शुरू भयाे कोभिड-१९ विरुद्ध नागरिक अभियान, कहाँ कहाँ सञ्चालन हुन्छ ?
काठमाडौं । कोभिड-१९ विरुद्ध नागरिक अभियानको बुधबार(कार्तिक १९ गतेदेखि) शुभारम्भ भएको छ । काठमाडौं उपत्यका लगायत मुलकभर तीव्र गतिमा कोभिड-१९ को महामारीको प्रकोपलाई न्यूनिकरण गर्नका लागि जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उदेश्यले उक्त अभियानको शुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै नागार्जुन नगरपालिका नगरप्रमुख मोहन बहादुर बस्नेतले सरकारले महामारीलाई गम्भिरतापूर्वक लिएको बताउँदै स्थानीय श्रोत साधनले भ्याएसम्म जनतालाई अधिकतम सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, पेशागत संघसंगठनको यस प्रयासको उच्च सराहना गर्नुहुँदै सरकार सहकार्यका लागि सदैव तयार रहेको उनले बताए । राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिरहको अकल्पनिय परिस्थितिबाट निजी क्षेत्र अत्यन्त गम्भिर भएको र न्युनिकरण र रोकथामका लागि सक्रिय योगदान पुर्याइरहेको बताउँदै सबै पक्ष उत्तिकै जिम्मेवार एवंम् सम्वेदनशील भई अघि बढनुपर्नेमा जोड दिए । निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णपालना गरी व्यवसायिक क्रियाकलाप अगाडी बढाउन सम्पूर्ण व्यवसायिक क्षेत्रलाई आग्रह गर्दै आम सर्वसाधारणलाई समेत यसको पुर्ण पालनामा ध्यान दिन जोड दिएका छन् । साथै, उनले वर्तमान अवस्थालाई गम्भिरतापूर्वक नलिए स्थिति थप भयावह हुने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । यसैगरी पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक प्रा.डा. शरद वन्तले मुलुकमा थप भयावह अवस्था आउन नदिन सरोकारवाला सवैको सहयोग र सहकार्यको अपरिहार्यतमा जोड दिँदै आमनागरिक समेत सुसुचित हुन आग्रह गरेका छन् । त्यसैगरी नेपाल जनस्वास्थ्य संघका अध्यक्ष श्रीकृष्ण भट्टले जनसाधारणलाई कोभिड १९ रोकथामका लागि सुरक्षा मापदण्डलाई दिगो र प्रभावकारी रुपमा लागु गर्न यस किसिमको महत्वपूर्ण कार्यको थालनी गरिएको बताए । यस अभियान स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरु परिचालन गरी उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरु तथा प्रमुख बजार र क्रमश यातायात क्षेत्र र अन्य व्यस्त कार्यालयहरुमा चरणवद्ध रुपमा संचालन गरिने छ । जुन राष्ट्रिय व्यवसायिक पहल(एनबीआई) को सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपालको समन्वयमा सञ्चालन गर्न लागिएको हो ।
निःशुल्क खाना खुवाउने अभियानलाई व्यवस्थित बनाउन महानगरले पार्टी प्यालेस भाडामा लिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पुरा नगरी खुलामञ्चमा निः शुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित गर्न महानगरले आग्रह गरेको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने र सर्वाजनिक स्थलमा अस्वस्थ असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कामलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गरे । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकार जनताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै स्वास्थ्य जोखिमको समेत ख्याल गरी खाना खुवाउन आग्रह गरे । श्रम गर्न सक्नेहरुले श्रम गरेर र नसक्नेहरुको व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने उनले बताए । महानगरपालिकाले सुरुदेखि नै काम गर्न सक्नेहरुलाई काम दिएको उल्लेख गर्दै नसक्नेहरुको हकमा व्यवस्थापनका लागि महानगरपालिकाले सहयोग गर्ने बताए । सक्नेहरुले समेत काम नगरी खाने प्रवृति रहेमा भोली पनि समस्या हुने उनले बताए । उनले भने, ‘‘काम नगरी खाने प्रवृति भयो भने भोली श्रम गरेर खान भन्दा पनि उनीहरुले गर्दैनन् । बानी बिग्रिन्छ । त्यसैले सक्नेले काम गर भन्ने महानगरको धारणा हो । नसक्नेलाई व्यवस्थापन गर्छौं ।’’ एकै ठाउँमा भिडभाड गरेर खाना खुवाउनुभन्दा जो जुन ठाउँमा छ त्यही ठाउँमा खुवाउने व्यवस्था गर्नुपर्ने उनले बताए । महानगरपालिकाले व्यवस्थापनका लागि पार्टी प्यालेस भाडामा लिएर अभियन्ताहरुलाई दिन सक्ने उनले बताए । लकडाउन अविधिभर महानगरपालिकाले ३२ वटै वडाहरु मार्फत भोकै कोही पर्दैन भोकले कोही मर्दै भन्ने नाराका साथ खाना नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको महानगरले जनाएको छ । लकडाउन अवधिमा १ लाख ५० हजार बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने काम गरेको उनले बताए । श्रम गर्न सक्नेहरुलाई वडा कार्यालयहरुबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकाल तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण जस्ता काममा लगाउने गरेको महानगरले जनाएको छ । एक हप्तामा कम्तिमा २ दिन तोकिएको पारिश्रमिक दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगारी पनि सिर्जना गर्ने काम गरेको उनले बताए ।
विपन्न मजदूर लक्षित ‘मजदूर सञ्चयकोष’ स्थापना, रकम एक वर्षपछि मात्रै निकाल्न पाइने
वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । “ दैनिक ८०० रुपैयाँदेखि एक हजार ५०० रुपैयाँसम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेका छन्”, अध्यक्ष सुवेदीले भने, “जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही पनि नहुने अवस्था आउने भएकाले बचतमा जोड दिनका लागि सो सञ्चयकोषको स्थापना गरिएको हो ।” सञ्चय कोषका लागि पालिकाभित्रका १८ देखि ५९ वर्ष उमेर समूहका ज्याला मजदूरी गर्ने विपन्न मजदूरलाई लक्षित गरी सो सञ्चयकोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । गाउँपालिकाले पालिकाभित्रका विपन्न मजदूरहरुलाई आ-आफ्नो वडामा सूचीकृत हुन सूचना जारी गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा सार्वजनिक विकास निर्माणका काममा मजदूरलाई संलग्न गराई उनीहरुको नाममा बैंकमा खाता खोल्ने र सोही खातामा उनीहरुको ज्याला रकमबाट १५ प्रतिशत र पालिकाबाट १५ प्रतिशत सञ्चय कोषमा जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष सुवेदीले बताए । नेपाल सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त भएको ५१ लाख रुपैयाँबाट पालिकामा सूचीकृत भएका विपन्न ज्यालादारीहरुलाई रोजगारीसहित सञ्चयकोषमार्फत रकम उपलब्ध गराइने भएको पालिकाका रोजगार सेवा केन्द्रका प्राविधिक सहायक युवराज पौडेलले बताए । “पालिकाभित्रका ज्याला मजदूरी गर्ने सूचीकृत भएका विपन्नलाई मात्रै यस कार्यविधिभित्र समावेश गरिने छ”, पौडेलले भने, “जसले गर्दा यहीँका मजदूरले विकास निर्माणका कार्यमा सहभागी हुनेछन् र बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।” सञ्चयकोषमा जम्मा भएको रकम एक वर्षपछि मात्रै निकाल्न सकिने व्यवस्था रहेको छ । सम्बन्धित वडाध्यक्षको सिफारिसमा दीर्घरोगी भएको खण्डमा, घर बनाउनुपर्ने देखिएमा, छोराछोरीको शिक्षा, स्वास्थ्य र व्यवसाय सञ्चालनका लागि उनीहरुले सञ्चयकोषबाट रकम निकाल्न सक्ने पौडेलले बताए । रासस