विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो
काठमाडौं । कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् । आज चार खेल हुँदै कतारमा जारी फिफा विश्वकप फुटबल –२०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । कतार विश्वकपमा समूह ‘सी’ र समूह ‘डी’ को समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजेदेखि सुरुआत हुनेछ । यसैगरी तेस्रो खेलमा समूह ‘सि’मा रहेको पोल्याण्ड र मेक्सिको भिडनेछ्न । उक्त खेल राति ९ः४५ बजेदेखि सुरु हुनेछ । त्यस्तै आजै हुने चौथो तथा अन्तिम खेलमा समूह ‘डी’ मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामाना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । रासस
मोबाइलबाटै हेर्न सकिन्छ निःशुल्क रुपमा विश्वकप फुटबल
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट कतारमा सुरु भएको छ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियमबाट उद्घाटन भएको विश्वकप झण्डै आगामी २ महिनासम्म सञ्चालन हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा भएको थियो । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेलमा कतार पराजय भएको छ । आज पहिलो खेल इरान र इङल्यान्डबीचमा हुनेछ भने दोस्रो खेल नेदरल्यान्ड र सेनेगलबीचमा हुनेछ । नेपालमा पनि फुटबल खेलका निकै ठूलो संख्यामा प्रशंसकहरु छन् । यसअघि घरघरमा टेलिभिजनमार्फत् सहजै रुपमा हेर्ने सुविधा भएकोमा यसपटक भने भिन्न प्याकेजमार्फत् खरिद गरेर मात्रै विश्वकप हेर्न पाइने व्यवस्था गरिएको छ । नेपालमा विश्वकप पदर्शनको अधिकार मिडिया हबले ४० करोड रुपैयाँ तिरेर लिएको छ । मिडिया हबले विश्वकप फुटबल महासंघसँग प्रसारण अधिकार लिँदा टेरिटरी लक हुने अधिकार पनि लिएको छ, जुन फिफाले यो वर्षदेखि अख्तियार गरेको नयाँ नीति हो । अर्थात् मिडिया हबले स्वीकृति दिएर प्रसारण हुने बाहेकका टिभी च्यानलमा विश्वकप प्रसारण हुँदैन । यसअघि भारतीय च्यानलहरुसँग सम्झौता गरी नेपालमा विश्वकप प्रसारण गरिएको थियो । जसले गर्दा नेपाली दर्शकहरुलाई विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सस्तो परेको थियो । तर, यसपटक भने मिडिया हबको प्रसारणमा व्यवसायिक एकाधिकार भएसँगै दर्शकहरुका लागि शःशुल्क र महँगो पर्न गएको छ । यसलाई एक्सक्लुसिभ अधिकार भनिन्छ, जुन नेपालमै पहिलोपटक प्रयोग भएको हो । मिडिया हबले ५०० रुपैयाँ तिरेर विश्वकप हेर्न सक्ने व्यवस्था गरेपनि कतिपय ग्राहकले पैसा र्तिदा पनि विश्वकप हेर्न नपाएको गुनासो सामाजिक सञ्जालमा व्याप्त छ । तर, पैसा तिरेर वा टिभी मार्फत विश्वकप हेर्ने सुविधा नभएका दर्शकहरुलाई पनि निःशुल्क रुपमा विश्वकप हेर्ने सुविधा भने छ । त्यसको लागि विभिन्न इन्टरनेट प्लेटफर्महरुले सुविधा उपलब्ध गराएका छन् । जसको प्रयोग गरेर मोबाइलबाट र स्मार्ट टेलिभिजनमार्फत् फिफा वर्ल्डकपको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । मोबाइलबाट निःशुल्क रुपमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नको लागि तपाईंले वेब ब्राउजरबाट एचएनसी स्पोर्टस डट एक्सवाइजेड साइटमा गएर एचएनसी स्पोर्टस लाइभ टिभी एपीके एप डाउनलोड गर्नुपर्ने हुन्छ । सो एप डाउनलोड गरिसकेपछि त्यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि सोही एप्लिकेसन खोलेर फिफा डब्लुसी २०२२ भन्ने लिंक खोल्नुपर्ने हुन्छ । सो लिंक खोल्दा विश्वकप हेर्ने ५ वटा विकल्प त्यहाँ राखिएका छन् । विश्वकप शुरु भएपछि ती ५ वटा विकल्पमध्ये कुनै एक विकल्पबाट विश्वकप लाइभ भइरहेको हुन्छ । तपाईंले सोही प्रकृयाबाट निःशुल्क रुपमा विश्वकप फुटवलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ । जुन पूर्ण रुपमा एचडी क्वालिटीमा प्रसारण भएको हुन्छ । तपाईंले मोबाइललाई टिभीमा जोडेर मोबाइलमा चलिरहेको विश्वकप फुटबल टिभीमा पनि सहजै हेर्न सक्नुहुन्छ । ५६५ तिर्नुपर्ने बाध्यता नेपाली ग्राहकले आइतबारदेखि कतारमा सुरु भएको वर्ल्डकप फुटबल खेल हेर्न करसहित ५६५ रुपैयाँ तिरेको बताइएको छ । आइतबार सुरु भएको खेल हिमालय प्रिमियर च्यानलले निःशुल्क रुपमा प्रसारण गरेतापनि शुल्क भुक्तानी गर्छु भन्ने ग्राहकले पेमेन्ट गेटवेमा समस्या आउँदा भुक्तानी गर्न नपाएको मिडिया हबले स्वीकारेको छ । मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल पर्याप्त समय नहुँदा र धरैले एकै पटक रकम भुक्तानी गर्दा पेमेन्ट गेटवेमा समस्या देखिएको बताए । ‘हामीले छोटो समयमा धेरै तयारी गर्दा आइतबार भएको उद्घाटन शत्रको खेल देखाउन केही समस्या भयो, अहिले हामी सबै जनशक्ति प्रयोग गरेर समस्याको समाधान गर्न लागेका छौँ,’ उनले भने । उनले सबै जनशक्ति आवश्यक तयारीमा जुटेको भन्दै कति ग्राहकले शुल्क तिरे यकिन तथ्यांक आउन सकेको छैन ।
स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक, वार्षिक पाँच सय डलर खर्च
काठमाडौं । ओटिटी ओभर द टप प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढे्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि बन्द नै भए । नेपालमा सन् २०१५ देखि सुरू भएको एप सिनेमाघरका प्र्रमुख कार्यकारी अधिकृत सागर खरेलले नेपाली दर्शकलाई युट्युबमा निःशुल्क कन्टेन हेर्ने बानी लागेकाले डिजिटल प्लेटफर्मको विकास नहुन सकेको बताए । ‘हामीले सुरुआती समयमा चलचित्रको अधिकार लिएर निःशुल्करुपमै एपमा देखाउने गरेका थियौँ । दर्शकलाई फिल्म हेर्ने बानी बसेपछि न्यूनतम शुल्क लिन थालेका हौँ’, उनले भने, ‘अहिले यसको सुरक्षा प्रणाली चुस्त बनाउनाका साथै दर्शकले खोजिरहेको चलचित्र ल्याउने तयारीमा छौँ ।’ सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । ‘नयाँ फिल्म र ओर्जिनल कन्टेनको तयारी हामीले गरिरहेका छौँ । दर्शकको आकर्षण बढ्दै गएपछि हामीले पनि कन्टेन बढाउँन थालेका हौँ’, उनले भने । गत कात्तिक २४ मा एपमा रिलिज भएको ‘कबड्डी ४ : द फाइनल म्याच’ ले प्रयोगकर्ता बढाउनाका साथै एक्टिभ पनि गरिएको प्रमुख कार्यकारी अधिकृत खरेलले बताए । ‘हाम्रो ५० हजारभन्दा बढी प्रयोगकर्ता बढेको छ भने सक्रिय हुनेको सङ्ख्या धेरै भएर सर्भर नै क्याससमेत भएको थियो । यो फिल्मको आम्दानी कुनै युट्युबले दिनेभन्दा बढी छ । कुनै समय एक सय दर्शक नपाइने एपमा केही समययता दैनिक एक हजारको हाराहारीमा फिल्म हेरिरहेका छन्’, उनले भने । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम रहेको बताए । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको उनको भनाइ थियो । ‘हामीले पाइरेसी रोक्ने अनेक सुरक्षा अपनाएका हुन्छौँ तर पाइरेसी गर्नेलाई कडा कारवाही नभएसम्म कन्टेन सुरक्षित हुदैनन’, सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनीसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शक माँझ पुर्याइरहेको छ । अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको र पाइरेसी गर्नेलाई सहजै पत्ता लगाउन सकिने बताए । ‘पाइरेसीसम्बन्धी शिक्षाको कमिले नै यस्तो भइरहेको छ । पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ’, उनले भने । डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फडिन्द्र कटवालले बताए । ‘कबड्डी ४ : द फाइनल म्याच’ ले गरेको कमाइको विवरण र अन्य केही नयाँ फिल्म रिलिजबारे छिट्टै जानकारी गराउने सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत खरेलले जानकारी दिए ।