बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताए । ती क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उनले लगानीको अभावमा ती क्षेत्र धारासयी बन्न नहुने उल्लेख गरे । अर्थमन्त्री शर्माले परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा जोड दिए । उनले ग्रामीण अर्थतन्त्रको विकास नगरिकन मुलुक आर्थिक रुपमा सबल बन्न नसक्ने स्पष्ट पारे । हालको नीतिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ऋण दिइए पनि त्यसैबाट घर जग्गामा लगानी हुने अवस्था देखिएको भन्दै उनले यस्ता विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ । औद्योगिक र उत्पादनमूलक क्षेत्रलाई दुई प्रतिशत कम ब्याजमा ऋण दिनुपर्छ ।’ आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएको र त्यसका लागि थप लगानी आवश्यक रहेको उनले बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएको लामो समय भएपनि प्रभावकारी नीति, कार्यक्रम र योजना बनाउन नसकेको भन्दै त्यसमा ध्यान दिन आग्रह गरे । गभर्नर अधिकारीले कोषले ऐनले दिएको कार्यक्षेत्रभित्र बसेर दीर्घकालीन योजना बनाएर काम गर्न आग्रह गरे । उनले भने, ‘कोषको काम पैसा सङ्कलन गर्ने मात्रै होइन । अन्य क्षेत्रमा पनि लगानीका लागि काम गर्नुस् ।’ मुलुकको अर्थतन्त्रले आन्तरिक, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको गभर्नरको भनाइ छ । कार्यक्रममा कोषका अध्यक्षसमेत रहेएका राजस्व सचिव रामेश्वर दङ्गालले कोषलाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताए । रासस

नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर छनोट गरेको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले बताए । उनले भने, ‘हामीलाई तीन फिल्म प्राप्त भएको थियो । ऐना झ्यालको पुतली अहिले हामीले खोजिरहेको कलात्मकता बोकेको फिल्म नै हो । त्यसैले हाम्रो निर्णय यसलाई नै नेपालको प्रतिनिधित्व गरेर पठाउने भएको हो ।’ नेपालको ग्रामीण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ भाइको रहरको कथा, दिदीको सपनाको कथा र आमाको सङ्घर्षको कथा हो । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बू, विषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्तालगायतका कलाकारको अभिनय रहेको छ । भाद्र २४ देखि देशैभरको फिल्म हलमा फिल्म प्रदर्शनरत छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्वारा अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म पेस गर्न आह्वान गरिएको थियो । नेपालबाट अस्करको प्रतिस्पर्धामा सामेल हुन् दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को आवेदन प्राप्त भएको थियो । रासस

साफ महिला च्याम्पियनसिप : खेल जिते नेपाली खेलाडीले जनही ५ लाख पाउने

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि जिते खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सरकारले हालै बनाएको नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेल फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ । यस्तै, प्रमुख प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले जनही २ लाख र सो खेलको राष्ट्रिय संघले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका पाँच बजेदेखि सुरु हुनेछ ।