एमसीसीको विरुद्धमा उत्रिए अपाङ्गता भएका युवा
काठमाडाैं । अपाङ्गता भएका युवाहरू एमसीसीकाे विरुद्दमा उत्रिएका छन् । उनीहरुले एमसीसीकाे विराेध गर्नकाे लागि एक समूह निर्माण गरी यसकाे विराेधमा उत्रिएका हुन् । एमसीसी नेपालकाे हितमा नभएकाे भन्दै उनीहरुले एक विज्ञप्ती पनि जारी गरेका छन् । एमसीसी नेपालको हितमा नभएको भन्दै यसलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा आवाज उठाएका छन् । युवाहरुले विभिन्न औपचारित तथा अनाैपचारिक कार्यक्रम गरेर एमसीसीकाे विराेध पनि गरिरहेका छन् । उक्त अभियानका संयोजक तथा सामाजिक अभियन्ता अर्जुन रावलले एमसीसी नेपालको हितमा नभएको भन्दै भेलामा यसका केही राष्ट्रघाती बुँदाहरू संशोधन नभएसम्म पारित गर्न नहुने बताएका छन् । उनीहरुले एमसीसीमा उल्लेख भएका केही बुँदाहरु अस्पष्ट भएकोले त्यसको स्पष्टता र संशोधन नहुँदासम्म एमसीसी पास गर्नु नेपालको लागि उचित नहुने जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आफ्नो नाममा टुक्रा जमीन छैन, कसरी परिवार पाल्ने ?
जाजरकोट । नदीको किनारमा सानो खरले छाएको घर । घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म कुशे गाउँपालिका-५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो । ‘जेठो छोरा भर्खरै जन्मिएको थियो, माछा मार्ने काम बन्द गरी फलामबाट भाँडा बनाउनतर्फ लागेँ’, गणेशले भने, ‘माछा मारेर परिवार पाल्न नसक्ने अवस्था आएपछि फलामको भाँडा बनाएर परिवार पाल्ने विकल्पको खोजी गरेको हुँ । अहिले मेरो घरमा छ छोराछोरीसहित आठ जना छौँ ।’ पेशा बदले पनि गणेशको समस्या अझै हल भएको छैन । उनको एकतलाको खरले छाएको कच्ची घर छ तर जुन घर निर्माण गरी गणेश बसिरहेको छ, सो घर निर्माण गरेको जग्गासमेत उनको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुन् । वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमती फूलमायाको दिन बित्ने गर्छ । छिमेकीको घरमा छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । दुब्ला, पातला देखिने स-साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । ‘बिहान खाए बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ’, फूलमायाले भने, ‘गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधा तलो कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।’ फूलमायाले छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाए । ‘फलामको भाँडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ’, गणेशले भने । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य भएको अर्का कर्णबहादुर बादीले पीडा पोख्नुभयो । ‘मादल बनाउन काठ चाहिन्छ रु तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैनन् अनि हाम्रो पेशा कसरी चल्छ ?’, कर्णले भने । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाइ छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाइ छ । उनीजस्तै कुशे गाउँपालिकामा मात्र ३० घरभन्दा बढी बादी समुदायका मानिसको बसोबास छ । कसैको पनि आफ्नो जमीन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशेमा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमीन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्घर्षमा रहेको बताएका छन् । केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएका यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छ । उनीहरु अब आफैँ आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताएका छन् । उनीहरुको इच्छा, स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरुको भनाइ छ । स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् भन्ने बादी समुदायको माग छ । जिल्लाका अन्य ठाउँमा समेत बादी समुदायको बसोबास छ । नलगाड नगरपालिका-७ दल्लीमा रहेका बादी समुदायलाई स्थानीय सरकारले जीविकोपार्जनका लागि आधार तयार गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए । ‘अब सबै बदलिनुपर्छ, सधैँ एउटै काम गरेर हुँदैन’, नगरप्रमुख रावलले भने, ‘सीपमूलक कामका लागि बजेट दिएर हामीले बादी समुदायका साथीलाई दुई वर्षदेखि सहयोग गर्दै आएका छौँ, अन्य पनि बजेट दिन तयार छौँ, तर काम हुनुपर्यो ।’ रासस
टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रूपैयाँ प्रोत्साहन भत्ता दिने
काठमाडाैं । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रूपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिए । टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ । यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् । रासस