नेपालको अपराजित यात्रा, ओमानलाई ३८ रनले हरायो

काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।  ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए ।  सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा २ चौका र १ छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले २ छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।  ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान २/२ विकेट लिए । यसअघि नै टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपाल ८ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

चौथो ‘एनिभर्सरी’ मनाउँदै टेनएक्स क्लब, नेपाली र अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति

काठमाडौं । क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो । वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह तथा कलाकारले आफ्नो प्रस्तुती दिने भएका छन् । दि जेनसीस ब्याण्ड,स्पाइसी एन्जल्सको प्रस्तुती र अन्तर्राष्ट्रिय डिजे समर्न, डिजे रह्न र डिजे नानीको समेत प्रस्तुती रहने  छ । विगतका वार्षिकोत्सव जस्तै गरेर यस वर्ष पनि भव्य र सभ्य बनाउने गरी तयारी गरिरहेको  क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए । चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिदैँ आएको छ । ‘तीन वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ,’क्लबका सीईओ बस्न्यात भन्छन् । उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् । क्लब टेन एक्समा नेपालका चर्चित डिजे तथा गायक-गायिकाले प्रस्तुति दिएका थिए । गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बू जस्ता थुप्रै नेपालका कलाकारले आफ्नो प्रस्तुती दिइ सकेका छन् ।  

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले बुधबार जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ ।   'उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ', समवेदनमा भनिएको छ, 'उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।'        बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि हुनेगरी मङ्गलबार आएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै समवेदनमा भनिएको छ, 'यो हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको छ, म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।' समवेदनामा जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै भनिएको छ, 'उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो, उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।'        सदा शान्ति पक्षधर नेपालको छोरा अन्तरराष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनी अपहरण भएको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका समवेदनमा छ । जोशीको निधनको खबरले दुई वर्षको सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख छ ।