पोखरामा आज रातिदेखि निषेधाज्ञा

काठमाडाै‌ं । कोरोनाको संक्रमण फैलिएकाे कारण पाेखरामा आज रातिदेखि निषेधाज्ञा लागू गरिने भएकाे छ । पोखरा महानगरले आज राति १२ बजदेखि भदाै ८ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागू गर्ने जनाएकाे छ । पोखरामा सोमबार बिहानसम्म २०४ कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म एक सय २७ जना निको भएर घर फर्किसकेका छन् । शनिबार र आइतबार मात्र पोखरामा ४९ जना संक्रमित थपिएका थिए ।  

भरतपुर अस्पतालकाे आकस्मिक बाहेकका सेवा बन्द

चितवन । कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो । कोरोना सङ्क्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल बहिरङ्ग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ । यस्तै सघन उपचार कक्ष र प्रसूति विभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।

सिरहाका सबै स्थानीय तहमा आजदेखि भदाै‌ १५ सम्म लकडाउन

लहान । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताए । यसैबीच कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सिरहा नगरपालिका र गोलबजार नगरपालिकाले जारी गरेको लकडाउनलाई आजदेखि दुई साता थप गरिएको छ । सिरहा नगरपालिकाले आज बिहानदेखि १५ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । प्रजिअ कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आजदेखि भदौ १५ गतेसम्म लकडाउन थप गरिएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिए । यसअघि सो नगरपालिकाले साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्म लगाइएको लकडाउन गए राति १२ बजे सकिएपछि आज बिहानबाट लकडाउनको अवधि भदौ १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको नगरप्रमुख यादवले बताए । त्यसैगरी गोलबजार नगरपालिकाले पनि लकडाउन दुई साताका लागि थप गरेको छ । गोलबजार नगरपालिकाले आज बिहानदेखि भदौ १५ गतेसम्मका लागि लकडाउन थप गरिएको नगरप्रमुख देवनाथ साहले जानकारी दिए । नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरी लकडाउनको समय बढाइएको गरिएको छ । यस्तै कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लहानले आजदेखि भदौ १५ गतेसम्म अत्यावश्यक कामबाहेक सम्पूर्ण कार्य बन्द गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी आजदेखि १५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै काम बन्द गरिएको जनाएको छ ।