पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न

पाेखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रङ्गशालाको काममा ढिलाइ भएको छ । सम्झौता भएको आर्थिक वर्षभित्रमा रङ्गशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन । पछिल्लो पटक यही मङ्सिर मसान्तभित्रमा काम सम्पन्न गरेर रङ्गशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई÷तीन महिना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताए । गत वर्ष मङ्सिरमा पोखरामा सम्पन्न भएको १३ औँ सागअघिनै रङ्गशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रङ्गशालामा खेलाइएको थियो । सागपछि सोही आवमा काम सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप भए पनि पूरा नभएपछि चालु आवको मङ्सिरसम्मका लागि चौथो पटक आयोजनाको म्याद थप गरिएको हो । थप अवधिमा समेत रङ्गशाला तयार नहुने निश्चित देखिएको छ । इञ्जिनीयर ताम्राकारले भिआइपी प्यारापिटको छाना छाउने, क्लडिङ (ग्राण्ड स्टाण्ड छोप्ने) र प्रि इञ्जिनीयरिङ भवन फिनिसिङ, पार्टिसन र सजावटको काम बाँकी रहेको बताए । यससँगै सम्झौतामा उल्लेख भएबमोजिम सडकको निर्माण कार्य पनि केही बाँकी छ । उनले भने, “प्यारापिट, मैदान, ट्र्याकसहित हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सकिएको छ । छाना र भवनका सामान आयो भने अबको दुई/तीन महिनामा सबै काम सकिन्छ । पूरै सामान आइनसक्दासम्म भन्न सकिने अवस्था छैन ।” राष्ट्रिय खेलकूद परिषद्(राखेप) र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स इन्फ्रा(जेभी)बीच एक अर्ब २८ करोड लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम हालसम्म साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ । मैदान तथा ट्र्याकको काम पनि सकिएको छ । निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले कोरोना महामारी, विभिन्न प्रतियोगिता तथा बाहिरबाट सामान आउन ढिलाइलगायतका कारणले रङ्गशाला निर्माणको काममा ढिलाइ भएको बताए । भिआइपी प्यारापिटको छानोका सबै सामग्री भारतबाट आउनुपर्ने भएकाले सामान नआउँदा काम रोकिएको उनको भनाइ छ । अघिल्लो आवमा सम्पन्न कामको समेत अझै भुक्तानी नपाएको गुनासो निर्माण कम्पनीको छ । “कोरोनालगायतका कारणले ढिलाइ भएको छ तर हामीले काम गरिरहेका छौँ । अघिल्लो वर्षको कामको भुक्तानी नपाए पनि सामान अर्डर गरेर भारतबाट आउन शुरु भएको छ”, बरालले भने, “सामान आएपछि प्राविधिकसमेत उतैबाट आउनुपर्दछ तर उनीहरु अहिलेको सङ्क्रमणको समयमा आउन चाहिरहेका छैनन्, अब हामी छिटो सम्पन्न गर्नुपर्दछ भनेर लागि परेका छौँ ।” रङ्गशालामा सुविधासम्पन्न प्यारापिटसहित चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), खेलाडी बक्स, कन्फरेन्स हल, मिडिया बक्सलगायतका सुविधा हुनेछन् । प्रि इञ्जिनीयरिङ भवनमा चेञ्जिङ रुमसहित कन्फरेन्स हललगायतका सुविधा रहने परियोजनाका इञ्जिनीयर पुरुषोत्तम बरालले जानकारी दिए । तीन हजार ५०० सिट थप हुने निर्माणाधीन रङ्गशालाको दर्शक क्षमता तीन हजार ५०० थप गरेर २० हजार पुर्याउने भनिए पनि त्यसका लागि अहिलेसम्म सम्झौता नभएको निर्माण कम्पनीले जनाएको छ । अघिल्लो सम्झौताअनुसार १६ हजार ५०० क्षमताको प्यारापिट तयार भएको र क्षमता विस्तार गर्न सकिने अवस्था रहे पनि थप गर्नेबारेमा हालसम्म राखेपसँग लिखित कुनै सम्झौता भइनसकेको बताइन्छ । निर्माण कम्पनीले मौखिक आग्रहका आधारमा आफूहरुले फ्रान्समा ‘ग्राण्ड स्टाण्ड’ माग गरिसकेको जनाएको छ । “खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पटकपटक प्यारापिटको क्षमता बढाउने भनेका छन् । सोही आधारमा हामीले उहाँहरुको मौखिक आग्रहमा सामान अर्डर गरिसकेका छौँ । यसका लागि थप सम्झौता हुन बाँकी छ”, निर्माण कम्पनीका प्रबन्धक बरालले भने । रङ्गशालाको पश्चिमपट्टी एक हजार तथा पूर्वमा दुई हजार ५०० सिट थप गर्ने योजना रहेको बताइएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले प्यारापिटको क्षमता बढाउन आवश्यक रहेको बताए । यसबीचमा राखेप बोर्डको बैठक नबसेकाले त्यसबारेमा निर्णय नभए पनि आफूहरु क्षमता बढाउनुपर्दछ भनेर लागिरहेको उनको भनाइ छ । विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रिस्तरको रङ्गशाला नयाँ निर्माण थालनी गरिएको थियो । रासस

गोपीचन्द्र पार्की ओलम्पिकका लागि छनोट

काठमाडाैं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् । पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरेका थिए । नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे । नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ३० हजार तथा १० हजार पुरस्कार प्राप्त गर्नुभएको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जिते । तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जित्नुभएकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरे । उनले ३० हजार पुरस्कार प्राप्त गरे । यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भएे भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । रावत र घर्तीले क्रमशः १५ हजार र १० हजार पुरस्कार प्राप्त गरे । रासस

कविता महोत्सव मङ्सिर २९ मा हुने, प्रथमलाई ५० हजार

काठमाडाैं ।  नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए । प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो । प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।