आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

काठमाडाैं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसकेका छन् । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपीएलका लागि दर्ता गराएका हुन् । आइपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ । उक्त छनोट भारतको चेन्नइमा हुनेछ । आइपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन् । आइपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडीले नाम दर्ता गराएका छन् ।

कथा : दश कित्ता सेयर

“ए हजुर …..उठ्नुस् न…… कति सुतिरहनु परेको ! हिजो प्रभु लाइफको सेयर बाँडफाँड भएको रैछ त, हामीलाई कति कित्ता पर्या रैछ हेरौं न…..।” बर्षौं पछि मेलम्चीको पानी धारामा आएको हेर्न पनि ऊ सायद त्यति उत्साहित हुन्न होला जति आज प्रभु लाइफ इन्स्योरेन्सको एलोटमेन्ट हेर्नको लागि उत्साहित छे । प्रायः विहानको ६ बजे तिर मात्र आँखा खोल्ने म आजभने श्रीमतीले ५ बजे नै ल्यापटप खोलेर ओछ्यानमा राखिदिएपछि ‘मेरो सेयर’ लगइन गर्न करै लाग्यो । “वाउ…मलाई त दश कित्ता परेछ ।” उसको एकाउण्ट लगइन मात्र के गरेको थिएँ, दश कित्ता सेयर परेको थाहा पाउनासाथ ऊ त खुसीले बुरुक्क उफ्रिहाली । तर मलाई चाहिँ भाग्यले साथ नदिएको भनौं अथवा अरु केही, त्यही १० कित्ता सेयर पनि परेनछ । “बुभ्नुभो ? यसको प्राइस त पक्कै हजार माथि गैहाल्छ । आफू त त्यही वेला वेच्छु । दश कित्ताको दश हजार भइहाल्छ…। तपाईलाई पनि परेको भए त बिस हजार हुने थियो नि । …अनि त्यै पैसाले एउटा फ्रिज किनिहाल्न हुन्थ्यो । तर के गर्नु तपाईंलाई त कहिलेका दिनमा पनि एक कित्ता सेयर पर्ने होइन । त्यो तनुको बुढालाई त भर्योकि परिहाल्छ । कति भग्यमानी छे त्यो… ।” मलाई घुमाउरो भाषामा आफ्नै साथीको बुढाभन्दा गएगुज्रेको छस् भन्ने जताउँदै ऊ चिया पकाउन भान्सा तिर लाग्छे । म सोच्न थाल्छु – के साँच्चिकै तनुको बुढालाई दश कित्ता सेयर परेकै भरमा ऊ भाग्यमानी भएको होला त ? म परेँ एउटा साधारण सरकारी स्कुलको शिक्षक । सेयर सम्बन्धि खासै ज्ञान नभएकोले त्यताको बाटो हिँडन् मलाई मन लागेन । पैसा भन्ने कुरा त्यति सजिलै कहाँ फल्छ र ! सय रुपैयाँको सेयर हजार कसरी पुग्छ भनेर मलाई आश्र्चय लाग्छ । कम्पनीले त बजारमा सयको सेयर हजारै पुगेपनि प्रतिकित्ता त सय रुपैयाँकै जवाफदेहिता वहन गर्ने हो नि, होइन र ? स्कुल जाऊँ शिक्षकहरुका बीच पनि सेयरकै चर्चा । हाम्रो परिवारका चारैजनाको नाममा सेयर भरेको सबैलाई दश–दश कित्ता पर्यो हा…हा…हा… । ल अब आजको नास्ता मेरो तर्फबाट… । बिज्ञान पढाउने विशाल सरले चाहिँ अलि फरक मत राख्दै भने – आफुत यो दश कित्ता भर्नका पछि लागिँदैन, सेयर पर्ने नपर्ने ठेगानै नहुने काम पनि कोही गर्छ ? म त सिधै सेकेन्डरी मार्केटबाट किन्ने हो अनि