निषेधाज्ञामा पनि वाग्मती सफाइ महाभियान जारी
फाइल फाेटाे काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औं हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा वाग्मती सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवम् अभियानकर्मी डा माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । सफाइमा काठमाडौं महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अधिकार सम्पन्न वाग्मती समितिका सरस्वती निरौलाको सक्रियता थियो । सफाइका क्रममा पशुपति क्षेत्रमा फोहर देखिएको अभियानकर्मी खरेलले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषमा धेरै सफाइकर्मी कर्मचारी भए पनि पशुपति क्षेत्र भने सफाइ हुननसकेको अभियानकर्मीको टिप्पणी छ । खोलाभित्र प्रवेश गरेर तीन अभियानकर्मीले सफाइ गरेका थिए । यसैगरी अभियानकर्मी डा लक्ष्मी पोडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । करिब सात जनाको सहभागितामा भएको सफाइमा अभियानकर्मी प्रिया लामिछानेको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षरोपणसमेत गरिएको थियो । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती नदी क्षेत्रमा सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले गोठाटार पुलमुनिको साकुरा बगैँचा क्षेत्रमा सफाइ गरेको छ । सबै सफाइ अभियानका भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाड पर्व, वर्षा, जाडो, भूकम्पको त्रास, कोरोना महामारीका बेलासमेत निरन्तर जारी छ । यसैगरी तिलगङ्गालगायत अन्य क्षेत्रको सफाइ अभियान भने आज टोल, घर, आँगन सफाइ गरी सम्पन्न गरिएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी हुँदा नदी किनार नजिक निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएका थिए । नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने टोल, घर, आँगन सफाइ गरी अभियानलाई निरन्तरता दिनुभएको थियो । वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियान पनि शुरु गरिएको छ । सहायक नदीमा पनि आज किनार नजिक निवास भएका अभियानकर्मीले निरन्तरता दिएका जनाइएको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर मुख्य शहर, प्रमुख नदी र सांस्कृतिक सम्पदास्थल क्षेत्रमा सफाइ अभियान जारी छ । रासस
बजार स्यानिटाइज गरेर बज्रयोगिनीको मूल जात्रा गर्दै
फाइल फोटो काठमाडौं । बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु बजार क्षेत्रमा स्यानिटाइज गरेपछि बज्रयोगिनीको मूल जात्रा गरिएको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए । स्यानिटाइज गरी नाथ सम्प्रदायका योगी पूजा गरेपछि खटलाई बोकेर साँखु क्षेत्र घुमाइएको छ । चैत्र शुक्ल पूर्णिमादेखि शुक्रबारको मूल जात्रा अघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन बज्रयोगिनी माईलाई पूजा आराधना र दर्शन गर्ने चलन छ । जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाच लगायत नकारात्मक तत्वलाई पन्छाउने विधि समेत आज पूरा भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो । जात्रा वैशाख शुक्ल अष्टमी अर्थात् वैशाख २१ गतेसम्म जारी रहने जनाइएको छ । राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगित गरिएको थियो । जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको, चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजर समेत वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंले राससलाई जानकारी दिए । वैशाख कृष्ण अष्टमीसम्म हुने यो जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ । तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा गत वर्षसमेत तीनपटक रोकिएकाले पनि यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको व्यवस्थापन समितिले जनाएको छ । राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको साँखु क्षेत्रको सांस्कृतिक विषयमा अध्ययन अनुसन्धान गरिरहेका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए । शङ्खरापुर नगरपालिका वडा नं.