आज रातिदेखि दमकमा एक हप्ता बन्दाबन्दी
दमक । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । दूधका पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिईन् । बन्दाबन्दीका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारीस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताईन् । हिजो दमकमा एकैपटक सात जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । योसँगै दमकमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताईन् । यसअघि दमक उद्योग वाणिज्य सङ्घले पनि आज राति १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दमकसहित देशैभरि कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिँदै गएपछि झापा, दमकका व्यवसायीले जोखिम हुन नदिन भन्दै पसल आफैँ बन्द गर्न थालेका छन् । दमकमा समुदायमा कोरोना सङ्क्रमण देखिएसँगै यहाँका व्यवसायीले आफ्ना पसल, व्यवसाय स्वतःस्फूर्त बन्द गर्न थालेका हुन् । दमकको चौक आसपासका भिडभाड हुने स्थानका व्यापार तथा व्यवसाय सङ्क्रमण फैलिन नदिन भन्दै खनाल मार्केट पाँच दिनका लागि स्वतःस्फूर्त बन्द गर्ने निर्णय गरेका हुन् । रासस
पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा
चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको बरालले बताए । उनले भने “कोरोनाको महामारी फैलिएको छ । अब निषेधाज्ञा जारी नगरे हिँडडुल रोक्न सकिएला जस्तो छैन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताए । यस संगै प्रशासनले आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने भएको छ । त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परीक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको वरालले जानकारी दिए ।
सिन्धुपाल्चोकमा भदाै १ गतेदेखि एक साता लकडाउन
सिन्धुपाल्चाेक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र सिन्धुपाल्चोकमा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो। यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन। त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ। लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन्। अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए।