खरिपाटीको क्वारेन्टिन बन्यो २ सय शैय्याको आइसोलेशन, लक्षण नभएका संक्रमितलाई राखिने
काठमाडाैं । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो । सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई ५०० शैय्याको आइसोलेशन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा बीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टिन भवनलाई आइसोलेशनका रुपमा परिणत गरेकोे भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताईन् । हाल २०० शैय्याको आइसोलेशन तयार भएपनि तत्काल १०० शैय्या सञ्चालनमा ल्याएको जानकारी दिँदै मेसु डा. गौतमले भनिन्, “सङ्घीय सरकार र बाग्गती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्री युवराज दुलालको अगुवाइमा खरिपाटीस्थित क्वारेन्टिनलाई आईसोलेशन सञ्चालन गरेका हांै, उहाँबाट जनशक्ति पनि पठाईदिने आश्वासन प्राप्त भएको छ ।” आईसोलेशनमा रहेको ८ शैय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने २०० शैय्या कोरोना भाइरस सङ्क्रमितलाई राखिनेछ । भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित ७ जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डा.गौतमले जानकारी दिईन् । भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सातजनाको संयुक्त तीनवटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, यहाँको आईसियू तथा आईसोलेशन र खरिपाटीस्थित आइसोलेशनमा टोली परिचालन गरिएको छ । तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई चिकित्सक, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एक टिममा सातजना रहने गरी तीनवटा टिम तयार पारेको छ । भक्तपुर अस्पतालमा तालिम प्राप्त जनशक्तिको अभाव भएकाले राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालसँग तालिम प्राप्त जनशक्ति राखेर टिम बनाएको हो । खरिपाटीस्थित आइसोलेशनमा लक्षण नभएका सङ्क्रमितलाई राखिने जानकारी दिदै डा. गौतमले लक्षण भएका र जटिल खालका सङ्क्रमितलाई अन्य अस्पताल पठाईने भएको छ । वीर दल गण सूर्यविनायकबाट खटिएको सेनाले आइसोलेशनको सुरक्षा गरेको छ । नेपाली सेना, स्वास्थ्यकर्मी सहितको ‘कन्ट्रोल रुम’ बाट आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने गरिएको छ । गतसोमबार १ जना कोरोना सङ्क्रमित पुरुषलाई राखेर आइसोलेशन शुरु गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर अस्पतालको मेसुको नेतृत्वमा खरिपाटीस्थित आइसोलेशनमा सङ्क्रमितको व्यवस्था गर्ने, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिईन् । तत्काल २०० शैय्याको आइसोलेशनको क्षमता रहेपनि सङ्क्रमितको सङ्ख्या बढ्दै गए १०० शैय्या थप गरेर ३०० शैय्यामा विस्तार गर्न सकिने उनले जानकारी दिईन् । भक्तपुर अस्पतालमा आईसियू र आइसोलेशन सरकारले कोरोना हब अस्पतालको रुपमा तोकेको भक्तपुर अस्पतालले सघन उपचारकक्ष (आईसियू) र आइसोलेशन शैय्या सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण फैलिँदै गएपछि बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै जादा समस्या सृजना भएपछि अस्पतालले पाँच शैय्याको आईसियू र तीन वटा भेन्टिलेटरसहितको १५ शैय्याको आईसोलेशन वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालले एक महिना अघि नै आईसियू र आइसोलेशन सञ्चालन गर्नेगरी सबै तयारी पूरा गरेपनि जनशक्ति अभावका कारण सञ्चालन गर्न नसकेको अवस्थामा जिल्लाका तीन प्रमुख अस्पतालको संयुक्त समन्वयमा आईसियू सहितको सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. गौतमका अनुसार भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याएको हो । डा. गौतमले भनिन्, “कोरोनाको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य आपतकालिन अवस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुँदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट टिम बनाएर काम गर्नेगरी आइसियू सञ्चालन गरेका हौँ ।” आपतकालिन अवस्थामा तीनवटै अस्पतालले मिलेर आईसियू सञ्चालन गर्ने र स्वास्थ्य जनशक्ति पनि तीनवटा टिम बनाएर परिचालन गर्ने गरी सेवा शुरु गरेको हो । सो आईसियूमा कोरोना सङ्क्रमित मिर्गौलाका बिरामीलाई राखिएको छ । आईसियू र आइसोलेसन वार्ड तयार पारेको महिनौं बित्दा पनि आवश्यक जनशक्तिको व्यवस्था केन्द्र र प्रदेश सरकारबाट हुने आशामा बसेको अस्पतालमा जनशक्तिको व्यवस्थापन नभएपछि अस्पताल आफैँले रिक्त दरबन्दीमा करार नियुक्तीका लागि जनशक्ति मागसमेत गरेको छ । कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन जिल्ला प्रशासन कार्यालय परिसरमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्व रहने गरी केन्द्र सञ्चालन भएको प्रजिअ पाण्डेले जानकारी दिए । जिप्रका अगाडिको भवनमा केन्द्र स्थापना गरिएको जानकारी दिँदै उनले भने, “जिप्रका अगाडि कै भवनमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन ल्याएका छौँ, यसको सबै व्यवस्थापनको जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई दिइएको छ, अब कोभिड–१९ सम्बन्धी सबै सूचना त्यही सङ्कलन गर्ने र त्यहीबाट दिने गरी व्यवस्थापन गरेका छौँ ।”
होम आइसोलेशनमा बसेका काेराेना संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँ दिईने
काठमाडाैं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । टोखाले कोभिड–१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ । धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम् सेवकलाई सम्बन्धित वडा कार्यलयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले राससलाई जानकारी दिए । टोखाले विष्णुमति करिडोर निर्माणको सम्बन्धमा सरोकारवालासँग आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने भएको छ । बैठकले आजदेखि जिल्ला प्रशासन कार्यालयले लगाएको निशेषाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसमेत गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै टोखाले वडा नं १ को सामुदायिक भवन, वडा नं ६ को सामुदायिक अध्ययन केन्द्र, वडा नं ९ को पिस बैङ्केट, वडा नं ११ को सामुदायिक भवन, वडा नं ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवनलाई अध्ययन गरी कोरोना सङ्क्रमित राख्ने व्यवस्था मिलाउन अध्ययन गर्ने बताएको छ । यस्तै, टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसार भेन्टिलेटर व्यवस्था गर्न अध्ययन गरी कार्यान्वयनका लागि नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरेको छ ।
राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकवि भौतिक रुपमा हामी माझ नभएपनि उनले राष्ट्रका लागि गरेका योगदानहरु हामीसँगै रहेको बताए । राष्ट्र, राष्ट्रियता, नेपाल, नेपाली र राष्ट्रिय स्वाभिमानको एउटा चेतना जगाउने अगुवा व्यक्तित्वको रुपमा राष्ट्रकविलाई आफुले बुझेको उनले बताए । उनले राष्ट्रका लागि गरेको योगदानलाई सरकारले संस्थागत ढंगले चिरस्थायी बनाउन महत्वपूर्ण निर्णय गर्ने बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकविको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताए । राष्ट्रकविको निधनले नेपाली साहित्यमा मात्रै नभएर नेपाललाई नै अपुरणीय क्षति पुगेको उनले बताए । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले राष्ट्रकविले देखाएको बाटोमा सबैले लाग्नुपर्ने बताए । पूर्वप्रधान सेनापति राजेन्द्र क्षतिले राष्ट्रकविका गीत र रचनाले सबैलाई राष्ट्रियता र राष्ट्रप्रति जागरुक गराएको बताएका छन् । राष्ट्र र राष्ट्रिय स्वाधिनताको भावनाले सबैलाई उच्च सम्मान दिने रचनाहरु राष्ट्रकविले जन्माएको उनले बताए । सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो । राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार राष्ट्रपति घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्टि गरिएको हो । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।