आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

काठमाडौं । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न/गराउन नपाइने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमा नाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा मृत भेटिएकी हुन् । १३ औं साग प्रतियोगिताकी स्वर्ण पदक विजेता चौधरी काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन् । उनी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक  महर्जनको घरमा थिइन् ।

निर्वाचन अवधिमा मदिराको बिक्री वितरण निषेध

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले आसन्न निर्वाचनलाई लक्षित गरी यही वैशाख २७ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ । सो कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभरि मदिरको बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको हाे । कसैबाट मदिराको बिक्री/वितरण वा सेवन गरे गराइएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गर्दै सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स प्रिन्ट र ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउने, श्रव्य दृश्य सामग्री प्रदर्शन गर्ने, बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्ने जस्ता निर्वाचन आचारसंहिता विपरीतका कार्य नगराउन अनुरोध गरेको छ । प्रशासनले माइक वा लाउडस्पिकर प्रयोग गरी सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी राजनीतिक दल वा उम्मेदवारका गीत वा नारा बजाउनेजस्ता कार्यमा प्रतिबन्ध गरिएकाले त्यस्ता क्रियाकलापमा नगर्न/नगराउनसमेत आग्रह गर्दै आचारसंहिता विपरीतका काम गतिविधि भए/गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाइएको छ । चुनावी प्रचारप्रसारका क्रममा विगतका चुनावका बेला व्यापक रुपमा हुने भित्ते लेखन, पम्पप्लेटिङ, माइकिङ जस्ता प्रचारका शैलीहरू यो निर्वाचनमा कम देखिएका छन् । केही दिन यता विभिन्न टोलमा दल वा उम्मेदवारका समर्थकबाट जुलुस प्रदर्शन गर्ने प्रतिस्पर्धा चलेको छ । माइकिङ गर्ने सार्वजनिक स्थलमा झन्डा वा पर्चा टाँस गर्ने, भित्तेलेखनजस्ता कार्य त्यति नदेखिए पनि उम्मेदवारहरूका समर्थकले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटरबाट मतदातालाई रिझाउने आसयका सामग्रीहरूको प्रयोग भने बढाइरहेका छन् । निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्याशीहरू मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मतका लागि अनुनय विनय गर्ने रोचक प्रतिस्पर्धा देखिन थालेको स्थानीय मतदाता नेत्र पनेरुले बताए ।