बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो
फाइल फाेटाे उदयपुर । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । उनको कङ्काल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछ्रे सामुदायिक बनमा रुखमा झुण्डीएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएका थिए।
एक मुर्ति बनाएको ५ लाखसम्म पारिश्रमिक, नेपालमै कारखाना खोलेर रोजगारी दिने योजना
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएको दुई दशक भन्दा बढी भयो । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी दिल्ली पुगेका उनले दिल्लीस्थित जैपुरमा भगवानको मूर्ति बनाउने कारखानामा काम गरे। उक्त कारखानामा टमटाले करिब १० वर्ष मजदूरीको काम गरे । उनी १० वर्षको त्यो अवधिमा कारखानामा काम गर्ने मूर्तिकारको सीप सिके र नेपाल फर्किए । ‘दश वर्ष मूर्ति कारखानामा मजदुरीको काम गर्दा मेलै पनि मूर्ति बनाउन सिकिसकेको थिएँ ।’उनले भने ,’काम सुरु गर्दादेखि नै मूर्ति बनाउने रहर थियो विस्तारै सिक्दै गएँ ।’ भारतबाट सीप सिकेर नेपाल फर्किएका उनले हाल घरमै भगवानका मूर्ति बनाउँछन् । तामा, पित्तल, ढुङगा, काठ र सिमेन्टबाट निर्मित विभिन्न भगवानका मूर्ति बनाउने गरेको उनले बताए । ‘करिब २० वर्ष भयो, मूर्ति बनाएर परिवारको जोहो गरेको छु ।’ टमटाले भने–’अहिले मूर्तिको माग धेरै बढेको छ, दार्चुला बैतडीदेखि काठमाडौँसम्मबाट मूर्ति बनाउनका लागि आउँछन् ।’ उनले शिव पार्वती, हनुमान, दुर्गा, हात्ती र बाघ जस्ता विभिन्न भगवान र जीवजन्तुका मूर्ति बनाउने गरेको बताए । आफूले बनाएका मूर्ति नेपालको विभिन्न धार्मिकस्थलमा राखिएको टमटाले बताए । कैलालीको गोदावरीस्थित ६० फिट लामो हुनमानको मूर्ति करिब नौ महिना लागाएर बनाएको उनले बताए । ‘प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा राखिएको हनुमानको मूर्ति मैले बनाएको हुँ ।’ उनले भने –’नौ महिना लगाएर बनाएको मूर्तिको चार लाख पारिश्रमिक पाए ।’ गोदावरीधाम बाहेक कञ्चनपुरको पर्यटकीयस्थल शिवलिङगेश्वर धामस्थलमा समेत आफूले बनाएका मूर्ति स्थापित रहेको उनले बताए । विशेष गरी चाडपर्वको बेला मूर्ति बनाउने चाप बढी हुने गरेको बताए । ‘देवीदेवताको मन्दिरमा चढाउन चाडपर्वको बेला बढी माग हुन्छ ।’ टमटालले भने–’मूर्ति बनाएरै अहिलेसम्म परिवार चलेको छ ।’ नेपालमै मूर्ति बनाउने कारखाना खोल्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण त्यो सपना पूरा हुन नसकेको टमटाले बताए । ‘यही कारखाना स्थापना गर्नसके यहाँ अन्य धेरैले रोजगारी पनि पाउँथे सीप पनि हस्तान्तरण हुने थियो ।’ उनले भने–’आर्थिक समस्याका कारण कारखाना स्थापना गर्न सकेको छैन ।’ उनले अहिले पनि मूर्ति बनाउनका लागि भारतबाट मूर्तिकार आउने गरेको बताए ।‘अझै पनि मूर्ति बनाउन भारत जानुपर्ने र त्यहाँको मूर्तिकार ल्याउनुपर्ने बाध्यता छ ।’ टमटाले भने–’मैले सिकेको सीप अरुलाई पनि सिकाउन सक्थे यसले हाम्रो देशमै मूर्तिकार भएपछि यही रोजगारी पनि हुन्थ्यो ।’ उनले अहिले सीप नभएर थुप्रै युवा रोजगारीका लागि भारत जाने गरेको बताए । अहिले मूर्ति बनाएर साइज हेरेर रु २० हजार देखि चार(पाँच लाखसम्म पारिश्रमिक लिने गरेको टमटाले बताए । ‘ग्राहकलाई चाहिए अनुसारको मूर्ति बनाउन सक्छु ।’ उनले भने–’काठ, ढुङ्गा, सिमेन्ट पित्तल तामाका मूर्ति सहजै बनाउन सक्छु ।’ उनले अहिलेसम्म देशका विभिन्न भागमा मूर्ति बनाएर पठाएको बताए । ‘सुरुवातको केही समयमा काम गर्न असजिलो भयो ।’ टमटाले भने–’अहिले त मलाई खोज्दै आउछन्, म सन्तुष्ट छु ।’ रासस
कर्णालीबाट ५० हजार खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी
सुर्खेत । कर्णाली प्रदेशबाट यो वर्ष दशैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा रु ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए । उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ ।” अहिले प्रदेशका चारबटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र ह¥र्य, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन् । गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाय मासुको लागि निर्यात गरिएका थिए । तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको सूचना अधिकारी गिरीले बताए । निर्देशनालयका अनुसार दुई हजारभन्दा धेरै खसीबोका र भेडाच्याङ्ग्रा फिर्ता भएको थियो । दशैं तिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ । विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ । खसीको मासुमा कर्णाली आत्मनिर्भर कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर बनेको छ । विभिन्न उत्पादनमुखी कार्यक्रम सञ्चालन हुँदा खसीको मासुमा प्रदेश आत्मनिर्भर भए पनि कुखुराको मासु भने अझै बाहिरबाट निर्यात गर्नुपर्ने भएको छ ।