आकृतिभित्रको त्यो ‘बाल नयन’
काठमाडौं । एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका छन् । उनको बालनयनले त्यो चिज अरुले नै उपयोग गरिरहेका अनुभूति गराउँछ । त्यसैले पिलपिलाउँदो नजर त्यही चिजमा एकोहोरिएका हुन्छ । चारकोलका माध्यामबाट पाटन सुन्धाराकी लक्षता श्रेष्ठ सिर्जना गरेको उक्त चित्रले हाम्रो समाजको बालमस्तिष्कलाई गहिरोरुपमा छोएको छ । हाम्रो समाजमा पारिवारिक हिंसालगायत कारणले बालबालिका सडकमा पुग्ने गरेका र त्यसपछि उनीहरुकोे जीवनमा आइपर्ने उतारचढावलाई चित्रकार श्रेष्ठले कलाका माध्यामबाट जीवन्त देखाउने प्रयास गरेका छन् । न्यूनतम आवश्यकताबाट वञ्चित बालकको आँखामा झल्किएको अपेक्षालाई उहाँले चारकोलका माध्यामबाट क्यान्भास रङ्ग्याए । उक्त चित्र नवौं वार्षिकोत्सवका अवसरमा पाटन मङ्गलबजारको द प्रिसियस आर्टस्ले नेपाल कला परिषद्मा ‘आकृति’ शीर्षकमा आयोजना गरेको कला प्रदर्शनी समावेश छ । सानो उमेरका बालबालिकालाई आमाबुबाको माया चाहिन्छ, यो समयमा उनीहरुको हाँस्ने, खेल्ने तथा शिक्षा आर्जन गर्ने हो । तर ती सब कुराबाट बञ्चित एक बालक कुनै एउटा डोरीको छेकबार बाहिरको छिद्रबाट चिहाइरहनु सामान्य कुरा होइन । तर उक्त चित्रले जे नहुनु थियो त्यो भइरहेको छ भनेर बालमस्तिष्कमार्फत देखाइरहेको छ । हाम्रो नेपाली समाजमा भइरहेका घटनालाई चित्रमा उतार्ने श्रेष्ठले भने, “आधारभूत आवश्यकतासमेत नपाएको बच्चालाई ती कुरा प्राप्त होस्, आम नागरिकको जस्तै जीवन चल्न सकोस् भन्ने सन्देश दिन खोजेकी हुँ ।” यसका अलावा उनले मण्डला, नेपाली सांस्कृति, नेपाली जनजीवनका साथै जीसस क्राइष्टकी आमा मेरी तथा शान्तिको सन्देश दिनका लागि बुद्धको आकृतिका चित्र पनि समावेश गर्नुभएको छ । पहिलो प्रदर्शनी भएकाले निक्कै खुसी लागेको पनि उनले सुनाए । उनी मात्रै होइन कला क्षेत्रका नौँ विद्यार्थीका ४२ चित्र यहाँ प्रदर्शनीमा राखिएको छ । अर्का विद्यार्थी सञ्जना महर्जनले सुपरहिरोका माध्यमबाट गलत प्रवृत्तिविरुद्ध प्रहार गर्न खोजेका छन् । जसरी चलचित्रमा नागरिकको जीवनरक्षामा अभिनेताको भूमिका हुन्छ, सुपरहिरोलाई पनि त्यहीरुपमा प्रस्तुत गरेको छ, उनले । त्यतिमात्रै होइन कुमारी, एक आमा र बच्चामार्फत सामाजिक सचेतना जगाउने प्रयास पनि उनको छ । व्यवस्थापन पढ्दै गरेकी शान्ति थापा पनि अहिले कला सिक्दै छन् । उनले पनि संयुक्त प्रदर्शनीमा पहिलो अवसर प्राप्त गरेका छन् । उनले मण्डला, डट आर्टका साथै महिला हिंसा विरुद्धलगायतका विभिन्न आठ सिर्जनाले क्यान्भास सजाएका छन् । प्रदर्शनीमा शर्षिस तण्डुकारका दुई वटा चित्र प्रकृति संरक्षणका बारेमा छ । मानव र वनको अन्तरसम्बन्ध तथा जङ्गलको अवस्थालाई उनले चित्रण गर्नुभएको छ । “हामीले प्रकृतिको गति देख्न नसके पनि उसले आफ्नो गतिमा काम गरिरहेको छ, हामीले प्रकृतिलाई नदेखे