‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत साढे ११ हजार स्मार्ट सडक बत्ती जडान
काठमाडौं । ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रहरुमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरिएपछि विद्युत् नपुगेको ठाउँको विद्युतीकरण र शहरी सौन्दर्यलाई बृद्धि गर्न स्थानीय तहहरूसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताए । ‘घरघरमा विद्युत् बालेर मात्र नहुने रहेछ, शहरी सौन्दर्यता तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनु पर्ने रहेछ, त्यसैले स्थानीय तहहरको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो, अहिल देशभरका स्थानीय तहहरुबाट सडक बत्ती जडानको माग आइरहेको छ’, उनले भने । ‘अहिले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित काम गरिरहेका छौं ।’ प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि फिडर प्यानलहरु जडान गरिएको छ । सडक वत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मरहरु जडान गरिएका छन् । स्मार्ट बत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महशुललको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत्को महशुल सम्बन्धित पालिकाहरुले तिर्ने छन् । ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ । भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको छ । काठमाडौंसहित ३ महानगरपालिका, ३ उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ । सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी रहने छ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहने छ । नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहने छ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने छ । नगरपालिकाहरुले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले वोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि बिदा
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिका सबै विद्यालयमा बिदा दिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ । ‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा भनिएको छ । यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि नेपाली खेलाडीलाई हौसला बढाउन जनकपुरधाम उपमहानगरले दिउँसो २ बजेपछि विद्यालयहरुमा बिदा दिएको थियो । श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीच खेल सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो ।
चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह
काठमाडौं । कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् । गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार राख्दै उनले वि.सं २०५८ सम्म चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि नयाँ–नयाँ बेथिति थपिएको टिप्पणी गरे । “केही चलचित्रकर्मीले विसं २०५८ मा एउटा सम्झौता गर्नुभयो । राज्यकोषबाट पाउने सबै सेवा सुविधालाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो । विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो । विकास बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो”, अभिनेता शाहले भने, “विसं २०४२ देखि २०५८ सम्म राज्यले चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो । मनोरञ्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो ।” चलचित्र विकास बोर्डका पूर्वअध्यक्षसमेत रहेका अभिनेता शाहले निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘लाहुरे’ ले भृकुटीमण्डपको हाइभिजन चलचित्र भवनबाट ३३ लाख मनोरञ्जन कर वापत फिर्ता पाएको स्मरण गरे । विदेशी चलचित्रको प्रदर्शनबाट उठेको करको रकमले बोर्डका कर्मचारीले तलब थाप्ने उल्लेख गर्दै उनले त्यसले नेपाली चलचित्रको हित गर्न नसक्ने बताए । “पुनः यसलाई स्थापना गर्ने हो भने नेपाली चलचित्र लयमा फर्कन्छ । अन्यथा नेपाली चलचित्र निर्माण गर्ने कुनै न कुनै स्थान त हुन्छ । तर, त्यो स्थान नेपाल हुँदैन”, उनले भने । यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ आज बेलुकी समापन हुँदैछ ।