रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समलाई
काठमाडौं । रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति काठमाडौं सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले भने, ‘रियलमी मिस्टर नेपाल २०२४ को शीर्ष उपाधी जित्न सफल भएकोमा सन्तोषलाई धेरै-धेरै बधाई दिन चाहन्छौँ । अन्य उपाधी विजेताहरुलाई पनि हार्दिक बधाईका साथै आगामी यात्राको लागि शुभकामना व्यक्त गर्दछौँ । साथै प्रतियोगितामा सहभागि सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ । मिस्टर नेपाल एउटा प्रतियोगिता मात्र नभएर यस्तो प्ल्याट्फर्म हो जहाँ बाहिरी सुन्दरता मात्र नभएर युवाहरूको समग्र व्यक्तित्वको पहिचान र उच्च मुल्यांकन गरिन्छ । युवाहरुको क्षमता पहिचान गर्ने र योग्य प्रतियोगीलाई सम्मान गर्ने यस मिस्टर नेपालको सफलतापुर्वक आयोजना र समापन गरेकोमा आयोजक नेक्स्त मोडल्सको सम्पुर्ण टिम र सम्बद्ध समस्तमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।’ प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वल्र्ड नेपाल चुनिइ म्यान अफ द वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन्। योगेश र आयुष दुवैले ३ लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट र हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप, आयुष बोमजन मस्ट पपुलर, सन्तोष लोक्सम म्यान अफ एलिगेन्स, प्रकाश चौहान मस्ट एक्टिभ, समिर तिमिल्सिना वेस्ट स्किन, आदेश प्रधान पब्लिक च्वाइस, साकार बजिमय मस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ वेस्ट फिजिक, आयुष दुलाल वेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ मिस्टर फाटोजेनिक, पियुष श्रेष्ठ मेन च्वाइस, अनिकेत प्रजापति वेस्ट हेयर, अग्रज श्रेष्ठ मिस्टर स्टाइल आइकन, सिजल कपाली मिस्टर फेसनिष्टा र मनोज गुरुङ वेस्ट स्पोर्टस्मेनसिप अर्वाड विजेता भए । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री,मोडल एवं रियलमीको ब्रान्ड एम्बास्डर नीति शाह, पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिस्टर नेपाल डा। रूपक घिमिरे र सन्दीप पोखरेल निर्णायक रहेका थिए । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।
ग्राण्डीको तीज अफर : महिलालाई उपचारमा छुट
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ । काठमाडौंको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो । ग्राण्डीले रु चार हजार ६०० मा महिलाको गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ, पेटको अल्टासाउण्डलगायतका सेवा प्रदान गर्न लागेको हो । अस्पतालका मार्केटिङ शाखाका प्रमुख भास्कर कुमार दासले महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले महिलालाई चेकजाँचमा सहुलियतको व्यवस्था गरेको बताए । ग्राण्डीले हरेक वर्ष झैँ यसवर्ष पनि तीजको अवसरमा सहुलियत प्रदान गरेको हो । आजदेखि सुरु भएको उक्त सेवा आगामी भदौ महिनाभर लागू हुने अस्पतालले जनाएको छ । ग्राण्डीले विभिन्न चाडपर्व र अस्पताल स्थापनाको समयमा विभिन्न छुट दिँदै आएको छ ।
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म १३ लाख ६३ हजार ७ सय रुपैयाँ संकलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरूमार्फत उक्त रकम संकलन भएको हो । आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट ६ लाख ५२ हजार ८ सय रुपैयाँ संकलन भएको थियो । शनिबारको खेलबाट मात्र ३ लाख ४४ हजार र शुक्रबारको खेलबाट ३ लाख ८ हजार ८ सय रुपैयाँ संकलन भएको उनले जानकारी दिए । यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा ७ लाख १० हजार ९ सय रकम संकलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति २ सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा १ सय राखिएको थियो । फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर २ सय ५० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट २० लाख रुपैयाँसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताए । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग संकलन भइरहेको समितिले जनाएको छ ।