तिहार गीत ‘झिलीमिली तिहार’ बजारमा
काठमाडौं । ‘आयो हजुर देउसी र भैलो’ ‘यही घरमा गर्नलाई रमाइलो’ ‘यही घरमा आएऔँ ज्यान फालेर’ ‘अँध्यारोमा लालटिन बालेर’ नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ । गायक पौडेलको लय र शब्द सङ्कलन रहेको सो गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ । सो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेका हुन्। गीतलाई कपिल लामाले निर्देशन गरेका छन् । गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान चाडका समयमा देउसीभैलो खेल्दै देउसो भट्याउँदै घरबेटीलाई आशिष पनि दिइएको छ । भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले जानकारी दिए।
पशुपति क्षेत्रका बिरुवा संरक्षण गर्न सिभिल बैंकले दियो २०० वटा ट्री-गार्ड
काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री-गार्डहरु उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई उक्त ट्री-गार्डहरु हस्तान्तरण गरेका हुन् । बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री-गार्डहरुको मूल्य करिब ८ लाख रुपैयाँ रहेको छ । सिभिल बैंकले यस अघि पनि पशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री-गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ । उक्त कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पुर्याउन पाउँदा आफुलाई खुशी लागेको कुरा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले वताएका छन् ।
घरमै सामाजिक सुरक्षा भत्ता पाएकी सुकमाया भन्छिन् : बुढेसकालमा खुशी भनेको यही रहेछ
नवलपरासी । नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका-३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुशी छन् । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बसेकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरे । उनी भन्छन्, ‘बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपर्थ्यो, साह्रै गाह्रो हुन्थ्यो ।’ उनी मुटुको बिरामी हुन् । हातगोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उनले बताए । सामाजिक सुरक्षा भत्ता पाउनेमा खुसीभन्दा पनि बैंकमा लाइन बस्नुपर्ने, घन्टौं लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिन स्मरण गर्दै सुकमायाले भने, ‘२०७४ को निर्वाचनपछि जनप्रतिनिधिले घरमै भत्ता ल्याइदिएका छन्, धैरै सहज भएको छ ।’ जन्मजात नै आँखा नदेख्ने ७० वर्षीया भीममाया भुजेललाई बैंकसम्म आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पैदल हिँडेर जानुपर्ने बाध्यता अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन बढी जोखिम भएको भन्दै भीममाया भन्छन्, ‘समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा सुरक्षित महसुस भएको छ, मलाइ निकै खुसी लागेको छ ।’ ७९ वर्षीया सनिसरा थापाको पनि सामाजिक सुरक्षा भत्ता लिन जाँदाको अनुभव पनि भीममायाको जस्तै छ । वर्षामा रुझ्दै होस् वा घण्टौं पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन सम्झन्छन् । उनी भन्छन्, ‘समयसँगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुसी भनेको यही रैछ ।’ वडा नम्बर ३ को वडा कार्यालय राजमार्गदेखि करिब नौ किलोमिटर उत्तरमा पर्दछ । तनहुँ देवघाटको किनारदेखि बुलिङटार गाउँपालिकासम्म सिमाना फैलिएको यस वडामा टाटरीबास, ढोडेनी, गडम्दी, भोकेरफाट हर्दि, केलादी, र मार्के बस्ती रहेको छ । वडावासीलाई आफ्नै वडा कार्यालय पुग्न पनि तनहुँ हुँदै गैँडाकोट आउनुपर्ने बाध्यतामा छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधि आएर भत्ता वितरण गर्दा वडावासी भने निकै खुसी छन् । सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनका लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि बजारसम्म आउनको लागि वडावासीलाई निकै कठिन छ । त्यसमध्ये ज्येष्ठ नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने नागरिक भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने वडाध्यक्षले समाधान गरिदिएकोमा खुसी लागेको ज्येष्ठ नागरिक बताउँछन् । भौगोलिक विकटताका कारण बैंकसम्म आउनका लागि घण्टौंको यात्रा गर्नुपर्ने र बैकमा पनि लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक ज्येष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको वडाध्यक्ष शिवकान्त तिवारीले बताए । वडामा सामाजिक सुरक्षा भत्ता लिने दुई सय ३२ नागरिक छन् । एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौंसमय लाग्ने मात्रै होइन बैंकसम्म आएर घर फर्किदा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म खर्च हुने अवस्था रहेको भन्दै अध्यक्ष तिवारीले भने, ‘वडावासीलाई सहजता होस् भनेर नै २०७४ सालमा निर्वाचित हुँदादेखि सुरु गरेको अभियानलाई अहिले पनि निर्वाचित भएपछि निरन्तरता दिएको छु ।’