यु–१९ क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
काठमाडौं । मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो । शनिवार लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए । तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो । त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गरे । यस्तै आकाश त्रिपाठीले २३ रन, विशाल भुषाल र निर्मल गुरुङले समान १३/१३ रन बनाए भने देव खनाल ११ रनमा आउट भए । यस्तै नर सार्की २६ रनमा अविजित रहे । बलिङतर्फ मधेसका लागि निकेश गुप्ता ३ विकेट, अभिषेक तिवारी र नितेश यादवले समान २/२ विकेट लिए । जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब सोमवार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । यस्तै लिगको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुखद् अन्त्य गरेको छ । कर्णालीले दिएको १५२ रनको लक्ष्य कर्णालीले ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । प्रदेश १ का सोनु अनसारीले सर्वाधिक ४५ रन जोड्दा भुपाल दंगला र कप्तान दिपेश कँडेलले ४२ तथा २९ रनको अविजित पारी खेले । प्रदेश १ को ३ विकेट निकाल्दा कर्णालीका युनिस सिंह र मोहन बिकले समान १–१ निकाल्दा एक खेलाडी रन आउट भए । यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५२ रन बनाउन सक्यो । सुवास ऐरले सर्वाधिक ४७ रन जोड्दा मेहन बिक २९ रनमा अविजित रहे । ओपनर मनिष थापा २६ रन जोड्दा युनिस सिंहले १३ तथा कप्तान विपिन रावलले ११ रनको व्यक्तिगत स्कोर बनाउनु बाहेक अन्यले राम्रो अंक जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का दिपेश कँडेल र अनिस ओझाले ३/३ विकेट लिए । फाइनल खेल सोमवार हुनेछ ।
नेपाल फिल्म सोसाइटी द्वारा प्रदेस सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान
काठमाडौं । नेपाल फिल्म सोसाइटी द्वारा भर्खरै निर्वाचित प्रदेश सांसद द्वय माननीय मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ। नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश धादिङ क्षेत्र न. १ (क) बाट प्रदेश सभाको लागि बिजय भएका माननीय मदु कुमार श्रेष्ठ र लुम्बिनी प्रदेश प्युठान (ख) बाट निर्बाचित भएका माननीय सरोज थापा (रोज राणा) लाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ। उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, नेपाल सांस्कृतिक संघका सभापति तिर्थ थापा, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, परिबर्तन नेपालका अध्यक्ष मोहन निरौला, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, कलाकार कृष्ण ढुंगाना, निर्माता तथा चलचित्र वितरक गोपालकाजी कायस्थ, चलचित्रकर्मी अशोक शर्मा, कलाकार शिवहरि बैरागी, मनोज केसी लगायत नेपाल फिल्म सोसाइटीका सदस्यहरु, कलाकारहरु र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। नवनिर्वाचित प्रदेश सांसद नायक निर्माता माननीय मदुकुमार श्रेष्ठले पनि आफूले फिल्म क्षेत्रका लागि सक्दो सहयोग गर्ने बताए । ‘म राजनीतिका अलवा फिल्म क्षेत्रबाट पनि चिनिएको छु’ श्रेष्ठले भने– ‘फिल्म क्षेत्रका लागि बागमती प्रदेशबाट हुने कामका लागि म पहल गर्नेछु ।’सांसदको ५ वर्ष आफु घुस नखाने, भ्रष्टाचार नगर्ने र पाउने तलव भत्ता समेत गरिबको स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका श्रेष्ठले चलचित्रकर्मीको साथ र सहयोगबाट आजको स्थानमा आउन सफल भएको धारणा राखे । ‘फिल्मकर्मीको साथ र सहयोगको पनि अहिलेको सफलतामा हात छ’ श्रेष्ठले अगाडि भने, ‘त्यो साथ र सहयोग आगामी दिनमा पनि आवश्यक छ । म पनि यो क्षेत्रका लागि सक्दो सहयोग गर्नेछु ।’ त्यस्तै अर्का चलचित्रकर्मी तथा नव निर्वाचित प्रदेश सांसद रोज राणा (सरोज थापा) ले प्रदेशको माध्यमबाट चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन आफूले सक्दो पहल गर्ने बताएका छन् । ‘म प्रदेश सांसद हो। हाम्रो काम प्रदेशका लागि नीति नियम निर्माण गर्ने हो’ राणाले भने– ‘म गठबन्धनको तर्फबाट विजय भएको हो । यदि केन्द्रमा हाम्रो सरकार बन्यो भने बोर्डको स्वायत्तताका लागि विशेष पहल रहनेछ ।’ सातैवटा प्रदेशमा चलचित्र विकास बोर्ड गठन हुनपर्ने धारणा समेत राखेका राणाले आफ्नो बेस चलचित्र र पेसा पनि चलचित्र भएकोले यो क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए । ‘चलचित्रको नीति बनाउने केन्द्रीय तहमा मेरो प्रतिनिधित्व छैन’ राणाले थपे– ‘सोही कारण पनि हामीले धेरै काम गर्न नसक्ने हुनसक्छ । यो सबैले मनन गर्नुपर्ने हुन्छ । सकेको सहयोग भने गर्नेछु ।’ कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्ल, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले सांसदले चलचित्र क्षेत्रको समस्याको बिषयमा सदनमा कुरा उठाउनुपर्ने धारणा राखे। उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल फिल्म सोसाइटी युकेका महासचिब बरिष्ठ गीतकार, चलचित्रकर्मी हिराकाजी थापालाइ समेत स्वागत सम्मान गरिएको थियो।
चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)
सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । साथै आजबाट प्रि क्वाटर फाइनलका खेलहरु शुरु हुँदैछन् । विश्वकप फुटबल मध्यपूर्वमा र यस समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो । यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरुको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी होटल, रेष्ुटराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन । यस पटकको विश्वकप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ । किनभने फुटबलका महारथी मानिने देशहरु कमजोर मानिएका देशहरुसँग पराजित भइरहेका छन् । जसकारण नकआउट चरणमा पुगेका देशहरुको समीकरण पनि हेर्न लायक बनिरहेको छ । आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भएपनि समर्थकहरु विश्वकपका हरेक खेलहरु हेर्न छुटाउँदैनन् । घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले पनि होला आजभोलि काठमाडौं उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरुले होइन, विश्वकप हेर्नेहरुले भरिभराउ देखिन्छन् । होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवाहरु चुक्दैनन् । होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरुको जमात पनि बाक्लै छ । फोटो : न्युज एजेन्सी नेपाल ।