लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी
सुुर्खेत । लकडाउन खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले गर्दा तराई मधेशबाट यहाँ आएर भाडामा बस्दै आएका सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् । दाह्री, कपाल काटेर गुजारा चलाउँदै आएका व्यवसायीले चार महिनादेखि व्यवसाय ठप्प हुँदा आफूहरु मर्कामा परेको बताएका छन् । अन्य व्यवसायजस्तै सुरक्षाका विधिहरु अपनाएर सैलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । नेपाल नाई सङ्घले आफ्नो व्यवसाय क्षेत्रको समस्याबारे शुक्रबार प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइसकेको छ । प्रशासनले व्यवसाय सञ्चालनमा सहजीकरण गरिदिनुपर्ने नाई सङ्घको माग छ । नाई व्यवसायी विनोद ठाकुरले लामो लकडाउनले बिहान–बेलुकाको छाक टार्न समस्या भएको गुनासो गरे । “हाम्रो व्यवसाय चार महिनादेखि पूर्णरूपले बन्द छ, पसलको भाडा, घरभाडा तिर्न र बिहान–बेलुका के खाने भन्ने समस्या भइसक्यो”, उनले भने, “सबै व्यवसायी परिवारसहित तराई–मधेसबाट आएर यहाँ घर भाडा लिएरै बसेका छौँ, लकडाउनमा अन्य व्यवसाय खुले पनि सैलुन व्यवसाय सरकारले बन्द गर्दा हामी ठूलो मर्कामा पर्यौं।” अर्का व्यवसायी सुवीर अन्सारीले आफूहरुको एक मात्र पेशा बन्द हुँदा जीविकोपार्जनमा कठिनाइ भएको बताए । “पसल र घरको भाडा तिर्नै समस्या भइसक्यो, घरबेटीले बारम्बार भाडा माग्न थाले, अब सापटी माग्न ठाउँसमेत रहेन”, अन्सारीले भने । नेपाल नाई सङ्घ सुर्खेतका अनुसार सुर्खेत उपत्यकामा झण्डै ५० सैलुनहरुका २ सय युवाहरुको रोजगारी गुमेको छ । रासस
सलहबाट मकै बालीमा पाँच करोड क्षति
अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन । वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिए । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब रु पाँच करोड नोक्सान भएको जनाइएको छ । । शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताए । सन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए । रासस
जापानमा व्यापक बर्षा र बाढी, १३ भन्दा बढी व्यक्ति बेपत्ता
टोकियो । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका छन् । कतिपय व्यक्तिहरु घर डुवानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरुले जनाएका छन् । रातभरीको बर्षाका कारण जापानको दक्षिणी क्षेत्रका झण्डै ७५ हजार मानिस बसोबास गर्दै आएको कुमामोटो र कागोशिमा डुबानमा परेर पोखरी जस्तो भएका छन् । डुवानमा परेकाहरुलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । माटोसहितको बाढीले रुखलाई जरैदेखि उखेलेर बगाएका दृष्यहरूले स्थानीयहरू त्रसित बनेका प्रत्यक्षदर्शीहरुले बताए । स्थानीय एनएचके टेलिभिजनले कम्तीमा १३ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ । अधिकारीहरुले खोजी तथा उद्धार कार्य जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण एकिन गर्न नसकिएको बताएका छन् । प्रधानमन्त्री सिन्जे आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विशेष टोली खटाइएको बताए । रासस/एपी