बढेपछि बेच्ने हो । महिना दिन भित्रै लाखौ कमाई… । निरज सरले कुरा थपे – अब यो जागिर खाएर बसिँदैन, बरु सेयर कारोवार नै गरिन्छ । उनका कुरामा पुण्डविराम लाग्न नापाउँदै हामी सबैले एकै स्वरमा भनिदियौं “ल वधाई छ” । वास्तवमा मैले सेयर बाट कमाउने मान्छे थोरै मात्र देखेको छु तर घरवार उठिबास भएका धेरै देखेको छु । एउटालाई घाटा नभइ अर्कोलाई नाफा कहाँ हुन्छ होला र ! सम्बन्धित कम्पनीले बोनस कति खुवाइरहेको छ, प्रति सेयर आम्दानी कति छ, कम्पनीको जगेडा कोषमा कति रकम छ, एन.पि.ए. कस्तो छ, कम्पनीको भावि योजना के छ लगायतका तमाम् कुराहरुको अध्ययन गरे विनानै हचुवाको भरमा सेयर किन्दा धेरैको उठिबास भएको छ नि होइन र ? बरु म त भन्छु यस्ता कुराहरु बारे बुझ्न नसक्नेले सेकेन्डरी मार्केटमा लाग्नुभन्दा बरु दुईओटा दुहुना गाई पालेर दुध बेची जिविकोपार्जन गर्नु राम्रो हो । श्रीमतीले ओछ्यानमा मलाई फकाउँदै भनी – हामीले बिहे गरेको एक वर्ष भइसकिहाल्यो, अव एउटा बच्चा पाउँ न… । मैले विचमै बोलेँ – दुईतिन वर्ष पछि मात्र जन्माउने सल्लाह भएको होइन र ? उसले हल्का हाँस्दै भनी – बच्चा भयो भने डिम्याट खाता खोल्न पाइन्छ क्या, अनि हाम्रो परिवारबाट तीन जनाको नाममा सेयर भर्न पाइने थियो… । म फगत ट्वाल्ल परेँ… । केही दिन अघि वाटोमा निरज सरसँग भेट भयो, अनुहार मलिन थियो । मैले सोधें – के भयो सर, सञ्चो छैन कि क्या हो ? मेरा कुरालाई नसुनेझैं गरी उनी अर्को बाटो तिर लाग्न खोजे । मैले नजिक गएर फेरी सोधेँ – शिक्षकको जागिर पनि छोड्नु भयो… अनि के हुँदैछ त तपाईंको सेकेन्डरी मार्केटको हालचाल ? सेयर कारोवार बाट कत्तिको कमाइ हुँदैछ ? मेरा प्रश्न भुइँमा खस्न नपाउँदै रिसले खाउँला झैं गरेर उनी गर्जिए – ह्या… छोडनुस यो सेयर तेयरको कुरा । खाइपाइ आएको सरकारी जागिर छोडेर रातारात लखपति भइन्छ भन्ने सोचेर हचुवाको भरमा सेयरका पछि लागियो, अहिले आएर त म नराम्रोसँग डुवें नि ! घरबार सवै सस्तोमा बेचेर पैसा जति सेयरमा खन्याएँ, अहिले आएर उठिबासै भयो । स्कुलबाट घर पुग्नासाथ थाकेको शरीर लिएर सोफामा एस्सो बसेको मात्र के थिएँ श्रीमतीले हात तान्दै भनी – ल यसरी वसेर कहाँ हुन्छ, छिटो तयार हुनुत… आज मेरो माइतीमा भदाको पास्नीको निम्तो छ, हिँडिहाल्नु पर्छ । म कपडामा आइरन लगाइओरी तयार भएँ अनि श्रीमतीलाई आवाज दिँदै भनेँ – सुन त, दराज वाट त्यो विहेको औंठी र सिक्री पनि निकालिदेऊ है, ससुराली जाँदा त एस्सो गहना नलगाइ के जानु ! मैले अह्राएको कुरा उसले नसुनेझैं गरी… । मैले फेरि अघिकै कुरा दोहोर्याएँ । यो पल्ट भने ऊ अनुहार मलिन पार्दै रुन थालिहाली । मैले अचम्मित हुँदै सोधें – हैन, के भयो ? हिन्ने बेलामा किन रोएको ? अब उसले बल्ल राज खोली – एउटा कुरा भन्छु मलाई गालि नर्गनु ल ! मैले पल्लो घरे