ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकिय सचिव धीरेन्द्र शाहीले जानकारी दिए । यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई रु एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही रु ५० हजार पुरस्कार दिने निर्णय भएको शाहीले बताए । एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ । प्रदेश सरकारको पुरस्कार घोषणाप्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको घोषणा निकै प्रसंसनीय रहेको उल्लेख गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहलाई धन्यवाद दिए । ‘अन्य प्रदेश सरकारबाट पनि खेलाडीलाई प्रोत्साहन मिल्ने हामीले आशा गरेका छौँ’, उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तह सबैबाट खेलाडीको भविष्य सुनिश्चितका लागि सक्दो सहयोगको आवश्यकता छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका सुदुरपश्चिमका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू–१९ टोली हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपाल सन् २०२४ मा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका सुदूरपश्चिमका पाँच खेलाडीलाई जनही रु एक लाख तथा प्रशिक्षक र व्यवस्थापकसहित चार जनालाई जनही रु ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमबाट दीपक बोहरा, दीपक बोहरा ९बी०, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द सहभागी थिए । यस्तै टोलीमा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए ।

छैटौं निफमा ‘हेर्दा हेर्दै कहाँ पुगियो’ माथि छलफल

काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ)को तेस्रो दिन आज ‘हेर्दा हेर्दै कहाँ पुगियो’विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरुमा चलचित्र निर्माता तथा प्रदर्शक अशोक शर्मा, अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक सुजित बिडारी थिए । नेपाली फिल्म पहिला र अहिले विषयक छलफलमा दर्शकको सोचलाई केन्द्रमा राखेर डेढ घण्टासम्म सेसन चलेको थियो । सेसनको संयोजन मुभी लभर्सले गरेको थियो । सेसनमा कस्ले के भने ? अशोक शर्मा – पहिला थोरै फिल्म बन्थे । त्यसबेला कोही स्टार पनि थिएन । अहिले धेरै फिल्म बन्छन् र स्टार पनि धेरै छन् । त्यसकारण सायद दर्शकले पनि स्टारहरुको अपेक्षा गर्छन् । – पहिला आफ्नो प्रतिभा देखाउन फिल्म खेल्नु पर्थो । टेलिफिल्म खेल्नु पर्थो । अहिले आफ्नै फोनका माध्यमबाट आफ्नो प्रतिभा संसारकालागि रिलिज गर्न पाईन्छ । जस्तो टिकटक । – पहिला दर्शक र स्टारहरुको भेट फिल्म चलेको ५१ दिने कार्यक्रमहरुमा मात्र हुन्थ्यो । अहिले दर्शकले स्टारलाई भेटिरहन पाए हुन्थ्यो भन्छ । कुनै न कुनै माध्यमले सम्पर्क गर्छ । – स्टार भनेको धेरै हलुका हुनुहुँदैन । त्यसकारण दर्शकसँग प्रत्यक्ष सम्पर्कमा धेरै रहनु हुँदैन । – हिजो जे जस्ता फिल्म बनेपनि अव भने हामीले हाम्रा लोकल स्टोरीलाई नै ग्लोबलमा पुर्याउने उद्धेश्य राख्नु पर्छ । स्वस्तिमा खड्का –पहिला सबैकुरामा अपसन कम थियो । अहिले अपसन धेरै छ । आफ्नो कुरा भन्नकालागि मुभी नै खेल्नु पर्छ भन्ने छैन । –अहिले ३ सय मुभी एउटै खाले बन्छन् । र, त्यही बीचमा एउटा फरक खाले फिल्म आउँछ । त्यसकारण दर्शकलाई बानी बनाउन अफ्टेरो परेको हो । तर, क्रिएटिभ फिल्मलाई दर्शकले माया गर्छन् नै । –नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा म मान्दिन । हलमा कम भएपनि युट्युवमा प्रसस्तै भिवर्श छन् । हलमा असफल भएका फिल्मको पनि मिलियन दर्शक पुगेको देखिन्छ । दर्शक थिएनन् भने यस्तो हुन्न थियो । –पहिला सिनेमा हल किफायती थिए । अहिले फिल्म हल महंगा छन् । त्यसकारण युट्युव रिलिज पर्खिनु पर्ने अवस्थामा दर्शक पुगेको देखिन्छ । –फिल्म मेकरको भन्दा दर्शकको स्तर बढेको जस्तो मलाई लाग्छ । त्यही कारण धेरै फिल्म असफल हुने गरेका छन् । कोरियन फिल्मको कपी गरेको कुरा दर्शकलाई लुकाउन सकिदैन । किनभने उनीहरुले मेकरसँगै त्यो फिल्म हेरिसकेको हुन्छ । –हामीले हाम्रो फिल्मलाई ग्लोबलमा पुर्याउने हो भने हाम्रै लोकल कथालाई टिप्नु पर्छ । सुजित बिडारी, निर्देशक –फिल्मको क्रेज कहिल्यै घट्दैन जस्तो लाग्छ मलाई । आफ्नै आँखा अगाडि फरक पात्र, जीवन र समाज देख्न पाईने हुनाले मान्छेमा क्रेज रहेको हो । र, रहिरहन्छ पनि । अनि सिनेमा हलको पनि क्रेज सकिदैन । किनभने मोवाइल फोन र ल्यापटपले हलको मज्जा दिन सक्दैनन् । – नेपाली फिल्म हेरेर मैले सिकेको कुरा चाहिँ हल्ला गरेर फिल्म हेर्न हो । त्यसवाहेक कमै कुरा सिकेको छु । – फेन्टासी हेर्ने नेपाली दर्शक छन् होला । तर उनीहरु दिपिका पादुकोणको बिकिनी सिन हेर्न लजाउँदैनन् । तर, प्रियंकाको बिकिनीलाई भल्गर देख्छन् । – मेकरले आफ्नो रुट बनाउनु पर्छ । रुट बनाउन सकिएन भने कहिँ पुग्न सकिदैन ।

अनमोल केसीले पर्वतको कुश्मामा गरे बन्जी जम्प र स्काई साइक्लिङ

पर्वत । नेपाली चलचित्रका नायक अनमोल केसीले कुष्मामा स्काई साइक्लिङ तथा बन्जी जम्प गरेका छन् । शनिबार केसी आफ्ना साथीहरूसँग बन्जी जम्प गर्न कुश्मा पुगेका हुन्। बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए । ‘केसी सहितको टोलीले आज बन्जी र स्काई साइक्लिङ र स्काई क्याफेको मज्जा लिनुभयो’, उनले भने । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् । सामान्यदेखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्, अध्यक्ष राजु थप्छन्, ‘सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।’