सङ्क्रमित ४ वर्षीया बालिका भन्छिन्ः पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ
टीकापुर । कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो । बुवाको निधनपछि आमा र बालिकाको स्वास्थ्य परीक्षण गर्दा एचआइभी सङ्क्रमण पुष्टि भयो । आमाछोरी दुवैले टीकापुर अस्पतालबाट एआरटी सेवन गरिरहेका छन् । लम्कीकै एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिकासँग अन्य बालबालिका बस्न, खेल्न, सँगै खाजा खान मान्दैनन् । “मसँग साथीहरु नजिक आउनै मान्दैनन्, मलाई अपराधीजस्तो गर्छन्”, बालिकाले भनिन्, “म चार वर्षको हुँदा सङ्क्रमण पुष्टि भयो । म त पेटमै सङ्क्रमित भएर जन्मिएकी रहेछु भन्ने पछि थाहा भयो । सङ्क्रमित हुनुमा मेरो के दोष ?” बालिका विद्यालयमा गरिने विभेदका कारण पढाइमा रुचि नजागेको बताउँछिन् । “म नियमित विद्यालय जादिनँ, आमाले पढ्नुपर्छ भन्नुहुन्छ”, बालिका भन्छिन्, “हामी चार भाइबहिनी छौं, हामीलाई हुर्काउन आमालाई निकै दुःख भएको छ । पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ ।” जोशीपुरका १३ वर्षीया बालक ४ कक्षामा पढ्छन् । बालकका बुबाआमा दुवैको निधन भइसकेको छ । ज्येष्ठ नागरिक हजुरबुवाको संरक्षणमा रहेका बालकलाई पनि विद्यालयमा गरिने विभेदले असह्य हुन्छ । “म पढाइमा राम्रो छु । सधैँ कक्षामा तृतीय स्थान ल्याउँछु, विद्यालयमा मेरा कोही साथी छैनन्”, बालक भन्छन्, ‘‘मेरो नजिक कोही आउनै मान्दैनन्, अनि मलाई पनि कक्षामा बस्न मन लाग्दैन । म नियमित विद्यालय जान्नँ । नियमित पढेको भए म प्रथम हुन्थेंजस्तो लाग्छ ।” एचआइभी एड्सको प्रभावकारी रोकथाम, हेरचाह तथा उपचार सेवासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिए पनि सङ्क्रमितले अहिले पनि विभेद भोगिरहेको नवजीवन एकता समाजका अध्यक्ष जगत् भण्डारी बताउछन् । “हामीले सङ्क्रमित बालबालिकाको शिक्षा आर्जन सहज गराउन लामो समयदेखि काम गरिरहेका छौँ, तर समस्या समाधान भएको देखिँदैन”, भण्डारी भन्छन्, “सङ्क्रमित अभिभावकका बालबालिका र स्वयं सङ्क्रमित बालबालिकाको निःशुल्क शिक्षाका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा पहल गरेका छौं । उनीहरुलाई आवश्यक कापी किताब, पोशाकका लागि पनि सक्दो सहयोग गरिरहेका छौं ।” भण्डारीको पहलमा कैलालीको टीकापुरका तीनवटा होटलमा बालबालिकाको शिक्षामा सहयोग सङ्कलन पेटिका राखिएका छन् । “तीन पेटिकामा वार्षिक जम्मा भएको रकम सङ्क्रमित बालबालिकालाई सहयोग गर्छौं”, अध्यक्ष भण्डारीले भने, “एचआइभी सङ्क्रमितलाई समाजमा गरिने विभेद अन्त्य हुनुपर्छ । अन्य नागरिकसरह सङ्क्रमितले पनि समाजमा बस्न, रमाउन, काम गर्न पाउनुपर्छ ।” यसका साथै सङ्क्रमितलाई अन्य नागरिकभन्दा बढी पोषण, आराम र उपचार आवश्यक पर्ने भएकाले उनीहरुको जीविकोपार्जनका लागि सबै सहयोगी बन्नुपर्ने उनको माग छ । कैलालीको टीकापुर अस्पतालबाट ५१६ जनाले एआरटी सेवन गरिरहेका छन् । तीमध्ये २९० महिला, १८४ पुरुष र ४२ बालबालिका छन् । एएचएफ नेपालका मदन परियार सङ्क्रमितमा महिलाको सङ्ख्या धेरै रहेको बताछन् । ‘‘श्रीमान् बितेपछि एकल भएका महिला तथा तीनका बच्चा सङ्क्रमित हुँदा उनीहरुको जीविकोपार्जनमा समस्या भएको छ”, परियार भन्छन्, “एकल भएका सङ्क्रमित महिलालाई खानकै समस्या छ ।” कैलालीको टीकापुरमा स्थापना भएको नवकिरण प्लसले सङ्क्रमितको जीवन माथि उकास्न विभिन्नखाले सहयोग