएका बाढीले केही घरमा क्षति पु¥याउनका साथै कैयौँ बिगाहा जमिनमा रोपेको धान बाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वीभेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतिमा क्षति गरेको छ । त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरूप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौं बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरुमा आएको बाढी पसेको हो ।

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

काठमाडौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौं शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए । नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ । बडादशैंका दिनबाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल च्याम्पियन बने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन् । बिहीबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एसियन सेक्युरिटिजलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै, महिला फाइनलमा एनएमबी क्यापिटलले सेबोनलाई पेनाल्टी शुटआउटमा २–१ ले हराएर च्याम्पियन बन्न सफल भएको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि महिलाको फाइनल पेनाल्टी शुटआउटमा पुगेको थियो । यस प्रतियोगितामा धितोपत्र बजारसँग आबद्ध संस्थाका लागि पुरुषतर्फ ३१ र महिलातर्फ ९ टिमको सहभागिता रहेको थियो । शनिबार हुने भनिएको फाइनल भारी वर्षाका कारण रोकिएको थियो । पुरुष विजेताले १ लाख र उपविजेताले ६० हजार, जबकि महिला विजेताले ६० हजार र उपविजेताले ४० हजार पुरस्कार प्राप्त गरेका छन् । व्यक्तिगत विधाका पुरस्कारमा महिलातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता सेबोनकी निशा थापा र उत्कृष्ट गोलरक्षक एनएमबी क्यापिटलकी निशा देवकोटा चुनिएका छन् । पुरुषतर्फ सेयर प्रो सेक्युरिटिजका अर्घ रेग्मी उत्कृष्ट खेलाडी, एसबीआई बैंकका पुजन खड्का सर्वाधिक गोलकर्ता, र एसियन सेक्युरिटीजका प्रबिन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिएका छन् । बिजेता खेलाडीलाई राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु र आयोजक युनियनका अध्यक्ष अजय ढुंगानाले पुरस्कार प्रदान गरेका थिए ।