टिकटकर तुल्सीलाई प्रहरीले भन्यो : सामाजिक सञ्जालमा भ्रम नछर्नू

काठमाडौं । ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिएकी तुल्सी अधिकारीलाई  सामाजिक सञ्‍जालमा भ्रम नर्छन प्रहरीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा उनले अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेषण गर्ने जस्ता कार्य गरेकाले ललितपुर प्रहरी परिसरले अनुरोध गरेको हो । कुमार चिमोरियाले तुल्सीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए । यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी हुन् । २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । दुई मुद्दामा अनुसन्धान भइरहेको विषयमा अनुसन्धाननलाई नै प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेष्ण जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्ने तर्फ समेत उनलाई प्रहरीले सजग गराएको छ । तुल्सी टिकटकमा बढी चर्चित छिन् ।  

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो ।      भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौंं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए । पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ ।      'मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन । धेरै समय सान्त्वना दिएर राख्यौँ, जनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,' प्रहरी उपरीक्षक खड्काले भने, 'उपचारका लागि काठमाडौं रिफर गरिएको छ, उनको अवस्था सामान्य नै देखिएको छ ।'      पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ ।   

सही कुराका लागि मात्र जिद्दी गर्छु : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन् । आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गरेका हुन् ।  उनले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गरे । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भएपनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उनको गुनासो छ । आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उनले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताए ।  उनले भने, ‘मैले करिव किशोरावस्था नै थियो, विवाह पनि भइसकेको थियो । त्यसबेला पञ्चायत फाल्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भन्ने लाग्यो मलाई, म त्यस काममा लागेँ । लागेपछि लागें, लागें । जबसम्म पञ्चायत फालिएन, जेल परियोस् कि, जेल ठोकियोस् कि, हत्कडी लगाओस् कि, यातना दियोस् कि, कुटोस् कि, पिटोस् कि, भोकै राखोस् कि, जे सुकै गरे पनि राजतन्त्र फाली छाड्छु, पञ्चायत फाली छाड्छु ।’ संघर्षशील जिन्दगी रमाइलो नहुने तर सही कामका लागि गरिने संघर्षको अन्त्य सुखद् हुने उनको तर्क छ ।