कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि
काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन् । ११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भए पनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् । काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक जोडेका थिए । बाबु प्रतियोगिताको उपविजेता बने । नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरे । अशोकले ४२ अंक जोडेका थिए । बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंक जोडे । काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधि जिते । काउन्ट ब्याकमा दोङले १९ अंक जोडेका थिए भने छिरिङ र धोन्डुपले समान १७ अंक जोडेका थिए । मेजर जनरल नरेन्द्र रावलले ६० वर्षमाथि उमेर समूहको उपाधि जिते । उनले ३९ अंक जोडेका थिए । दोस्रो स्थानमा रहेका भैरवराज पाण्डेले ३८ अंक जोडेका थिए । महिलातर्फको उपाधि भने प्रतिभा राईले जितिन् । राईले ३८ अंक जोडेकी थिइन् । दोस्रो स्थानमा हासिल गर्न सफल कश्मिरा शाहले ३७ अंक जोडिन् । हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिमखडाले ३७ अंक जोड्दै उपाधि जिते । वाङचेन धोन्डुपले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । त्यस्तै, लङ्गेस्ट ड्राइभको उपाधि दावा जे शेर्पाले जिते । क्याप्टेन नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । शेर्पाले सबभन्दा धेरै ५ बर्डिज खेलेका थिए । हुन्डाई करको नेपालमा आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगिता १८ होलमा खेलाइएको थियो । १५५ गल्फरले स्टेबल फोर्ड फरम्याट र ३ बाई ४ ह्यान्डी क्यापमा खेलेका थिए ।
स्किल विक तेस्रो संस्करणका लागि आवेदन खुला
काठमाडौं । ग्लोकल आफ्टर स्कुलको आयोजनामा स्किल विक कार्यक्रमको नयाँ संस्करणअन्तर्गत आवेदन खुला भएको छ । उक्त स्किल विकमा विभिन्न सीपमूलक तालिमहरूलगायत कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरन्जनलाई मध्यनजर गर्दै विभिन्न आयाम प्रस्तुत गर्ने स्कुलले जनाएको छ । रोजगारीका अवसर, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्त्व उजागर गर्ने लक्ष्य लिई यही मार्च २१ देखि २७ सम्म स्किल विकको आयोजना हुने भएको हो । १६ देखि ३० वर्षसम्मका नागरिकले कार्यक्रममा निशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन । स्किल वीकमा सहभागी युवाहरुलाई विभिन्न सीपका बारेमा अन्वेशन गर्न, आफू संलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । २७ मार्चमा हुने समापन समरोहलाई लक्षित गरेर वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम ‘सीईवो अनप्लग्ड २०२२’ सञ्चालन गरिने आयोजकले जनाएकव छ ।
हराएका कलात्मक सम्पदा बेलायतद्वारा हस्तान्तरण
काठमाडाैं । संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सामग्री हस्तान्तरण गरेकाे हाे । नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा सोह्रौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको ढुङ्गाको मूर्ति समावेश छ । सन् १९८०–१९९० को दशकमा काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट तोरन हराएको थियो । घुँडा टेकेको भक्तको मूर्ति ओम बहाल नजिकैको मञ्जुश्री मन्दिरको भएको लण्डनस्थित दूतावासले जनाएको छ । कार्यक्रमा राजदूत आचार्यले नेपालका हराएका कलाकृतिको पुनःप्राप्तिमा संलग्न महानगरीय प्रहरी र कला तथा पुरातात्विक वस्तु एकाइका सबै पदाधिकारीप्रति कृतज्ञता ज्ञापन गर्दै हराएको सांस्कृतिक सम्पदाको पुनःस्थापना र पुनःस्थापनाका लागि नेपालको राष्ट्रिय प्रयासमा महानगरीय प्रहरीको सक्रिय र विचारशील सहकार्यले सकारात्मक योगदान दिएको बताए । गुप्तचर निरीक्षक रोचले महानगरीय प्रहरी कला तथा पुरातात्विक एकाइले यी दुई बहुमूल्य सम्पदा बरामद गर्नमा आफ्नो भूमिकामा गौरवान्वित भएको र नेपाल फर्काउन पाउँदा खुसी लागेको बताए । चोरी हुनुअघि स्थितिमा फोटो खिचिएका कारण तिनलाई पत्ता लगाउन र वास्तविक मालिकलाई हस्तान्तरण गर्न सहयोग पुगेको बताए । ती सामग्री नेपाल सरकारलाई पुरातत्व विभागमार्फत शीघ्र हस्तान्तरण गरिने पनि उक्त दूतावासले जनाएको छ ।