४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष चलाखु टोलमा खट राख्ने पालो परेको छ । धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लाग्नुभएका ‘सक्व’ ले जानकारी दिए । गत वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिएपनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिएको थियो । यस वर्ष स्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै जात्रा सम्पन्न गरेर छोड्ने समितिको प्रतिबद्धता छ । बिहीबार मूल जात्रा चलाउने नचलाउने विषयमा दुई पक्षबीच विवाद भएपनि आज बिहान बजार क्षेत्रलाई स्यानिटाइज गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर जात्रा सम्पन्न गर्ने सहमति भएको थियो । रासस
‘उतार्नुहुन्न श्रीमानसँग गाँसिएका सौभाग्य’
काठमाडौं । ‘पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ?’ यो भनाइ काठमाडौंको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उनी सिन्दुर, चुरा, पोते र रातो परिहनमा छिन् । पतिको दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने सदियौँदेखिको प्रचलन छ । तर, सरिताले यो परम्परा तोडेको सुन्दा पत्याउन गाह्रो हुन्छ । उनी भन्छिन्, ‘सिन्दूर-पोते र चुरा पतिको सुन्दर उपहार हो । यसलाई जतन गरी लगाउनुपर्छ । श्रीमानसँग ग गाँसिएको सौभाग्य उतार्नुहुन्न ।’ सरिताले आफूले मात्र रातो बस्त्र लगाएर बसेकी होइनन् । छोराहरूलाई पनि सेतो बस्त्र लगाउन दिइनन् । उनका छोराहरू विमल र अमललाई सेतो बस्त्र लगाउन रोकिन् । ‘मानिसलाई जीवित छँदा राम्रो हेरचाह, माया गर्नुपर्छ’, उनले भनिन्, ‘रुढीवादी परम्पराका पछाडि लागेर बाँचेकालाई दुःख दिनुहुँदैन ।’ त्यति मात्र होइन, सरिताले १३ दिनसम्म भोकै बस्दा आफ्ना सन्तान कमजोर हुन्छन् भनेर सात दिनमै काजकिरिया सक्न लगाइन् र तीन दिनबाट दुई छोरा र तीन छोरी सनम, निसम र कुसुमलाई खान भनिन् । ‘कति महिला सानै उमेरमा विधवा भएका छन्, म सन्देश दिन चाहन्छु’, उनले जोडिन्, ‘रुढीवादी परम्परा हो यो, पतिको चिनो फाल्नु पर्दैन, लगाउनुपर्छ ।’ स्व पौडल शिक्षासेवी थिए । उनले धेरै क्याम्पस प्रमुख भएर काम गरे । उनले आफ्नो निधन हुनुअघि नै आफूलाई शवदाहगृहमा अन्तिम संस्कार गर्न परिवारसँग आग्रह गरेका थिए । अनि आफ्ना छोराहरूलाई कोरामा नबस्न आग्रह गरेका थिए । ‘आफ्नो बाबुलाई जलाउँदा सन्तानलाई पीडा हुन्छ, मलाई शवदाहगृहमा जलाउनु’, पौडेलकी नातिनी प्रज्ञा पौडेल खड्काले सुनाइन्, ‘खाली ठाउँमा गएर कोरा बस्नु पर्दैन, घरमै बस्नु भन्नुभएको थियो ।’ जीवनका उत्तराद्र्धमा पनि उनीहरूले आफ्नो काम आफैँ गरेको अनुभव प्रज्ञाले सुनाउँदै भनिन्, ‘हजुरआमा ८३ वर्षको हुनुहुन्छ, तिमीहरू आफ्नो काममा लाग, कसैलाई दुःख दिन्न, मेरो हातखुट्टा चलिञ्जेल आफैँ गरेर खान्छु भन्नुहुन्छ ।’ समाजमा परम्पराअनुसार काजकिरिया गर्नुपर्छ । पति बितेका महिलालार्ई अहिले पनि रातो कपडा लगाउन हुँदैन । सिन्दुर पोले लगाउन हुँदैन भन्ने विश्वास यथावत छ । जीवनको उत्तराद्र्धमा पतिको निधनपछि गरेका क्रियाकलाप समाजका लागि सकरात्मक उदारहणका रूपमा लिन सकिन्छ । रासस