शिशुलाई जङ्गलमा फाल्ने युवायुवती पक्राउ

गलकाेट । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए । उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए । बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।  रासस

जर्मनीको सहयोग निरन्तर गराउन पहल

काठमाडाैं । नेपालको पुरानो मित्र राष्ट्र सङ्घीय गणतन्त्र जर्मनीले दिँदै आएको द्विपक्षीय सहयोग आगामी सन् २०२४ बाट क्रमशः घटाउँदै लैजाने प्रक्रिया शुरु गरेपछि त्यसो नगर्न जर्मनस्थित विभिन्न गैरसरकारी संस्था, निजी क्षेत्र र व्यक्तिगतरूपमा पहल शुरु गरिएको छ । नेपालको आर्थिक विकास, सुशासन र गरिबी निवारणमा प्रत्यक्षरूपमा छ दशकभन्दा अघिदेखि सहयोग गर्दै आएको जर्मनीको आर्थिक विकास मन्त्रालय (बिएमजेड) मा छलफल शुरु भएको छ । जर्मनीको बिएमजेडको संसदीय समितिमा नेपाललगायत विश्वका अन्य २४ देशलाई सन् २०३० सम्मका लागि द्विपक्षीय सहयोगबाट हात झिक्नका लागि प्रक्रिया अगाडि बढाइएपछि यो प्रक्रियाले निर्णयको रूपमा आएमा नेपालको विकासको एक महत्वपूर्ण दातृ मुलुक जर्मनीसँगको छ दशकदेखि पाउँदै आएको सहयोगको ढोका बन्द हुनेछ । सन् २०२४ देखि नै नयाँ सहयोग रहने छैन र जारी परियोजनाहरुले मात्रै पूरा नहुञ्जेलका लागि निरन्तरता पाउनेछन् । जर्मनीको सहयोग बहुपक्षीय अर्थात् युरोपियन युनियनको तर्फबाट हुने एकमुष्ट सहयोगमा मात्र सीमित रहनेछ । द्विपक्षीयरूपमा मन्त्रालयले वार्षिकरूपमा २ करोड ५० लाख युरो सहयोग गर्दै आएको छ । जर्मनीको सहयोग कटौती हुन नदिन जर्मन–नेपालमैत्री सङ्घ र त्यहाँको लङ याङ नामक गैरसरकारी संस्थाको पहलमा बिएमजेडमा अपिलपत्र र खुलापत्र बुझाउने काम भएको सङ्घका अध्यक्ष रामप्रताप थापाले जानकारी दिए । अपिलपत्रमा नेपालप्रति शुभेच्छा राख्ने विभिन्न व्यक्ति र संस्थाहरुको तर्फबाट १ हजार ५ सय जनाले हस्ताक्षर गरेका छन् भने खुलापत्रमा नेपालमा सहयोग पु¥याउँदै आएका जर्मनीका ५० गैरसरकारी संस्थाहरुले सामूहिकरूपमा नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिन अनुरोध गरिएको थापाले बताए । यस अभियानलाई सहयोग गर्न गत मे २३ मा नेपाल जर्मन एकेडेमिक एशोसिएशन (निगास) ले आयोजना गरेको गैसस र निजी क्षेत्रका प्रतिनिधिहरुबीचको स्काइप मिटिङ गरी मन्त्रालयलाई सहयोग कटौती गर्ने निर्णयमा नपुग्न आग्रह गरिएको थियो । यसबारेमा नेपाल सरकारलाई औपचारिकरूपमा कुनै जानकारी गराइसकिएको नभए पनि अनौपचारिकरूपमा अवगत गराइएपछि सरकारले आवश्यक गृहकार्य थालनी गरेको छ । थापाका अनुसार नेपाल लामो समयको राजनीतिक सङ्क्रमणपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चरणमा रहेको, सन् २०१५ को भूकम्पपछि पुनःनिर्माणमा अग्रसर रहेको र भर्खरै कोभिड–१९ को समस्याबाट आफूलाई विस्तारै अगाडि बढाउन लागेको अवस्थामा यसरी लामो समयदेखि सहयोग गर्दै आएको मित्र राष्ट्रबाट सहयोग कटौती हुने स्थिति आउन नदिन आग्रह गरिएको छ । जर्मनीको सहयोग नेपालका लागि आर्थिकरूपमा मात्र नभएर सीप र ज्ञान अभिवृद्धि तथा नयाँ प्रविधिको विकासका हिसाबले पनि महत्वपूर्ण रहेको लङ याङका प्रतिनिधि जेन्नी लडविगले बताए । उनले नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ वर्षको अवधिमा नेपालको चौतर्फी विकासमा जर्मनीबाट उल्लेख्य सहयोग प्राप्त भएको जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधार निर्माण, ऊर्जा, शिक्षा, स्वास्थ्य र मानवाधिकार संरक्षणमा जर्मनीको सहयोग महत्वपूर्ण रहेको छ ।   रासस

अमेरिकामा दैनिक एक लाख कोरोना संक्रमित थपिने चेतावनी

काठमाडाैं । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा एन्थोनी फाउचीले बताएका छन् । विशेषज्ञसमेत रहेका फाउचीले आगामी दिनमा अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् । पछिल्लो समय अमेरिकामा प्रत्येक दिन करिब ४० हजार जनामा कोरोना पुष्टि हुँदै आएको छ । ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन’ फाउचीले भने । मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब अवस्था आउने फाउचीको भनाइ छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । वल्डोमिटरका तथ्यांक अनुसार अमेरिकामा हालसम्म अमेरिकामा २७ लाख २७ हजार ८ सय ६० जना कोरोना संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार पुगिसकेको छ ।  त्यस्तै ११ लाख ४३ हजारभन्दा बढी उपचार पछि निको भएका छन् । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजारभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।