पर्सामा ४८९ केजी लागुऔषध चरेससहित एकजना पक्राउ
वीरगञ्ज । पर्साको ग्रामीण भेगबाट ठूलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठूलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो । जिल्ला प्रहरी कार्यालयले गत साउन ३१ गते ४ सय ८९ किलोग्राम लागुऔषध चरेससहित कालिकामाई गाउँपालिका–१ मुडली बस्ने फुलसरिफ मियाँलाई पक्राउ गरेको हो । प्रहरीले मियाँले बाँसघारीमा खाल्डो खनेर लुकाइराखेको १ सय ९२ किलोग्राम चरेस, २ सय ६७ किलोग्राम लागुऔषध गाँजाको धुलो (पोलान्ड) र ३० किलोग्राम गाँजा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोध ढुंगेलले विशेष सूचनाका आधारमा पर्साको ग्रामीण क्षेत्रबाट ठूलो परिमाणको लागुऔषध चरेस र गाँजासहित पक्राउ गर्दै आइरहेको बताए । ‘हामीले पर्साका ग्रामीण क्षेत्रमा लागुऔषधको तस्करी हुने सम्भावित क्षेत्रमा उच्च निगरानी गर्दै आइरहेकाले पनि ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गर्न सफल भएका हौँ,’ उनले भने । प्रहरीले साउन १७ गते पनि ५० किलोग्राम गाँजासहित ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौंलाई पक्राउ गरेको थियो । गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा सो गाँजा भेट्टाएको थियो । प्रहरीका अनुसार आव २०८०/८१ म लागुऔषध सम्बन्धित दुई सय चार मुद्दा दर्ता भएका थिए । त्यस्तै, आव २०७९/८० मा ३०२ र आव २०७८/७९ मा भने २ सय ३७ लागुऔषधका मुद्दा दर्ता भएका थिए । प्रहरीले आव २०८०/८१ मा चार सय १० किलोग्राम गाँजा बराबद गरेको थियो । त्यस्तै, आव २०७९/८० मा भने १ हजार १ सय ६५ किलोग्राम र आव २०७८/७९ मा पनि १ हजार ३ सय ५० किलोग्राम लागुऔषध बरामद गरेको थियो ।
बाढी पीडितलाई राहत सामाग्री वितरण जारी : प्राधिकरण
काठमाडौं । सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) कोआर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत तारपोलिन, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, सरसफाइ किट, कपडा, स्लिपिङ ब्याग जस्ता गैरखाद्यन्न सामग्री वितरण गरिएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले मनसुनको दुई महिनामा अहिलेसम्म रेडक्रसमार्फत तारपोलिन २ हजार ५० थान , ब्ल्याङ्केट १ हजार ३० थान , म्याट्रेस ६१०, भाँडाकुँडा ५५५, झुल १५०, सरसफाई किट २२५, कपडा ३ हजार २४५ मिटर, ब्याग ५० थान वितरण भएको जानकारी दिनुभयो । यस्तै गृह मन्त्रालयबाट त्रिपाल १ हजार २० थान, टेन्ट १२० थान, ब्यांकेट ३०० थान, म्याट्रेस १०० थान र स्लिपिङ ब्याग ५० र झुल २०० थान वितरण भएको उनले बताए । उनका अनुसार माग अनुसार राहत सामग्री वितरणको काम जारी छ । प्राधिकरणका अनुसार मनसुनपछिको अहिलेसम्म १३ जिल्लाका विपद व्यवस्थापन कोषमा एक करोड ७६ लाख पठाइसकिएको छ । मनसुन प्रभावित परिवारका लागि तत्काल राहत स्वरुप १५ देखि २० हजार पनि सहयोग गरिएको प्राधिकरणले जानकारी दिएको छ । सङ्कटासन्न परिवारलाई मानवीय सहयोग जारी रहेको आइएफआरसीले जनाएको छ । प्रभावितहरुलाई स्थानीय तहलगायत संघ संस्थाको पहलमा अस्थायी आश्रयस्थलमा राखी खाद्यान्न व्यवस्थापन गरिएको छ । अहिलेसम्म यो दुई महिनामा सबै प्रकृतिका विपदमा परेर २११ ज्नाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । मनसुनी विपद्मा मात्रै परेर १७६ जनाको मृत्यु भइसकेको छ । ३ हजार बढी परिवार प्रभावित भएका छन् ।
बेनीमा ‘वर्षे नाच’ को रौनक
बेनी । सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु भएको वर्षे नाच हरितालिका तीजको दिनसम्म एक महिनाभन्दा बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषामंकाः खलः अन्तर्गतका युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा वर्षे नाच देखाउने गरिएको छ । यस वर्ष लाखे नाच, घोडा नाच, जोग नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताए । अघिल्ला वर्षहरूमा रोपाइँ, धानको बाला, गोरु लगायतका नृत्यसमेत वर्षे नाचमा समावेश गरिएको भए पनि यस वर्ष नाच व्यवस्थापनमा जनशक्ति थोरै भएकाले लाखे, घोडा, जोगीर नागनागिनी नाचलाई प्राथमिकता दिएर देखाउने गरिएको उनको भनाइ छ । पुर्खाले सुरु गरेको परम्परागत नाचलाई तालिम र अभ्यासका माध्यमबाट युवा तथा बालबालिकामा समेत सीप हस्तान्तरण गर्ने गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनी बजारमा दिनहुँजसो साँझपख विभिन्न नाच देखाउन थालेपछी वर्षे नाचको रौनकता बढेको छ । सडक र चोक चोकमा देखाइने वर्षेनाच हेर्न बालबालिका, युवायुवती देखि वृद्धवृद्धासम्म सडकतीर जम्माहुने गर्छन् । वर्षे नाचमा नेवार समुदायका साथै बेनीमा बसोबास गर्ने अन्य जातजातिका युवायुवती र बालबालिकासमेत सहभागी हुने गर्छन् । बेनीकै सांस्कृतिक पहिचानका रुपमा रहेको वर्षे नाचमा नयाँनयाँ कलाकारहरूको आगमनले मौलिक नाचको संरक्षण र निरन्तरतामा सहयोग पुगेको लाखे नाचका संयोजक सन्दिप श्रेष्ठले बताए। परम्परागतरूपमा देखाइदै आएको वर्षे नाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत निरन्तरता दिने गरिएको छ । वर्षे नाचमा समावेश गरिने नागनागिनी नाच नेपालभरमा म्याग्दीमा मात्र देखाउने नाचको रुपमा परिचित छ । जनैपूर्णिमा पर्वको दिनमा वर्षभरी दिवङ्गत भएका नेवार समुदायका व्यक्तिहरूको सम्झनामा सापारु अर्थात् नागनागिनी नाच देखाउने चलन रहेको छ । दुई सय वर्षभन्दा पुरानो वर्षे नाचको निरन्तरताको लागि बेनीमा नयाँ कलाकारलाई तालिम दिने गरिएको छ । परम्परादेखि चलिआएको संस्कृतिको निरन्तरता र मौलिकताको संरक्षणमा युवाहरूको उत्साहजनक सहभागिताले सहयोग पुगेको युवा कलाकार अभिनेश श्रेष्ठले बताए। आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा वर्षे नाचलाई संरक्षण गर्ने दायित्व युवाको काँधमा आएको उनको भनाइ छ । वर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ । खास गरि लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । वर्षे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।