ओलम्पिक छनोटको खेल नेपालमा हुने
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ । खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ रु तीन सय र भिआइपी प्यारापिटतर्फ रु एक हजार कायम गरिएको एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि करिब रु ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस
बिक्न छाडे साहित्यिक पुस्तक
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा शङ्करदत्त भट्टले पुस्तकालय व्यवसाय सञ्चालन गरेको २६ वर्ष भयो । हाल महेन्द्रनगरस्थित गल्ली नं ५ क्याम्पसरोडमा नेहा पुस्तक पसल सञ्चालन गरिरहेका भट्टले पछिल्ला वर्षमा अतिरिक्त पुस्तक खरिद गर्ने र अध्ययन गर्नेहरूको कमी भएको बताए । झण्डै एक दशकअघिसम्म उपन्यास, मुक्तक, गजल, कथा, कविता र साहित्यका पुस्तक खरिद गर्ने धेरै रहे पनि अहिले शून्यमा झरिसकेको उहाँको भनाइ छ । लामो समयदेखि यहाँ पुस्तक पसल सञ्चालन गरिरहेका स्थानीय व्यापारीको भनाइअनुसार अहिले साहित्यिक पुस्तक पढ्ने बानीमा निकै ह्रास आइसकेको छ । ‘युवा पुस्ता फाट्टाफुट्ट रूपमा विदेशी लेखकका अङ्ग्रेजी पुस्तक भने कहिलेकाहीँ खोज्छन्, नेपाली लेखकका अझ साहित्यिक पुस्तक कोरोना कहरपछि मान्छेले खोज्नै छोडिसके भन्दा फरक पर्र्दैन,’ नेहा पुस्तक पसलका सञ्चालक भट्टले रासससित भने । उनले इन्टरनेटको बढ्दो पहुँच र सरलताका हिसाबले पनि पुस्तक पढ्ने खोज्नेको कमी भएको बताए । ‘खोजेको प्रायः सबै कुरा इन्टरनेटमै पाउन थालिसकेको छ, पुस्तकालयमा जाने, पुस्तक पढ्ने कुरो त दुर्लभ हुन थालिसक्यो,’ उनले भने । अध्ययन गर्ने बानीबाट विज्ञता प्राप्तिको आधार तथा अध्ययन नै ज्ञान र आनन्द प्राप्तिको माध्यम भए पनि युवा पुस्ता बढीजसो इन्टरनेटमै लिप्त रहेको पाइन्छ । सरस्वती पुस्तक भण्डारका सञ्चालक गोकुल बोहराले अतिरिक्त पुस्तक अध्ययनकर्ताहरूमै कमी आएको बताए । ‘चार÷पाँच वर्ष भयो कथा, कविता, मुक्तक, गजलका किताब बिक्नै छाडे, इन्टरनेटमा सबैको पहुँच बढेकाले पनि पुस्तक अध्ययनमा कमी आएको हो,’ उनले भने महेन्द्रनगरका साहित्यकार हेमबाबु लेखकले पठन संस्कृतिमै ह्रास आउन थालेको बताए । ‘पुस्तक बिक्री नभएकै आधारमा अध्ययनशील नै छैन भन्ने कुरो गलत हो, अग्रज स्रष्टा, सर्जकबाट पनि नयाँ पुस्तालाई अध्ययनशील बनाउने खालको वातावरणको खाँचो छ,’ उनले भने । उनले पछिल्लो समय इन्टरनेटमै आफूले खोजेको विषय सहज र सहुलियतरूपमा पाइने भएकाले पनि आम मानिसकको आकर्षण त्यसतर्फ बढेको बताए । उनका अनुसार अध्ययनशीलताको महत्त्व हुने किसिमको वातावरण पर्याप्त छैन । यसका लागि सबैतिरबाट सकारात्मक माहोल तयार हुन जरुरी रहेको उनले बताए । महेन्द्रनगरस्थित सुदूपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय पुस्तकालयका सहायक प्रशासक दुःखी चौधरीले विद्यार्थी अध्ययनका लागि आउने गरेको बताए । ‘विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विषयगत र साहित्यिक पुस्तक आएर अध्ययन गरिरहेकै हुन्छन्, पुस्तकालयमा आगन्तुकभन्दा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मात्रै पहुँच दिइएको छ,’ उनले भने ।
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
काठमाडौं। सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन् । कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ । कोषमा १७ हजार सात सय ३९ रोजगारदाता आबद्ध भएका छन् । कोषले हालसम्म ३० अर्ब ११ करोड योगदान सङ्कलन गरेको छ । कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ । पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ । औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजित एक कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गरेका थिए । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सूचीकृत गराउन सुरु भएसँगै विदेशमा रोजगारी र स्वरोजगारमा रहेका लाखौँ श्रमिक योजनामा समावेश हुने अनुमान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गर्दै आएको थियो । कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ । रासस