साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो । ‘साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरूमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ ।’ महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधारहुँदै जाने बताए । कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदी ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताए। ‘त्यस क्षेत्रतिर जेठ मध्यबाट रोपाइँ सुरु हुन्छ, अब धान थन्काउने बेला भइसक्यो,’ उनले भने, ‘अहिलेको वर्षाले धान झर्ने, पाकेकोबाली समयमा थन्काउन नपाएमा उत्पादन घट्ने समस्या हुनसक्छ ।’ उनले यसवर्ष मनसुन सुखद रहँदा धान उत्पादन पाँच देखि सात प्रतिशतसम्म बढ्नसक्ने बताएका छन् । ‘यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ, यस कारण उत्पादन करिब डेढ लाख मेट्रिकटनसम्म हुने अपेक्षा छ,’ उनले भने, ‘तर धान भित्र्याउने बेलामा मौसमले साथ दिनुपर्छ ।’ कृषि मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आव भन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धी भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो ।

अङ्ग्रेजी माध्यममा पढाइ भएपछि बढ्न थाले विद्यार्थी, पुरानो भवन मर्मत गरिँदै

धरान । यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि  विद्यार्थी सङ्ख्या वृद्धि भएको विद्यालयका प्रधानाध्यापक चण्डीराज पोख्रेलले बताए । उनले गत वर्षदेखि नगरपालिकामै पहिलो पटक आधारभूत तह शिशु कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको जानकारी दिए । उनले भने, ‘अभिभावकको सहयोग र सल्लाहमा विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको हो । अङ्ग्रेजी पढाइ सुरु भएसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।’ विद्यार्थीको सङ्ख्या धेरै भएपछि कक्षाकोठा व्यवस्थापनका लागि पुरानो भवन मर्मत थालिएको उनले बताए । पानी परेको बेला चुहिएर पढाईमा समस्या हुने भएकाले आवश्यक  सहयोगका लागि उनले सरोकारवालासँग आग्रह गरेका छन् । प्रधानाध्यापक पोख्रेलका अनुसार विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । एक वर्षमै दुई सय भन्दा बढी विद्यार्थी सङ्ख्या थपिएको विद्यालयले जनाएको छ । विद्यार्थीको चाप बढेपछि आठ शिक्षक थप गरी ३० शिक्षकबाट पठनपाठन सञ्चालन गरिरहेको प्रधानाध्यापक पोख्रेलले बताए । विद्यालयमा बिहान १० देखि ४ बजेसम्म अङ्ग्रेजी माध्यम र १०ः३० देखि ४ः३० बजेसम्म नेपाली माध्यमको पढाइलाई दुई भागमा विभाजन गरिएको छ । अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै महेन्द्र माविमा कार्यरत शिक्षकहरुलेसमेत आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गरेको शिक्षक प्रवीण खड्काले बताए । उनले भने, ‘अभिभावकहरुले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्न आग्रह गरेपछि छुट्टै आठ शिक्षक थप गरी अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएको हो ।’ विद्यालयको आयस्रोत कमी भएकाले अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकका लागि विद्यालयले अभिभावककै राजीखुसीमा प्रति विद्यार्थी मासिक न्यूनतम शुल्क लिने गरेको विद्यालयले जनाएको छ । विसं २०१३ मा स्थापना भएको महेन्द्र माविले २०५७ सालदेखि कक्षा १२ सम्म सञ्चालन गर्दै आएको छ । रासस

पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता पोखरामा हुँदै

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालमै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिताको आयोजना गर्ने भएकाे छ । प्रतियाेगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका १६ जना राष्ट्रियस्तरका बाइक रेसिङ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयाेजकले जनाएकाे छ । समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टसजस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिताले राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुग्ने छ। असोज ४ गते प्राक्टिस राउन्डको आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुने आयाेजकले जनाएकाे छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई कप र नगद पुरस्कार प्रदान गरिनुका साथै प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्। प्रतियाेगिताका चार उत्कृष्ट खेलाडीहरूले विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउन मौका पाउने आयाेजकले जनाएकाे छ । खेलकुद मन्त्रालयसँगको सहकार्यमा याे प्रतियोगितामा हुन लागेकाे हाे ।