छिमेकीको अनि केही साथिभाइको कुरा सुनेर सेकेन्डरी मार्केट बाट रातारात लखपति भइने लोभमा हजुरको औठी, सिक्री, मेरो तिलहरी अनि नेक्लेस सवै बेचेर करीब पाँच लाख रुपैयाँ बराबरको सेयर किनेको थिएँ । आज नेप्से बढिरहेको छ तर मैले हचुवाको भरमा किनेका सेयरहरु बेच्यो भने जम्मा एक लाख जति मात्र आउने भएको छ । चार लाख जति त नराम्रोसँग घाटा लाग्यो नि ! अब अहिले त्यही घाटा पुर्ताल गर्नका लागि भएपनि प्राइमरी सेयर दश–दश कित्ता गरेर पाँच लाखको वनाउँछु र हजुरले थाहै नपाई फेरी पहिलेकै बराबर गहना जोड्छु भन्ने सोचेर हजुर लाइ ढाँटेकी थिएँ । आज आएर मेरो आँखा खुलिसकेको छ । हजुरले भनेको ठिक हो रहेछ, आफैंले राम्रोसँग अध्ययन नगरी सेयर किन्न हुँदैन रहेछ । अब त म सोच्दैछु बरु त्योवेला किनेका सबै सेयर वेचौं अनि एक लाख रुपैयाँमा दुइओटा गाई किनौं । म मिहिनेत गर्छु र दुध वेचेर घाटा भएको चार लाख कमाउँछु । श्रीमतीको पश्चातापले भरिएको वचन र रसाएका आँखा देखेर मलाई नमिठो लाग्यो । “ठिकै छ गाई नै किन्छौ भने किन, नत्र भने सेयर मार्केटमै लाग्दा पनि हुन्छ । बरु त्यसका लागि सेयर मार्केटको गहिरो अध्ययन गर, कम्पनीहरुका वारेमा वुझ अनि मात्र लगानी गर ।” मैले उसलाई फकाउँदै भनें । निम्तो मान्न ससुराली पुगेका मात्र के थियौं सासुआमाले सोध्नु भो – चन्द्रागिरीको आइपीओ भर्र्नुभो ज्वाईं… ? भर्नु है भर्नु सेयरबाट त मालामाल भइने रहेछ । हुनत दश दश कित्ता सेयर भरेर कहिले उँभो लाग्नु ! सुन् छोरी अब ज्वाईंलाई सेकेन्डरी मार्केटमा सेयर कारोवार गर्न भन् । मलाई पनि त दश कित्ते ज्वाईं भन्नु भन्दा सेयर कारोवारी ज्वाईं भन्न मन लाग्छ नि ! सासुआमाले यसो भन्दै गर्दा म भने श्रीमतीको आँखामा हेरिरहेको थिएँ अनि ऊ भने मन्दमन्द मुस्कुराउँदै सायद आँखैले मलाई भनिरहेकी थिइ – नवुझीकनै सेकेन्डरी मार्केटमा लाग्नुभन्दा त दश कित्ता सेयर नै ठिक छ ।

कामपाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ संचालन गर्न ५० लाख सहयोग गर्ने

काठमाडाैं । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यसप्रकार लगानी गरिएको कामपाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले सङ्घलाई सहयोग गरेको बताए । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्नेछ । समारोहमा सङ्घका अध्यक्ष चन्दले भने, “यस वर्ष महानगरले लगानीलाई अर्को वर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौँ ।” कामपा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार सङ्घलाई सम्झौताबमोजि दुई चरणमा अनुदान रकम प्रदान गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि सङ्घले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ । उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।