विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो । मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो । त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ । तेस्तै स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

मेक्सिकोलाई २–० गोलले पराजित अर्जेन्टिना विजयी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

डेनमार्कलाई २–१ गोलले पराजित गर्दै फ्रान्स बिजयी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १(१ गोलको बराबरीमा ल्याए । खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १(१ अंक छ ।