गर्दै आएको छ । बसोबासको समस्या भएका सङ्क्रमित बासगाँस र एआरटी सेवन गर्न अस्पताल आउने सङ्क्रमितलाई यातायात खर्च उपलब्ध गराउँदै आएको छ । नवजीवन प्लसका वित्त अधिकृत धनबहादुर चौधरीका अनुसार कैलालीका १२४ बालबालिकालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराउने गरिएको छ । “बालबालिकालाई मासिक एक हजार रुपैयाँका दरले आर्थिक सहयोग गछौँ, उनीहरुको शिक्षा आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्य हो”, चौधरीले भने, “१२४ बालबालिकाले यो सुविधा लिइरहेका छन्, मासिक एक लाख २४ हजार बालबालिकालाई वितरण गर्छौं ।” रासस
हराएको छोरो
(गजल) भोक हराएको छैन अझै निद्रा हराएको छैन तिमीले छोड्दा कत्ति पनि मन दुखाएको छैन। तिमीलाई दियो सम्झेको थिएँ तर सलाई रहेछौं तिमीले जस्तो मैले अरुको दिल जलाएको छैन। हिजो ऊ मेरो छानो उडाउदा खुब रमाएको थियो आज उसैको घर जल्दाखेरि म रमाएको छैन। वर्षौ वर्ष भइ सक्यो देशमा शान्ति आएको पनि तर बा भन्नुहुन्छ,हराएको छोरो अझै आएको छैन। तपाईं आहा भन्नुहुन्छ शहरको झिलिमिली देखेर हेर्नुस् त कर्णालीले अझै सिटामोल पाएको छैन। कसरी बिश्वास गरुँ? एक गाँस दिन्छ भनेर उसले जो कसौंडी रित्तो पारिसक्दा पनि अघाएको छैन। झापा -गौरादह
सागको खर्च विवरण सार्वजनिक, एक अर्ब ३१ करोड खर्च
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी सर्वाजनिक गरिएको विवरण अनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले बताए । यस्तै पदक विजेता खेलाडी, प्रशिक्षकहरु र सहभागि राष्ट्रिय संघहरुलाई नेपाल सरकारको तर्फबाट २२ लाख ७६ करोड बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उनले बताए । सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरिएपनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताए । गत वर्षबाट महामारीका रुपमा फैलिएको कोभिड—१९ र सागमा सहभागि राष्ट्रहरुबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागि राष्ट्रहरुको ओलम्पिक कमिटिबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उनले बताए । सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । १ करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ भने फ्रिज भएको उहाँले बताउनुभयो । नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो । यस्तै टिकट विक्रिबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९९ हजार १५० रुपैयाँ र सहभागि राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५९८ रुपैयाँ प्राप्त भएको सिलवालले बताए । साग प्रतियोगिताको उद्घाट र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८०४ रुपैयाँ खर्च भएको विवराण राखेपले सार्वजनिक गरेको छ । यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६८३ रुपैयाँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८८१ रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ । यस्तै सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख, ५६ हजार ४७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २२४ र जनकपुरमा ८० लाख ३७ हजार २१२ रुपैयाँ खर्च भएको छ । १४ औं साग आयोजना गर्ने पालो पाकिस्तानको भएपनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन् । पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि उनले बताए ।