नमूना मतदानमा बदर मत शून्य
मनाङ । निर्वाचन कार्यालय मनाङको आयोजनामा चामेमा गरिएको नमूना मतदानमा मत बदर शून्य भएको छ । नमूना मतदानमा मत बदर नहुँदा मनाङका मतदान सम्बन्धमा मतदाता सचेत रहेको देखिएको छ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले निर्वाचन कार्यालयले गरेको नमूना मतदानमा कुनै पनि पदमा मत बदर नभएको मतदान अधिकृतको भूमिकामा रहेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार चामे गाउँपालिका–४ स्थित कबर्डहल बाहिर गरिएको नमूना मतदानमा ७८ जना मतदाताले मतदान गरेका थिए । नमूना मतदानमा स्थानीय आमा समूह र स्थानीयवासीको सहभागिता रहेको थियो । निर्वाचन कार्यालका प्रमुख पुष्पराज शर्माले नमूना मतदानले मनाङको सदरमुकाम चामेका मतदाता मतदानका विषयमा सुसूचित भएको देखिएको बताए । तर, अन्य स्थानमा मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार लाग्नुपर्ने उनले बताए । मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाएको देखिएको बताए । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थलसम्म पुग्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो ।
छोराको त्यो ‘एक्शन’ : जसले यादव परिवारलाई लाखौं कमाउने बनायो
काठमाडौं । बैशाखको महिना । घुम्दै फिर्दै विराटनगर पुगियो । बिहानीको समय । गर्मीको महशुस खासै थिएन । हिड्दा हिड्दै विराटनगरको इक्राईस्थित एक फार्ममा पुगियो । टीनले छाएको गोठ । गोठको वरिपरी सिमेन्टको पर्खाल । बाहिर जताततै चोक्कर (गहुँ लगायत मसुरीको भुसी) को बोरा । बाहिर मात्रै नभएर गोठभित्रको केही कुनामा पनि त्यहि । अर्को कुनामा घाँसको थुप्रो । माथि पङ्खा र बत्ती झुण्डिएको । यी सबै जुटाइएको थियो, त्यहाँका केही बथान गाईलाई । कतिवटा रहेछन् ? गन्न थाल्यौं । छुट्टा छुट्टै किलामा बाधिएको थियो, १० वटा माउँ र ९ वटा बाछाबाछी । यिनका वर्दवा (गाईगोरु पाल्ने व्यक्ति) रहेछिन्, लिलादेवी यादव । हामी पुग्दा उनी त्यहाँ थिइनन् । एकछिनमै हस्याङ्फस्याङ् गर्दै आईपुगिन् । ‘डेरी गएको थिएँ’ सोध्न नपाउँदै उनले भनिन् । उनी आफ्नै डेरीबाट आएकी रहेछिन् । यहिबाट हामीले प्रष्ट बुझ्यौं यतिका गाई पालेका यादवको परिवारले आफ्नै डेरी खोलेका रहेछन् । सो डेरी लिलादेवी यादव र उनका कान्छा छोराले सञ्चालन गर्दै आएका छन् । अरुलाई बेच्दा भन्दा आफैले डेरी खोल्दा बढी फाइदा हुने देखिएकोले डेरी खोल्ने विचार आएको चोक्करको बोरामाथि बस्दै यादवले बताइन् । ‘हामीले अरुलाई दुध बेच्दा प्रतिलिटर ६०/७० रुपैयाँ दिन्छ, आफ्नै भयो भने ८०/९० रुपैयाँले बेच्छौं, अरुले बढी मार्जिन खान्छन्, त्यसैले पनि डेरी खोल्ने विचार आयोे,’ उनले भनिन् । यादवको परिवारले दैनिक १०० लिटर दुध बेच्छन् । बिहान ५० लिटर र बेलुका ५० लिटर । जसबाट मासिक ३ लाख रुपैयाँ आम्दानी हुन्छ । त्यसमा २ लाख रुपैयाँ दानापानी लगायत चोक्करमा खर्च हुन्छ । बाँकी १ लाख रुपैयाँ बच्ने गरेको यादवसँगै बसेका लिलादेवीका