बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’ जापानी भाषामा छापिँदै
काठमाडाैं । बिपी विचार राष्ट्रिय समाज, जापानले बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरी जापानमा प्रकाशन गर्ने भएको छ । कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बिपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा बिपीको कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न र बिक्री एवम् वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ । बिपी कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले शाखाका संयोजक प्रा डा सुदीप अधिकारीको संयोजकत्वमा प्रा डा विश्वराज कँडेल, सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बिपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरी प्रथम चरणमा बिपीको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेको हो । अनुवादका लागि प्रा डा अधिकारीको संयोजकत्वमा चुवु विश्वविद्यालय, जापानका प्रा डा कँडेल र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक ताकाओ ऊ रहनुभएको तीन सदस्यीय ‘बिपीको आत्मवृत्तान्त अनुवाद तथा व्यवस्थापन उपसमिति’ गठन गरी काम अगाडि बढाइएको आत्मवृत्तान्त प्रकाशन समन्वय समितिका संयोजक लोकेश ढकालले जानकारी दिए । बिपी विचार राष्ट्रिय समाज, नेपालको कार्यसमिति बैठकले कृति प्रकाशन र प्रकाशनाधिकार स्वीकृतिलगायत काममा नेपालका तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्न समाजका संस्थापक केन्द्रीय सदस्य ढकाललाई संयोजक तोकिएको थियो ।
गायक सनम लामाको ‘आकाशको जुन’ सार्वजनिक
काठमाडौं । गायक सनम लामाको स्वर रहेको ‘आकाशको जुन’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । आधुनिक शैलीमा तयार गरिएको गीतमा शब्द सौरभ राणा मगर तथा संगीत सनम लामाकै रहेको छ भने सविन लिम्बुले एरेन्ज गरेका हुन् । चर्चित इन्टरटेनमेन्टलेनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन अर्जुन क्षेत्रिले गरेका हुन् । ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु खेसेहाङ खजुुम, दिलिप खड्का र नारायण काफ्लेको अभिनय देख्न सकिन्छ । बिशाल प्याकुरेलको छायाँकन, गणेश राइको कथा रहेको भिडियोको सम्पादन सनम लामाले गरेका हुन् । गीतलाई दासि इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा त्रिकोणात्मक प्रेमकथा चित्रण गरिएको छ ।
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
काठमाडाैं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए । यसअघिको खेलमा समेत उहाँले दुई विकेट लिनुुभएको थियो । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ । होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ । रासस