आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती

तेहरान । इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए । मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एक घरमा बिहीबार आगलागी भएको थियो । उक्त घटना निकै भयानक रहे पनि कोही पनि व्यक्ति घाइते भएको वा रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ताले बताएका छन् । सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रुपमा व्याख्या गरेका छन् । तर उक्त घटना हुनुको मुख्य कारण बारे केही बताइएको छैन । इरानी समाचार संस्था इर्नामा प्रकाशित एक अन्तर्वार्तामा इरानी आणविक ऊर्जा संस्थाका प्रवक्ता बेहरोज कमालवन्दीले उक्त दुर्घटनाका कारण कोही व्यक्ति पीडित नभएका तर आर्थिक रुपमा निकै ठूलो क्षति भएको बताए । उनले यस दुर्घटनाका कारण उन्नत सेन्ट्रिफ्युजको विकास र उत्पादनमा केही ढिलाई हुने बताए । नन्ताज इरानको मुख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो । टेलिभिजन फुटेजमा भने आगलागीका कारण सामान्य क्षति भएको देखाएको छ । तर यसअघि सार्वजनिक गरिएका तस्वीरहरुमा भने भवनमा निकै ठूलो क्षति भएको देखिएको छ । तेहरानले गत वर्ष मे महिनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः शुरु गरिने घोषणा गरेको थियो । सन् २०१५ को एक सम्झौता बमोजिम इरानी आणविक कार्यक्रम स्थगित गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अस्वीकार गरेर इरानमाथि नाकाबन्दी गरेपछि इरानले आणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएको थियो । इरानले गत वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः शुरु गरेको थियो । तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ । रासस–एएफपी

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा ८ सय भाडा

डाेल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ । लकडाउनको मौका छोपी जीप व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक सङ्कट भएको अवस्थामा दुनै–सुपानी, सुपानी–दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ । सिंहदरबार गाउँगाउँमा भने पनि धेरैजसो कामका लागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारण बताउँछन् । “दुनै आउन जान गरेर भाडा मात्रै १ हजार ६ सय तिर्नुपर्ने बाध्यता छ, अरु खाना खाजासहित जोडेर ३ हजार खर्च हुन्छ”, त्रिपुरासुन्दरी–१ का भरुन सार्कीले गुनासो गरे । तराईका जिल्लामा १ सय ५० किलोमिटरसम्म यात्रा गर्न मिल्ने पैसा डोल्पामा आजभोलि १४ किमीमा तिर्नुपर्ने बाध्यता रहेको सार्कीले बताए । यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दूरी कायम गर्दै तीनजनासम्म नागरिक बोक्न पाउने व्यवस्था गरेको छ तर यातायात व्यवसायीले प्रशासनको नियमलाई उल्लङ्घन गर्दै छ जनासम्म यात्रु ओसार्दै आएका छन् । सामान्य अवस्थामा जस्तै छ जनासम्म यात्रु बोके पनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रतिव्यक्ति ८ सय लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गरे । लकडाउन हुनुभन्दा अगाडिसम्म छ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति ३ सय ५० कायम गरिए पनि आजभोलि आफूखुशी भाडा उठाउने गरेको उनले बताए । “डोल्पाका जीप व्यवसायीलाई नियम कानून केही नलाग्ने रहेछ, ट्राफिकले नियमन गर्न खोज्दा पनि उल्टै जाइलाग्ने गरेको देखेँ”, उनले भने । मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ । ट्राफिक हैरान डोल्पाका जीप चालकको गलत व्यवहारले सबै हैरान भएका छन् । उनीहरुले नियम विपरीत आफूखुशी जीप सञ्चालन गर्ने र कारवाही गर्न खोज्दा उल्टै जाइलाग्न थालेपछि ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मेहम्मे भएको हो । “डोल्पामा काम गर्न धेरै गाह्रो छ, नियमानुसार डोल्पामा गाडी चलाउनै मिल्दैन, फेरि यहाँ रातो प्लेटले पनि धमाधम मान्छे ओसारी रहेका छन्”, ड्युटीमा खटिएका एक ट्राफिकले गुनासो गरे, “व्यावहारिकरूपमा गाडी चल्न दिइएको छ, तर पनि सुरक्षित भएर सरोकारवालाले कायम गरेको भाडा उठाउनु भनेर सम्झाउँदा पनि उल्टै चालक जाइलाग्ने गर्दछन् ।” गलत गर्ने चालक र गाडीलाई कारवाही गर्न खोज्दा जनप्रतिनिधिलाई फोन गर्न लगाएर दबाब दिने गरेकोे उहाँको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले महँगो गाडी भाडा लिएको विषयमा छलफल गर्ने बताए । कर्मचारीले गर्दा भाडा महँगियो डोल्पामा कर्मचारीका कारण गाडी भाडादर महँगिदै गएको सर्वसाधारणले बताएका छन् । कर्मचारीले रिजर्भ गर्दा गाडीवालाले भनेअनुसारको मूल्य पाउने भएकाले सर्वसाधारण मर्कामा परेको बताइएको छ । सर्वसाधारणले निश्चित भाडामात्रै तिर्न तयार हुने भएकाले गाडीवाला सर्वसाधारणभन्दा कर्मचारी बोक्न तयार हुने नागरिकको गुनासो छ । एउटै कर्मचारीले  चारदेखि–पाँच हजार रूपैयाँसम्म तिरेर रिर्जभ गर्दै आएको यस सडकखण्डमा सञ्चालित जीप व्यवसायी बताउँछन् । प्रशासन र स्थानीय सरकार मौन सर्वसाधारण महँगो भाडाको चरम मारमा परिरहँदासमेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले कुनै चासो देखाएका छैनन् । नियमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय डोल्पाले चासो नदिएपछि यातायात व्यवसायीले पनि मनपरी जीप भाडा असुल्न थालेका हुन् । चर्को भाडादरको मारमा सर्वसाधारण पर्दासमेत सडकले जोडिएका त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र स्थानीय प्रशासनले भाडादर नियन्त्रणका लागि भरपर्दो कदम नचालेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । भाडादरका विषयमा पटकपटक निर्णय गर्ने गरे पनि लामो समय कार्यान्वयन हुन नसकेको उनकाे भनाइ छ ।   रासस

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र वस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ । आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ । रासस