श्रीमान्ले खुसी हुँदै भने । उनीहरुले गाई पाल्नुभन्दा अघि भैसी पालन गरेका थिए । पहिला १०/१२ वटा भैसी पालेका यादवको दम्पत्तिले छोराको कारणले गाई पाल्न थालेको बताए । ‘भैसीलाई बढी दानापानी लाग्छ, खर्च बढी हुन्छ, भैसी होइन गाई पालौं भनेर छोराले भनेपछि गाई पाल्न थालेका हौं,’ यादवले बताइन् । यादवलाई गाई पाल्न गाह्रो छैन । गाईलाई खुवाउनको लागि घाँस किन्नु पर्दैन । आफूसँग भएको जग्गामध्ये एक विघा जग्गामा सिजनअनुसारको घाँसहरु लाउने गरेकोले पनि घाँसको समस्या नहुने उनी बताउँछिन् । यदि घाँसको समस्या पर्दा भने चोक्कर (गहुँ लगायत मसुरीको भुसी) किनेर ल्याउने गरेका छन् । यादवले पालेको गाईको गोबरबाट हुने मल पनि खेर गएको छैन । सो मल जीवन विकास लघुवित्तले किन्ने गरेको उनले बताइन् । यादवको परिवारले एक ट्याक्टर मल बेच्दा एक हजार रुपैयाँ आम्दानी गर्छन् । दिनमा ३ ट्याक्टर मल बेच्ने उनीहरुले मल बेचेर मात्रै दैनिक ३ हजार रुपैयाँ र मासिक ९० हजार रुपैयाँ आम्दानी गरेका छन् । ‘गाईको गोबर पनि खेर जाँदैन, जीवन विकासले किन्छ, हामीले प्रति ट्याक्टर एक हजार रुपैयाँमा मल बेच्ने गरेका छौं, दैनिक ३ हजार आम्दानी हुन्छ’ उनले भनिन् । जीवन विकासले उक्त मल किनेर आफ्नै अर्गानिक खेतीमा हाल्ने गरेको छ । संस्थाले यादवको घरबाट मात्रै नभई यादवजस्ता विभिन्न पशुपालककोबाट मल किनेर खेतीमा हाल्ने गरेको लघुवित्तको जिल्ला इञ्चार्ज मैयाँ राई बताउँछिन् । उक्त खेतीमा सागसब्जी लगायत मौसम अनुसारको विभिन्न फलफूलहरु लगाउने गरेको उनको भनाइ छ । साथै, गाई बिरामी भएको अवस्थामा भेट्नरिका डाक्टरहरु सजिलै पाउने गरेको पनि यादव बताउँछिन् । साथै, जीवन विकासले पनि अब यो महिनादेखि नै आफ्नो ग्राहकहरुको पशुपालन तथा कृषि क्षेत्रमा निःशुल्क परामर्श तथा औषधोउपचारको सुविधा प्रदान गर्ने संस्थाका सिनियर अफिसर मनोज कुमार शर्माले बताए । त्यस्तै, यादवले सबै गाईको बीमा गरेका रहेछन् । कथम्कदाचित् गाई मर्दा पनि यादवको परिवारले त्यसको क्षतिपूर्ति अर्थात बीमा दावी पाउने गरेको दपत्तिले सुनाए । ‘हाम्रो हालै एउटा गाई क्यान्सरका कारण मर्यो, त्यसको बीमा रकम पाइसक्यौं,’ लिलादेवीको श्रीमानले भने । यो सेवा सुविधा जीवन विकास लघुवित्तका हरेक सदस्यले पाउने गरेका रहेछन् । आफ्ना सदस्यहरुले पालेका पशुहरु मर्यो भने पनि संस्थाले उनीहरुलाई ९० प्रतिशत बीमा दावी भुक्तानी गर्ने गरेको शर्माले बताए । करिब ४० वर्ष उमेरकी लिलादेवी यादव लघुवित्तको पुरानो सदस्य हुन् । कूल २६० वटा केन्द्र रहेको जीवन विकासको विराटनगर शाखा कार्यालय इक्राई जीवन विकास केन्द्र नं ३९ की एक सदस्य हुन् यादव । सदस्य बनेको १५ वर्षसम्म आइपुग्दा उनले संस्थाबाट हाल ६ लाख रुपैयाँसम्म ऋण पाएकी छिन् । त्योभन्दा अघि उनी कुनै पनि संस्थामा आवद्ध थिइनन् । गाई पाल्नुअघि भैसी पाल्दा पनि उनले जीवन विकासबाट पहिलो ऋण लिएकी थिइन् । त्यो बेला १०/१२ हजार रुपैयाँ बराबरको ऋण गाह्रो पर्ने