पौडीतर्फ नासिरद्वारा किर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त

पोखरा । विभागीय टोली त्रिभूवन आर्मीका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधार गरेका छन् । विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतिष्पर्धामा नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेण्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेण्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेका एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे । यस्तै महिला २ सय मिटर मिड्लेतर्फ आर्मीकै सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भइन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनेट ३२ सेकेण्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेण्डको नयाँ समयको किर्तिमान कायम गरेकी हुन् ।

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा । वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिवार भएको खेलमा विभागीय टोली पुलिस क्लवकी राजपुरी पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गररेकी थिइन् । सन्तोषी १३ औं दक्षिण एशियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहिन् । यस्तै एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभूवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् । उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२.२१ सेकेण्डमार अजितले ३ मिनेट ५३.११ सेकेण्डमा दूरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेण्डमा पार गरे । महिलातर्फ एपीएफका पूmलमती रानाले स्वर्ण पदक जितेकी छन् । उनले त्रिभूवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । पूmलमतीले ४ मिनेट ३८.१९ सेकेण्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गरिन् । तेस्रो भएकी आर्मीकी रेखा लिम्बूले ५ मिनेट ३ सेकेण्डमा दूरी पार गरिन् । नवांै राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय किर्तिमान बनाइन् । हिट चरणमा उनले किर्तिमान बनाएकी हुन् । यसअघि देवीमाया पनेरुको नाममा १२.१९ सेकेण्डको रहेको राष्ट्रिय किर्तिमान चौधरीले १२.१५ सेकेण्डमा पूरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् ।

हक्कीतर्फ आर्मी र सुदूरपश्चिम विजयी

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा त्रिभूवन आर्मी क्लवले लगातार दोस्रो जित निकाल्दा दोस्रो खेलमा सुदूरपश्चिम विजयी भएको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा शनिवार भएको खेलमा वागमती प्रदेशलाई ८–० गोल अन्तरले हराएर आर्मीले लगातार दोस्रो जित निकालेको हो । शुरुवातबाट नै दबाबमा राखेर खेलेको आर्मीले शुरुवाती मिनेटमा नै गोलको खाता खोलेको थियो । पहिलो क्वार्टरमा आर्मीको तर्फबाट सुनिता नेगीले गोल गर्न सफल भएकी थिइन् । त्यस्तै खेलको १४ औं मिनेटमा आर्मीकै तर्फबाट सीतामाया बलले दोस्रो गोल गरेकी थिइन् । पहिलो क्वार्टरमा २–० को अग्रता लिएको आर्मीले खेलको दोस्रो क्वाटरमा थप तीन गोल गर्न सफल भएको थियो । खेलको २७ औं मिनेटमा सरस्वती तामाङ, २८ औं मिनेटमा सीताकुमारी चौधरी र २९ औं मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए । त्यस्तै खेलको तेस्रो क्वाटरमा आर्मीकी सुनिताले अन्तिम गोल गर्न सफल भइन् । ४० औं मिनेटमा सुनिताले गोल गर्दै आर्मीलाई को लागि अंक बढाएकी थिइन् । त्यसपछि झनै मनोबल उच्च बनाएर खेलेको आर्मीले अन्तिम क्वार्टरमा दुई गोल गर्दै ८–० को गोल अन्तरले विजय भयो । ४८ औं मिनेटमा सरस्वती तामाङ र ५४ औं मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत महिलातर्फको अर्को प्रतिष्पर्धामा सुदूरपश्चिम विजयी भयो । शनिवार भएको दोस्रो खेलमा सुदूरपश्चिमले १–० को गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो । खेलको पहिलो, दोस्रो र तेस्रो क्वार्टर गोलरहित सकिएको थियो । दुवैबीच रोचक प्रतिष्पर्धा रहेको खेलमा सुदूरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णायक बन्न पुग्यो । खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदूरपश्चिमलाई अंक बटुल्न पर्याप्त भएको हो । ५९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई जित दिलाउन सफल भएकी थिइन् । सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल भइरहेका छन् । प्रतियोगिताको चौथो दिन लुम्बिनी प्रदेश र प्रदेश १ तथा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीबीच आईतवार प्रतिष्पर्धा हुनेछ ।