पनि उसले हामीलाई देखिरहेको छ हेप्नुहुन्न, यही हो थिम”, तण्डुकारले भने । अर्का विद्यार्थी सम्प्रेशणा शाहीले चित्रमार्फत धार्मिक, पारिवारिक मायाका साथै शान्तिका सन्देश छरेका छन् । उनका सिर्जनामा ह्वेलको माध्यामबाट सकारात्मक सन्देश र आशावादी हुन सिकाएको छ । सरोज खत्रीले परम्परागत यथार्थवादी चित्रहरु राखेका छन् । यहाँ उनका चार चित्र प्रदर्शनमा छन् । नरदेवीमा भएको जात्रालाई प्रतिनिधित्व गर्दै कुमारीको आकृति आकर्षक देखिन्छ । भक्तपुरको गोल्डेनगेटको तोरणसहितको तलेजु भवानी र भैरवको आकृति पनि प्रदर्शनीमा देख्न सकिन्छ । यहाँ विद्यार्थीका अधिकांश कला सिर्जनालाई चारकोलमा रङ्ग्याइएको छ । त्यसमा खत्रीले सुनौलो रङ देखाउन एक्रेलिक मिसाएर सुन्दरस्वरुप दिएका छन् । प्रदर्शनीमा नौ विद्यार्थीका ४२ राखिएका छन् । प्रकृति, परम्परागत तथा धार्मिक सांस्कृतिक एवम् जनजीवनसँग सम्बन्धित सिर्जना यहाँ राखिएका छन् । बिहीबारदेखि सुरु भएको उक्त प्रदर्शनी सोमबारसम्म चल्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा इरिना ताम्राकार, गिरिश विक्रम राज बज्राचार्य, लक्ष्यता श्रेष्ठ, शान्ति थापा, सञ्जना महर्जन, सरोज खत्री, सर्सिस तन्डुकार, सुम्या तिमिल्सिना, सम्प्रेषणा शाही, सुरभी तण्डुकार र सचिन राज बज्राचार्यका कलाकृति समावेश छन् । प्रदर्शनीको अवलोकन पछि सांसद सुजिता शाक्यले भने, “कला राष्ट्रको गहना हो, मान, शान, गौरव पहिचान र संस्कृतिको धरोहर हो, कलाकारिता प्रकृति र मानव चेतनाको अमूल्य चिज पनि हो ।” विश्वमा आज नेपाल भनेर चिनिनुमा राष्ट्रका कलानिधिका मत्वपूर्ण योगदान रहेको उनले सुनाए ।
जग्गाले उब्जनी दिन छाडेपछि माटो बेच्न बाध्य किसान
भजनी । कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षातमा काढा नदीको डुबान र बाढीका कारण धानखेती गर्न मात्रै हुन्छ त्यसबाट आम्दानी लिन कर्णेलसिंहले लिन सकेका छैनन् । कर्णेलसिंहलाई परिवार पाल्नका लागि त्यहीँ तीन बिघा जग्गा नै प्रमुख आधार हो । डेढ दशक पहिले कर्णेलसिंहले त्यहीँ खेतबाट मनग्ये आम्दानी गर्दै आएका थिए । तर अहिले त्यहीँ खेतमा कुनै अन्न उत्पादन नभएपछि उनले त्यो क्षेत्रबाट माटो बेचेर आर्थिक जोहो चलाउन थालेका छन् । कान्द्रा नदीको किनारमा रहेको खेतमा बर्सेनि नदीको बाढीका कारण वर्षातमा खेत नै बगर बन्ने गरेको छ । अहिले खेतमा अन्न उब्जाउन नसकिने भएपछि परिवारको जोहो चलाउनकै लागि कर्णेलसिंहले खेतको माटो बेच्नुपर्ने बाध्यता आएको हो । कर्णेलसिंहले तीन बिघा खेतबाट ५०० का दरले २३० टिपर माटो बिक्री गरे । त्यसबाट उनले एक लाख १५ हजार आम्दानी गरे । उनलाई घरको आर्थिक जोहो टार्नका लागि नै खेतको माटो बिक्री गर्नुपरेको हो । त्यस क्षेत्रमा माटो बेच्नेमा कर्णेलसिंह एक उदाहरण मात्रै हुन् । हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ सत्तीदेखि धनगढीसम्म निर्माण हुँदै आएको सडकका लागि निर्माण कम्पनीले किसानको खेतबाट माटो उठाउन थालेपछि अधिकांश किसानले नदीको किनारसँग जोडिएका खेतको माटो बिक्री गर्न बाध्य भएका छन् । थोरै भए पनि आम्दानी हुने र त्यसैबाट खाद्यान्नको जोहो गर्न थालेको भजनी–५ का विमलबहादुर साउद बताउछन् । भजनी नगरपालिका चार नदीको बीच भागमा रहेकाले पनि बाढी र डुबानको समस्याका कारण भजनीका स्थानीय आजित बनेका छन् । विशेषगरी काढा, कन्द्रा, मोहना र पथरैया नदीको जोखिमका कारण स्थानीय वर्षात्का समयमा नदीका कारण हुने डुबान र कटानले वर्षेनी विस्थापित हुँदै आएका छन् । निर्वाचनका समयमा नदीको तटबन्ध निर्माण गर्ने एजेन्डा प्रत्येक राजनीतिक राजनीतिक दलले उठाउँदै आएको भए पनि त्यसको कार्यान्वयन कसैले नगरेको जनाउँदै भजनी–३ का सर्जन साउदले यसपटक भने एजेन्डा नभई काम गर्नसक्ने क्षमता भएको व्यक्तिलाई मतदान गर्ने बताए । हुलाकी सडकको काम माटोको अभावमा रोकिएको भए पनि अहिले किसानले खेतबाट माटो उत्खनन गर्न दिएपछि कामसमेत सञ्चालन भएको छ । नदी किनारबाट माटो उत्खननको काम बन्द भएको र स्थानीय तहले सहजरूपमा माटो उत्खनन गर्न नदिएपछि सडकको काम रोकिएको हो । माटोको अभाव हुन थालेपछि सडक निर्माणको काम समयमै सम्पन्न गर्न नसकिने निर्माण कम्पनीले बताउँदै आएका छन् ।
किसानलाई ५० प्रतिशत अनुदानमा चल्ला वितरण
बागलुङ । वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए । १०० रुपैयाँ पर्ने चल्लालाई किसानले ५० तिरेका थिए भने वडाले ५० अनुदान दिएको थियो । समितिले गाउँटोलसम्मै पुगेर किसानलाई चल्ला बाँडेको थियो । वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यवसाय गरिरहेका किसान पनि छन् । अध्यक्ष सापकोटा आफैं पनि व्यावसायिक कुखुरापालक हुन् । समितिले अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैंसीको बीमाका लागि किसानलाई सघाएको छ । एउटा भैंसीको अधिकतम् एक लाख १५ हजारसम्म मोल गरी बीमा गरिएको छ । गाईभैंसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् । वडाको बजेटमध्ये पुश बीमामा ६८ हजार खर्च भएको समितिले जनाएको छ । त्यति नै रकम किसानले पनि हालेका छन् । कूल बीमा रकममा किसानले वर्षेनि आफ्नो दायित्वबापतको पैसा तिर्नेछन् । वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । एउटै भैंसीको मृत्यु भए किसानलाई झण्डै एक लाख क्षति हुने हुँदा बीमाले त्यसको जोखिम घटाउने समितिको भनाइ छ । व्यावसायिकरूपमा पशुपंक्षीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकहरूले बीमा खोज्ने गरेको किसानहरू बताउँछन् । सरकारले कृषि तथा पशुबीमा कार्यक्रम ल्याएपछि व्यावसायिक फार्महरूलाई बढी टेवा पुगेको छ । कुनै कारणले व्यवसायमा क्षति पुगेमा बीमाबाट सोको क्षतिपूर्ति मिल्छ ।