यादवलाई अहिले लघुवित्तले ६ लाख रुपैयाँसम्मको ऋण पत्याउन थालेको छ । साथै, जीवन विकासले दिएको पैसाले नै डेरी खोल्न हिम्मत आएको समेत उनले बताइन् । ‘पहिला दुःख थियो, अहिले गाई पालन गरेर उन्नति भएको छ, जीवन विकासले गर्दा नै डेरी खोल्न सजिलो भएको हो, धेरै राम्रो चलेको छ, जीवन निकै सहज भएको छ,’ खुशी हुँदै लिलादेवीले भनिन् । हाल यादवलाई परिवार पाल्न धेरै नै सजिलो भएको छ । उनले गाईभैंसी पालनबाटै ५ जना छोराछोरीको विवाह पनि गरिसकेकी छिन् । ‘गाईभैंसी पालेर नै छोराछोरीको बिहे गराएँ, ८/१० लाखको तिलक (दाईजो) दिईयो, ऋण लागेन,’ आश्वस्त हुँदै उनले भनिन्, ‘लकडाउन भयो, गाउँका सबैलाई ऋण तिर्न गाह्रो भयो तर, मलाई कहिल्यै अफ्ठ्यारो भएन ।’ यादवको २ छोरामध्ये जेठा छोराले विदेशको अनुभव बटुलेका छन् । तर, उनी पनि अहिले स्वदेशमै फर्केर केही व्यवसाय गरेरै अहिले घर जग्गा किनेर छुट्टै (अंशबण्डा गरेर) बसेका छन् । १० कक्षासम्म पढेका उनका कान्छो छोरो पनि विदेश जाने तयारीमा थिए । भिसा लागिसकेको थियो । पछि उनले मुड परिवर्तन गरे र नेपालमै बस्ने सोच बनाएका हुन् । ‘कान्छो छोरो विदेश जान तयार भएको थियो, भिसा पनि लागिसकेको थियो, पछि के भयो, विदेशमा भन्दा नेपालमै बढी कमाइन्छ भन्दै काठमाडौं पुगेर फर्केर आयो,’ यादवले सुनाउँदै उनले भनिन्- ‘छोरोले गर्दा यो अवस्थामा पुगेका हौं, धेरै सहज भएको छ, व्यवसाय फस्टाएको छ, डेरी राम्रो चलेको छ ।’
यसरी ठगी हुन्छ सामाजिक सञ्जालमा : ९ महिनामा ८ करोड ठगी
काठमाडौं । नेपालमा फेसबुक, भाइबर, अनलाइन बैंकिङ, ह्वाट्स एप, ट्विटर र टिकटकजस्ता डिजिटल प्लेटफर्म थाहा नपाउने कमै होलान् । अझ धेरैले प्रयोग पनि गरिरहनु भएको होला । यस्ता डिजिटल प्लेटफर्महरू कुनै मनोरञ्जनका लागि बनेका हुन् । कुनै सूचनाका लागि । कुनै डिजिटल कारोबारका बनेका डिजिटल प्लेटफर्म हुन् । फरक–फरक प्रायोजनका लागि प्रविधिहरू बने पनि ठगी हुने कारण भने लगभग एउटै रहेको प्रहरी अनुसन्धानले देखाउँछ । ‘एकजना ग्यारेजमा काम गर्ने भाइ थियो, उसलाई चिठ्ठा परेको भनिएछ र चिठ्ठाको रकम लिन कर तिर्नु भनिएछ, त्यो भाइले पनि रकम कसैको बैंक खातामा हालिदिएछ, तर उसले रकम नपाएर ठगीमा परें भन्दै यहाँ आयो,’ नेपाल प्रहरीको अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला सुनाउन लागे –अनुसन्धानको क्रममा के पत्ता लाग्यो भने भाइ सामाजिक सञ्जालमा एक अपरिचितसँग चिनजान भएपछि जागिरको लोभमा आफ्नो खाताबाट कारोबार गर्न दिएको देखियो ।’ प्रहरीका अनुसार उसको अपराध गर्ने नियत होला/नहोला तर उसको खाताबाट कारोबार भएकोले उसको संलग्नता देखिन्छ । प्रहरीका अनुसार ग्यारेजवाला भाइको अपरिचित साथी नेपाली नभएर पाकिस्तानी हो । पाकिस्तानीले केही दिनको बोलचाल पछि जागिर दिने आश्वासनमा चारवटा खाता खोल्न लगाउछ । काम केही गर्नै नपर्ने । खातामा पैसा जम्मा भइरहने र मासिक २० हजार आफ्नो तलब कटाएर बाँकी मैले भनेको ठाउँमा जम्मा गर्नु भनेर