बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध

काठमाडाैं ।आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेको हो । बैठकले भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाउँदै जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमिति गर्ने निर्णय गरेको छ । बिस्केट जात्रा एवं पर्वमा रोक लगाएको भन्दै भक्तपुर र मध्यपुरथिमिका बासिन्दाले विरोध गरेका छन् । गत वर्ष पनि लकडाउनका कारण जात्रा पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्दा स्थानीयवासीले बिस्केट जात्रा मनाउन पाएका थिएनन् । यस वर्ष जात्रा मनाउनका लागि गुठी संस्थानले भक्तपुरको तौमढीमा भैरव र भद्रकालीको प्यागोडा शैलीमा रथ निर्माण गराइरहेको छ भने भेलुखेलमा ५५ हात लामो लिङ्गो ल्याएर राखिएको छ । भक्तपुर र थिमिका बासिन्दाले सोमबार साँझ भैरवको रथ निर्माण भइरहेको तौमढीमा सयौँको सङ्ख्यामा भेला भएर धिमेबाजा बजाएर प्रशासनको निर्णयको विरोधमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएर प्रदर्शन गरेका स्थानीयवासीले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा र जिब्रो छेड्ने रोक्ने निर्णय नमान्ने, जात्रा पर्व सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । स्वतःस्फूर्तरूपमा जम्मा भएका स्थानीयवासीले ‘सभा, जुलुस र रङ्गशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने ?’ भन्दै विरोध गरेका थिए । विगतमा प्रशासनले स्थानीय तह र जात्रा सञ्चालन गर्ने सरोकारवाला निकायसँग बसेर छलफल गर्दै जात्रा सञ्चालनको निर्णय लिने गर्दै आए पनि अहिले भने प्रशासनले कसैसँग समन्वय र छलफल नै नगरी जात्रा पर्व सञ्चालनमा रोक लगाएको भन्दै प्रदर्शनमा सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए । प्रशासनले भक्तपुरमा हजारौँ सहभागी हुने गरी व्यापार मेला चलाउने स्वीकृति दिने तर आफ्नै जात्रा पर्व र परम्परा रोक्न खाज्ने भन्दै प्रदर्शनमा सहभागी राधेश्याम श्रेष्ठले आक्रोश व्यक्त गर्नुभयो । प्रशासनको निर्णय नमान्ने र जात्रा पर्व सञ्चालन गरेरै छाड्ने भन्दै स्थानीयवासी रोमन सुवालले भैरवनाथको रथ तान्ने बताए । गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले भैरवनाथ र भद्रकालीको रथ निर्माण पूरा भएको बताउँदै जात्रा सञ्चालन गर्ने/नगर्नेबारे निर्णय गुठी संस्थानले नलिने बताए । गुठी संस्थानले जात्राका लागि गर्नुपर्ने आवश्यक तयारी पूरा गरेको उनले बताए । प्रदर्शनमा उत्रिएका भक्तपुर र थिमिका बासिन्दाले भने प्रशासनको निर्णय नमान्ने बताएका छन् । रासस

तेस्रो आईएमई जुनियर खुला टेनिस प्रतियोगिताकाे उपाधी राउत र श्रेष्ठलाई

काठमाडौं । अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् । मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन् । अकिले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए । यस्तै गल्र्स यु–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जित निकालिन । सर्भानीले दुबै सेट ७–५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो । दुबै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ हात पारे । विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरे । सोही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आइएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गरे । फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाईमा पनि सहयोग पुग्ने बताउँदै प्रतियोगितामा भाग लिने खेलाडीहरु सवै च्याम्पियन हुने बताए । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत सञ्चालन गरिएको प्रतियोगितामा देशै भरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । गल्र्स तर्फ ४५ र ब्वाईज तर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।

१४ करोड लागतमा बन्दै गरेकाे भाेजपुर रङ्गशालाको ८५ प्रतिशत काम सकियो

भाेजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख लागतमा गत मङ्सिरदेखि रङ्गशालाको निर्माण सुरु गरिएको हो । आगामी २०८० सालसम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ, सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आर्थिक वर्षमा निर्माण पुरा गछौँ ।’ हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्यारापिट बनाउने, रिटेनिङवाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेलमैदानमा दुबो लगाउने काम पनि भइरहेको छ । करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्यारापिट निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । निर्माण भरहेको रङ्गशालाको शुक्रबार मुख्यमन्त्री शेरधन राईले समेत स्थलगत अनुगमन गरेका छन् ।