महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि, राजस्वमा २५ प्रतिशत छुट
दाङ । कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्नेसम्मको सोच हावी थियो । यसकारण महिलाका नाममा रहने सम्पत्ति भनेको माइतीबाट प्राप्त दाइजो मात्रै हुन्थ्यो । अविवाहिता छोरीलाई पनि अर्काको घर जाने जात भन्दै सम्पत्ति दिने चलन हुँदैनथ्यो । तर त्यो परम्परा अहिले भने तोडिएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छुट दिने व्यवस्था गरेपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । त्यस्तै कानुनले पनि अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारणले पनि पछिल्लो समय जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो । मालपोत कार्यालय तुलसीपुर दाङका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा पाँच हजार आठ सय ११ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा सहरी क्षेत्रका चार हजार पाँच सय ७३ जना र ग्रामीण क्षेत्रका एक हजार दुई सय ३८ जना रहेको मालपोत कार्यालय तुलसीपुरका सूचना अधिकारी लक्ष्मी तामाङले जानकारी दिइन् । उनका अनुसार महिलाका नाममा जग्गा पास गर्दा २३ करोड १४ लाख ४९ हजार ९८ राजस्व छुट भएको छ । त्यसैगरी आव २०७८/७९ मा सहरी क्षेत्रका पाँच हजार नौ सय ७२ र ग्रामीण क्षेत्रका एक हजार आठ सय २७ गरी कूल सात हजार सातसय ९९ जना महिलाका नाममा जग्गा पास गराउँदा आठ करोड ४५ लाख ४० हजार चार सय ७६ राजस्व छुट भएको थियो । ‘कित्ताकाट बन्द हुनु, घरजग्गामा लगानी गर्नेको सङ्ख्या घट्नु जस्ता कारण जिल्लामा जग्गाको कारोबार घटेपनि जति लिखत पारित भए त्यसमा महिलाको पहुँच राम्रो छ’, उनले भने । आर्थिक वर्ष २०७७/७८ मा सहरी क्षेत्रका चार हजार आठ सय ९७ र ग्रामीण क्षेत्रका एक हजार पाँच सय गरी जम्मा पाँच हजार नौ सय दुई महिलाको नाममा जग्गा पास हुँदा दुई करोड ८६ लाख १० हजार सात सय २३ राजस्व छुट भएको थियो । ‘हामी एकै रथका दुई पाङग्रा हौँ, श्रीमतिका नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने ? त्यसैले अहिले किन्न लागेको घर जग्गा श्रीमतीको नाममा पास गर्न लागेको छु’, तुलसीपुर उपमहानगरपालिका–६ का ५४ वर्षीय रामु चौधरीले भने । मालपोत कार्यालयमा आफ्नो नाममा जग्गा पास गर्न आएकी तुलसीपुर–१२ की ४१ वर्षीया विणा रेग्मीले आफ्नो नाममा जग्गा राख्दा सुरक्षित पनि हुने र राजस्वमा पनि छुट पाउने हुँदा अहिले किन्न लागेको घरबासको जग्गा पास गराउन लागेको बताए । महिला सशक्तीकरणको सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजस्वमा छुट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ साथै महिलाको स्वाभिमान बढेको छ महिला अधिकारकर्मी विमला शर्माको भनाइ छ । उनका अनुसार सरकारको यो नीतिले सम्पत्तिमा महिलाको पहुँच बढाएको छ भने उनीहरूलाई आत्मनिर्भर बनाउन पनि सहयोगी बनेको छ । रासस
एशियाली शारिरीक सुगठन प्रतियोगिता भदौ १५ गते हुने, २५ मुलुकको सहभागिता
काठमाडौं । एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भदौ १५ हुने गते भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको अन्तिम तयारी पुरा भएको हो । उक्त प्रतियोगितामा हालसम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेका छन् । एशियाली मुलुकहरुले भाग लिने उक्त प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा हुनेछ । एशियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुने महासंघले जानकारी दिएको छ । एक बिधाको खेलमा भने महिला र पुरुष दुबैपक्षलाई समावेस गराईने छ । प्रतियोगिता स्थल याक एण्ड यति होटल रहने छ । महासंघले आयोजना गर्न लागेको यस कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछ ।
हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनः निर्माण अन्तिम चरणमा
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग उपलब्ध गराएको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको थियो । विसं २०७६ चैतपछि कोरोनाका कारण काममा समस्या आएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । पुरातत्व विभागले पुनःनिर्माणमा प्राविधिक सहयोग गरेको थियो । पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको थियो । विसं २०७६ चैतअघि नै ८० प्रतिशत काम सकिएकामा कोरोना महामारीका कारण बाँकी काम सकेर संरचनाका काम हालै सम्पन्न गरी भित्री साजसजावट र ग्यालरीको काम भइरहेको उनले जानकारी दिए। करिब एक वर्षमा भित्री सजावट र ग्यालरीका काम पनि सम्पन्न गरी सङ्ग्रहालयकै रुपमा नौ तले दरबार सर्वसाधाराणको अवलोकनका लागि खुला गरिने हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । विभागका पूर्व महानिर्देशक दामोदर गौतमले कोरोना महामारी शुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भएको बताए । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भएको हो । हाल पुरानै स्वरुपमा नौतले दरबार ठडिएको देखिन्छ । करिब १६ करोड लागतमा दरबार पुनःनिर्माण भएको जनाइएको छ । दरबार पुनर्निर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो । नेपाल भ्रमणमा रहेका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा दरबार पुनर्निर्माणको शिलान्यास गरेका थिए । दरबार विसं १८२६ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले निर्माण गराएका हुन् । सम्झौता अनुसार सन् २०२२ को नोभेम्बरसम्म नौतले दरबार पुनःनिर्माणको म्याद रहेको थियो । समयमा काम नसकेपछि पुनःनिर्माणका लागि म्याद थप गरिएको हो । वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण अझै सकिएको छैन । यस क्षेत्रका ९५ सम्पदामध्ये ७५ वटामा भूकम्पले क्षति गरेको इञ्जिनीयर रेणु महर्जनले जानकारी दिए । हालसम्म ४२ सम्पदा पुनःनिर्माणको काम सकिएको छ । हाल ११ सम्पदा पुनःनिर्माणको काम भइरहेको छ । २२ सम्पदाको भने अझै पुनःनिर्माण सुरु हुन सकेको छैन । बजेट अभावमा २२ सम्पदा पुनःनिर्माण गर्न नसकिएको इञ्जिनीयर महर्जनले बताए । नुवाकोट दरबार पुनः निर्माण जारी चीनले नुवाकोटको सात तले दरबारको पुनर्निर्माणमा पनि सहयोग गरेको छ । चीनकै सहयोगमा नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणको काम पनि भइरहेको जनाइएको छ । नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहल लगायत सबै संरचना चीन सरकारले नै पुनर्निर्माण गर्दैछ । नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानो स्वरुपमै निर्माण गरिरहेको विभागले जनाएको छ । नुवाकोटको साततले दरबारको निर्माण पनि पृथ्वीनारायण शाहले नै गराएका हुन् । रासस