ती पाकिस्तानीले पैसा जम्मा गर्ने गरेको रहेछ । ‘म नेपालमा व्यापार गर्छु, व्यापारको रकम जम्मा गर्नु भनेर ती ग्यारेजवालालाई प्रयोग गरेका छन्, ग्यारेजवालाको आफ्नै खाताबाट कारोबार भएकोले ग्यारेजवाला भाइ दोषी हुन्छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने । त्यस्तै, एक जनाको नागरिकता र फोटो प्रयोग भएको बैंक खाताबाट कारोबार भइरहेको छ । तर, जो कागजातमा संलग्न छन् उ न बैंक पुगेको छ न हस्ताक्षर नै आफूले गरेका छन् । तर उसको खाताबाट कारोबार भइरहेको छ । त्यस्ता खाताहरू पछिल्लो समय मौलाउँदै गइरहेको क्रिप्टोकरेन्सीजस्ता कारोबारसमेत अपराधीहरूले प्रयोग गरिरहेका छन् । जब प्रहरीकहाँ मुद्दा दर्ता हुन्छन् तब डिजिटल अपराधका खेलाडीसम्म पुग्न मुस्किल हुन्छ भने साधारण व्यक्ति फस्छन् । प्रेम सम्बन्ध पनि अचेल आर्थिक नोक्सानीको कारक बन्न थालेको छ । यस्तै, एउटा विषय प्रहरीको साइबर व्युरो हुँदै अपराध महाशाखासम्म पुगेको छ । एउटा उदाहरण यस्तो छ, केटा केटीबीच प्रेम बसेपछि म्यासेन्जरबाट कुरा हुन्छ । भेटका प्रेमिल क्रियाकलापहरू मोबाइलमा कैद गरिएको हुन्छ । केटा र केटीबीच राम्रो सम्बन्ध हुँदासम्म गोप्य राखिने भिडियो र फोटो जब सम्बन्ध बिग्रिन्छ, तब सामाजिक सञ्जालमा धम्की दिने र पैसाको बार्गेनिङ गर्नेजस्ता उजुरी प्रहरीसँग दर्ता हुन्छ । ‘फेसबुकमार्फत् हाम्रो चिनजान भयो, बेलाबखत भेटघाट हुन थाल्यो, सम्बन्ध नजिकिँदै जाँदा सहमतिमै शारीरिक सम्बन्ध पनि रह्यो, फोटो पनि खिच्यौं,’ पीडितले प्रहरी समक्ष भनेकी छन् । प्रहरीका अनुसार पीडित विवाहित हुन् । उनीहरूको सम्बन्धबारे श्रीमान् र परिवारका सदस्यले थाहा पाएपछि उनी ती परसम्बन्धबाट टाढा रहन चाहन्छिन् । तर, केटाले धम्की दिने र मोबाइलबाट फोटो हटाउनै परे पैसा दिनु भन्दै बार्गेनिङ गर्न थाल्छ । धम्की, बदनाम, बेइज्जती नरोकिने भएपछि महिलाले प्रहरीमा उजुरी दिन्छिन् । प्रहरी अनुसन्धानको क्रममा खुलेका यस्ता तथ्यले के देखाउँछ भने समयअनुसार आएका प्रविधिलाई सदुपयोग गर्न जानिएन र सकिएन भने वा आफन्त वा प्रेमको नाममा हदभन्दा बढी विश्वास गर्दा फस्न सकिन्छ । साथै आफूले आफ्नो परिचय खुल्ने कुनै डकुमेन्ट अरूलाई दिँदा सहजै अरूले अपराध गरिरहने र मुद्दा पर्दा आफू फस्ने भएकोले यसबारे सजग रहन प्रहरीको आग्रह छ । डिजिटल प्लेटफर्म प्रयोग गरेर अपराध गर्नेहरूले तपाईका सबै डाटा अध्ययन गरिरहने भएकोले आफ्नो नामबाट अरूलाई सिम निकाल्न, आफ्नो नामबाट अरूलाई बैंकिङ कारोबार नगराउन र आफूले प्रयोग गरेका कुनै पनि सामाजिक सञ्जालको पासवर्ड जस्ता गोप्य विवरणहरू कसैलाई नदिन प्रहरीको सुझाव छ । यसले आफू संलग्न नभए पनि आफू फस्ने भएकोले सजग हुनुको विकल्प नरहेको प्रहरीको भनाइ छ । चालु आर्थिक वर्षको साउनदेखि यता प्रहरीमा करिब ८ करोड रुपैयाँ ठगीका उजुरी परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एवं प्रहरी उपरीक्षक कोइरालाका अनुसार विभिन्न शीर्षकमा ४२१ वटा आर्थिक रुपमा ठगिएको भन्दै उजुरी परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकअनुसार चिठ्ठा परेको छ भन्दै ठगी ८२ वटा, विदेशबाट पार्सल पठाइदिन्छु भनी ठगी ६३ वटा, मोबाइल किन्न भन्दै ठगी ५७ वटा, फेसबुक ह्याक गरी ठगी ५० वटा, बैंक खाताको ओपीडी कोड मागेर ठगी २२ वटा र इसेवा भनी ठगीका २१ वटा उजुरी परेका छन् । त्यस्तै, अनलाइनबाट रोजगारी दिन्छु भनी ठगी १० र अन्य विविध प्लेटफर्मबाट ठगी १०८ वटा गरी ४२१ वटा उजुरी परेका प्रहरीले जानकारी दिएको छ । उक्त ४२१ पीडितहरूबाट ७ करोड ८७ लाख ७९ हजार ४९७ रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको हो । सबैभन्दा धेरै गत मंसिरमा मात्र दुई करोड ८० लाख ठगीका उजुरी परेको थियो । प्रहरीले अनुसन्धान जारी राखेको छ भने ४७ अनुसन्धानको किनारा लगाउदै ६९ लाख ३० हजार ३९० रुपैया रकम असुल गरेको छ । ‘कारोबार भएको डिभाइससम्म प्रहरीको पहुँच पुग्दैन, दर्जनौ सामाजिक सञ्जाल प्रयोग हुन्छ तर नेपालमा एउटाको पनि सम्पर्क कार्यालय छैन । एक्लो प्रयासबाट अनुसन्धान जटिल र ढिला हुन्छ,’ अनुसन्धानमा किन प्रहरी कमजोर देखियो भन्ने प्रश्नमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कोइराला भन्छन् । प्रहरीका अनुसार धेरैजसो अपराध विदेशबाट हुने र त्यसको अनुसन्धानका लागि विदेशी निकायसँग समन्वय गर्दा ढिला भएको हो । साथै समन्वय गर्दा नीतिगत समस्यका कारण पनि समस्या भएको हो । नेपालबाटै हुने अपराधमा पनि वास्तविक अपराधीसम्म पुग्न धेरै समय लाग्छ । किनकि अपराधिहरूले आफ्नो नामको वाइफाइ प्रयोग नगर्ने, आफ्नो नामको सिम प्रयोग नगर्ने र इसेवा तथा बैंक खाता पनि अर्कैको प्रयोग गर्ने भएकाले सोझासिधा फस्ने तर ठगी प्रकरणमा संलग्नहरू उम्किने समस्या छ । नेपालको कमजोर नीति र व्यवस्थाका कारण अरूको नाममा सबै डकुमेन्ट लिन र प्रयोग हुने गरेकोले नीतिगत असहयोग भएको प्रहरीको भनाइ छ । प्रहरी संगठनभित्र डिजिटल प्रविधिमा दक्ष जनशक्ति नभएकोले पनि समस्या भएको छ । अनलाइन वा विभिन्न सामाजिक सञ्जालबाट ठगी हुँदा गरिने कार्वाहीसम्बन्धी ऐन कानून पनि नबनेको प्रहरीले भनाइ छ । अहिले प्रहरीले यस्ता प्रकृतिका मुद्दा बैंक तथा वित्तीय संस्था ऐन २०७५ अनुसार अनुसन्धान र कारबाही गरिरहेको छ । ऐन नबनेकै कारण यो ऐनको आधारमा काम कारबाही गरिरहेको प्रहरीले जनाएको छ । यसरी पछिल्लो ९ महिनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरी र अनुसन्धान हेर्ने हो भने ठगी हुने कारण एउटै हो, प्रयोग गर्न नजान्नु । त्यसैले आफ्नो नागरिकता प्रयोग गरी अरूलाई सिम निकाल्न नदिन, इसेवा, बैंक खाता खोल्न नदिन र श्रमभन्दा बढी आम्दानी हुने काममा हात नहाल्न प्रहरीको सुझाव छ । त्यस्तै, फेसबुकको पासवर्डमा मोबाइल नम्बर, जन्ममिति, आमाबुबाको नाम, जन्मस्थान, कलेजको नाम आदी प्रयोग नगर्न तथा प्रेम वा आफन्तको नाममा हदभन्दा बढी विश्वास गरेर अश्लिल फोटो वा भिडियो नखिच्न पनि प्रहरीको सुझाव छ ।