विकासको घाम उदाएन अझै चुरे बस्तीमा, कयौं पूर्वाधारबाट वञ्चित छन् स्थानीय
सर्लाहीको उत्तरी चुरे क्षेत्रका साबिक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ । दुई वडाका नागरिकले व्यवस्थित सडकको अभावमा अत्यन्त विकट ‘कर्णाली’को अवस्था महसुस गरिरहेका छन् । यहाँका स्थानीयको लागि वर्षाको खहरे खोला नै हिउँदभरि यातायात चल्ने सडक बनेको छ । वर्षाको बेलामा गाउँमा कोही बिरामी परिहाले उपचार गर्न अस्पतालसम्म लैजानसमेत नपाइने लालबन्दी–१५, सिरकालिन्जोर निवासी राम्रीमाया थिङले बताए । ‘वर्षामा कि त पानी घट्ने समय पर्खनुपर्छ’, उनले भने, ‘कि त खोलामा ज्यान बाजी लगाएर हेलिनुपर्यो ।’ जेठदेखि भदौसम्म यस क्षेत्रमा आउने यातायातको साधन पूर्णरुपमा ठप्प हुने गर्दछ । यस अवधिको लागि आवश्यक खाद्यान्नलगायतको सामान पहिला नै जोहो गर्ने चलन छ । अत्यन्त कमजोर भू–सतह रहेको चुरेका पहाडमा पछिल्ला केही वर्ष सडक विस्तार नभएका होइन । चुनावमा पहिलो सर्तको रूपमा सडक निर्माणलाई राख्ने र निर्वाचित भए लगतै चुरेमा डोजर कुदाएर नागरिकलाई सुविधाको नाममा विपदमा पार्ने काम यहाँ पनि निरन्तर भइरहेको छ । यसरी जथाभाबी खनिएको ट्रयाकका कारण चुरे पहाड क्षतविक्षत हुने गरी पहिरो गएको स्थानीय बताउँछन् । पूर्व पश्चिम लोकमार्गबाट केही किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा पुग्दा कुनै अनकन्टार ठाउँमा पुगेको स्पष्ट अनुभव हुन्छ । यी गाउँ अझै सूचना प्रविधिको पहुँचबाट निकै टाढा छन् । केही ठाउँमा टेलिफोनको नेटवर्क आए पनि सजिलै कुरा गर्न सकिँदैन भने अधिकांश स्थानमा नेटवर्क नै आउँदैन । मोबाइलको टावर पनि राम्रो घाम लागेको बेलामा मात्र आउने स्थानीयको गुनासो छ । लालबन्दी नगरपालिका–१४, तीन तलेका ६७ वर्षीय सञ्चरसिंह वाइबा भने, ‘यस ठाउँमा बसेको वर्षौँ भयो । आफू जन्मेहुर्केको गाउँ ठाउँ चटक छाडेर हिँड्न पनि सकिँदैन । विकासका आधारभूत पूर्वाधार नहुँदा जनजीवनमा सुधार आएन । अझै यस क्षेत्रमा विकासको घाम उदाएन ।’ उनी २०२८ सालतिर यहाँ बसाई सरेर आएका थिए । सडक नहुँदा वर्षातको समयमा समयमै उपचार नपाएरै केहीले ज्यान गुमाउनुपरेको वाइबा बताउँछन् । चुनावमा भोट दिएर जिताएका नेता त्यसपछि फर्किएर नआएको उनको गुनासो छ । यस दुई वडाको भौगोलिक विकटता, फोन, इन्टरनेटलगायतको प्रविधिको सुविधा नभएकाले वडा कार्यालय बजारबाटै सञ्चालन गरिएको छ । लालबन्दी नगरपालिका–१४, का वडाध्यक्ष छेनाम सिंह घिसिङले बताए । यस वडाका नागरिक सेवा लिन एक दिन हिँडेर आइपुग्नु पर्ने बाध्यता छ । व्यवस्थित सडक नभएकै कारण यस क्षेत्रका नागरिकले वर्षौदेखि अन्य सुविधा पनि उपयोग गर्न नपाएको लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरख बल बताउँछन् । बिजुली, पानी लगायतको सुविधा पटकपटक पुर्याए पनि सडक नभएका कारण दिगो हुन नसकेको उनको भनाइ छ । ‘बिग्रिएका संरचना बनाउन जानसमेत सडक छैन,’ उनले भने, ‘स्थानीयले महिनौंसम्म बिजुली, खानेपानीलगायतको सुविधाबाट बन्चित हुनु परिरहेको छ ।’ स्थानीयवासीले लखन्देही र फुलजोर खोलाको डाँडा भित्तामा रहेका टार खेतमा समयअनुसार मकै, धान, तोरी बेसारलगायत अन्नबाली उत्पादन गर्ने गरेका छन् । आकासे पानीको भरमा गरिने खेती मौसम प्रतिकूल हुँदा भने उत्पादन नहुने किसानको गुनासो छ । विकटतासँगै वैदेशिक रोजगारीका लागि विदेशिने युवाका कारण पछिल्लो समय गाउँघरसमेत रित्तिँदै गएका कामीटारका शङ्खर बिश्वकर्माले बताए । ‘पहिला राम्रो खेती हुने देखेर हाम्रा बाबु बाजे यहाँ आइपुग्नु भएको हो । तर अहिले मानिसलाई पढाइलेखाइको ज्ञान भयो । सडक, बिजुली, पानी घर–घरमा आउनु पर्यो । त्यसैको खोजीमा अन्यत्र जाँदै छन् । अहिले गाउँ रित्तिने क्रममा छ,’ उनले भने । लालबन्दीको नारायण खोला र परवानीपुर जस्तै हरिवन नगरपालिका–१ र २, बागमती नगरपालिका–१ र ११ का केही गाउँ चुरे पाखामै छन् । यी पाखासम्म खनिएका ट्रयाक प्रत्येक वर्ष पानी पर्न सुरु भए पनि हिँड्नै नमिल्ने गरी बग्ने गरेका छन् । रासस
यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई
काठमाडौं । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई प्रदान गरिएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको हो । यस्तै, बैठकले प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि ४–४ लाख रुपैयाँ छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।
चलचित्र विकास बोर्डको अध्यक्ष बने दिनेस डिसी
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा (एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।