खुलामञ्चमा भाइटिका, माहाेल यस्ताे देखियाे (तस्वीरसहित)
काठमाडौं । काठमाडौंको खुलामञ्चमा निशुल्क खाना वितरण गर्दै आएको टिमले खुलामञ्चमा नै भाइटिका मनाएको छ । आइतबार निशुल्क खाना खान आएकाहरूलाई टिमले टीका तथा टोपी लगाइदिएर भाइटीका मनाएको हो । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको हो । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो । कोरोनाका कारण आफ्नो दिदीबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाईहरुलाई आज भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमली फूलको माला र ढाका टोपी लगाइदिएको टिमको भनाई छ । लकडाउनपछि निरन्तर खाना खुवाइरहेको उक्त समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो । मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।
जुम्ला-हुम्लामा हिमपात, काठमाडौंको आकाश पनि मडारियो
काठमाडाैं । आज भाइटिकाको दिन जुम्ला र हुम्लामा हिमपात भएको छ । हिजोदेखि नै दुवै जिल्लामा हिमपात सुरु भएको हो । अहिलेसम्म ती जिल्लाहरुमा एक फिटभन्दा बढी हिउँ जमिसकेको बताइएको छ । हिमपातका कारण तापक्रम माइनसमा झरेको र जाडो निकै बढेको स्थानीयले बताएका छन्। जुम्ला सदरमुकाम खलंगा र हुम्ला सदरमुकाम सिमकोटमा हिमपातका कारण हवाई यातायात प्रभावित भएको छ । यस सँगै आज काठमाडौंको आकाश पनि मडारिएको छ । सधैझैँ घाम लाग्ने काठमाडौंमा आज बादल लागेको छ । यसले पनि काठमाडौंमा चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भइरहेको छ। साथै प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
आज भाइटिकाः उत्तम साइत ११ः३७ मा, टिका लगाउँदा कुन दिशा फर्किने ?
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजे उत्तम रहेको बताइएको छ । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।