काठमाडौंमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।      उक्त मोटरसाइकिलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका र उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।      प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।  

काठमाडौंको तापक्रम मंगलबार यस वर्षकै कम

काठमाडौं । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् ।      हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम मंगलबार यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ ।      हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौंको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए । गत मङ्सिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो ।      उनका अनुसार मंगलबार देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए । मौसमविद् दाहालले भने, 'तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो ।' आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ ।   

महालक्ष्मी विकास बैंकको विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण र सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । बैंकले यस क्रममा जेष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षण सहित स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगको रोकथाम सम्बन्धी कार्यशाला सञ्चालनमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्न ५ थान कम्प्युटर सेट र ५ थान टेबल उपलब्ध गराएको छ । साथै हुम्ला जिल्लाको सिमकोटदेखि ४४ कोष दक्षिण पूर्वको अदानचुली गाउँपालिका वडा नं. १ का ६५ घरधुरीका दलित समुदाय, विपन्न वर्गका मानिस, अनाथ बालबालिका, एकल महिला र पुरुषलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागलुङ्ग जिल्लाका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापाका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय तथा श्री गणेशसुर्य आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबहरूसँगको सहकार्यमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययरत १८० जना विद्यार्थीलाई जाडोबाट बच्न १८० थान न्यानो कपडा वितरण गरिएको छ । गोरखा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गरिएको  छ। बैंकले गर्दै आएका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।